Redirecting...

एलपी ग्याँस पनि पाइप लाइनमार्फत् ल्याउने प्रस्ताव - ehimalayatimes.com

एलपी ग्याँस पनि पाइप लाइनमार्फत् ल्याउने प्रस्ताव - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपालले भारतसँग क्रस बोर्डर पाइप लाइनमार्फत् खाना पकाउने ग्याँस (एलपिजी) आपूर्ति र काठमाडौंको सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणमा सहयोगका लागि भारतसँग प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा डिसेम्बर ८ मा सम्पन्न नेपाल-भारत पेट्रोलियम तथा ग्याँस संयुक्त कार्य समूह (जोइन्ट वर्किङ ग्रुप)को पाँचौँ बैठकमा उक्त प्रस्ताव गरिएको बैठकको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिनुभयो । नेपालले सन् २०१९ देखि पाइप लाइनमार्फत् डिजेल आयात सुरु गरेकोमा पेट्रोल र मट्टितेल पनि सोही प्रणालीबाट ल्याउने तयारी गरिएको छ । जसमा एलपिजी ग्याँस पनि समेट्न नेपालले प्रस्ताव गरेको हो । एक वर्षअघि नै पाइप लाइनमार्फत् हवाई इन्धन ल्याउने विषयमा दुई देशबीच सहमति भइसकेको थियो । नेपालले सिनामंगलस्थित हवाई इन्धन डिपो सार्न पनि भारतको सहयोग मागेको छ । नेपाल आयल निगमले उक्त डिपो गुह्येश्वरीमा सार्ने योजनासहित नयाँ हवाई इन्धन डिपो निर्माणको प्रक्रिया अघि बढाएको छ । पाइप लाइनमार्फत् हवाई इन्धन आपूर्तिका लागि अमलेखगञ्जदेखि लोथरसम्मको नयाँ पाइप लाइन निर्माणको काम पनि सुरु भइसकेको छ । सरकारले चितवनको लोथरमा हवाई इन्धन भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । गत वर्षको सहमतिअनुसार विस्तारित अमलेखगञ्ज-लोथर पाइप लाइनमार्फत् नै हवाई इन्धन आयात गरिनेछ । हाल सिलीगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम भइरहेको छ । नेपाल आयल निगमका अनुसार सिलिगुढी–चारआली पाइप लाइन ५० किलोमिटर लामो हुनेछ, जसमध्ये ३५ किलोमिटर नेपालतर्फ र १५ किलोमिटर भारततर्फ पर्नेछ । त्यस्तै, ६२ किलोमिटर लामो हुने अमलेखगञ्ज–लोथर पाइप लाइन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।