जेन–जी आन्दोलन र नेपालको भू–राजनीतिक अवस्था - www.sutranews.com
गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन भयो । हरेक आन्दोलनमा घुसपैठको शंका गरिएजस्तै यो आन्दोलनमा पनि विदेशी शक्तिको भूमिका रहेको दाबी गर्नेको कमी देखिएन । तर, अहिले छिमेकी देशहरुमा पनि जेन–जी आन्दोलन बिस्तारै बिस्तारै बढ्न थालेकाले उनीहरुको आशंका क्रमशः गलत सावित हुँदै गएको छ । शासन सत्तामा लिप्त रहेका जडसूत्रवादीहरूदेखि जब नयाँ पुस्ता ‘वाक्क–दिक्क’ हुन्छ, तब विद्रोह सुरु हुन्छ । यही फर्मूलाले काम गरेको हो– जेन–जी पुस्ताको आन्दोलन । दक्षिणी पूर्वी एसियाली मुलुकको राजनीति र सत्तामा वर्षाैंदेखि एउटै पुस्ताले हालिमुहाली गरिरह्यो । देशमा भ्रष्टाचार र अराजकता बढेको महसुस गरेका युवा पुस्ताले त्यो समृद्धिहीन राजनीतिक निरन्तरतालाई सहेन र विद्रोह गर्यो। केही महिनाअगाडि बङ्गलादेशमा भएको विद्यार्थी विद्रोह पनि जेनजी विद्रोह नै थियो, जसले शेख हसिनाको राज्यसत्तालाई ढाल्यो । आन्दोलनबाट सत्ताच्यूत भएकी हसिना भारतीय राजनीतिक शरणमा छिन् । भारतसँग स्वतन्त्र भएपछि ताजुद्दिन अहमद हुँदै अहिलेका महमद युसुफसम्म आउँदा बङ्गलादेशले अनेकौं राजनीतिक उतारचढाव भोग्यो र त्यहाँ अझै राजनीतिक अस्थिरता छ । नेपालजस्तै बङ्गलादेश पनि सार्वभौमसत्ता सम्पन्न देश हो, तर राजनीति गर्ने व्यक्ति सबै ‘गान्धी’ नहुँदा रहेछन् । सत्ताको मात र सम्पत्तिको स्वादले नेतालाई अन्धो बनाएपछि देश बर्बाद हुँदोरहेछ । जेन–जी आन्दोलनको तरङ्ग सबै विकासोन्मुख देशहरूमा सर्दै जाने क्रममा छ । नेपाल एक स्वतन्त्र र सम्प्रभुता सम्पन्न देश हो । नेपालको विदेश नीतिको आधार शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूमा आधारित छन् । चीन र भारत दुवै नेपालका छिमेकी देशहरू हुन्, जससँग ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू प्राचीन कालदेखि रहेका छन्। नेपालले सद्भावपूर्ण सहअस्तित्व, पारस्परिक मूल्यांकन र आपसी फाइदाका सिद्धान्तहरूको आधारमा दुवै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने प्रयास गर्दै आएको छ । नेपालको विदेश नीतिले कुनै पनि देशविरुद्ध भेदभाव नगरी समानताको सिद्धान्तलाई प्राथमिकता दिन्छ। वास्तवमा, नेपालले आफ्नो भू–राजनीतिक स्थितिलाई एक अवसरको रूपमा प्रयोग गर्दै छिमेकी देशहरूसँग सन्तुलित र सहअस्तित्व स्वीकार गर्दै समभाव राख्नुपर्ने हुन्छ । यो दृष्टिकोणले नेपालको राष्ट्रियहित, विकास, आवश्यकताहरू र क्षेत्रीय शान्ति तथा स्थिरतालाई नेपालले ध्यानमा राख्नु जरुरी छ । त्यसैले पनि, ‘चीन नजिक र भारत टाढा’ भन्ने द्विध्रुवीय सोचभन्दा नेपालले आफ्नो स्वतन्त्र विदेश नीति, राष्ट्रिय हित र क्षेत्रीय सहयोगको दृष्टिकोणलाई प्राथमिकता दिनु आवश्यक छ। नेपालको संविधानले औपचारिक रूपमा असंलग्नताको नीति अपनाउँछ । आधारभूत सिद्धान्त दुवै छिमेकीहरूसँग ‘सन्तुलित सम्बन्ध’ कायम राख्नु हो र यो मुख्य नीति घरेलु राजनीतिक परिवर्तनहरूसँग ठूलो परिवर्तन हुने सम्भावना छैन । सरकारी गठबन्धनहरूमा बारम्बार परिवर्तनहरूले उतारचढावपूर्ण निष्ठाहरूको धारणा सिर्जना गर्न सक्छ । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई असर गर्न सक्छ । यो आन्तरिक अस्थिरताले बाह्य शक्तिहरूलाई नेपालको आन्तरिक मामिलाको ‘सूक्ष्म–व्यवस्थापन’ भनेर वर्णन गरिएको विषयमा संलग्न हुन मौका दिन सक्छ । भारत र चीनबिचको नेपालको स्थितिले दोहोरो वास्तविकता प्रस्तुत गर्दछ । यसको भौगोलिक स्थानले जटिल र कहिलेकाहीँ चुनौतीपूर्ण राजनीतिक वातावरण सिर्जना गरे पनि यदि कुशलतापूर्वक व्यवस्थापन गरियो भने यसले आर्थिक लाभ र रणनीतिक महत्त्वको लागि महत्त्वपूर्ण अवसरहरू प्रदान गर्दछ । नेपालको राजनीतिमा विदेशी हस्तक्षेपको इतिहास धेरै पुरानो र जटिल छ । नेपालले आफ्नो इतिहासभरि विभिन्न विदेशी शक्तिहरूको हस्तक्षेप र प्रभाव अनुभव गरेको पनि छ । नेपाल प्राचीन कालदेखि नै दक्षिण एसियाको महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । लिच्छबी र मल्लकालमा नेपाली राज्यहरूले उत्तर भारत र तिब्बतसँग राजनैतिक र सांस्कृतिक सम्बन्ध कायम राखेका थिए । ब्रिटिश इन्डियाको प्रभाव सन् १८१४–१८१६ को अँग्रेज–नेपाल युद्धपछि भएको सुगौली सन्धिबाट नेपालले आफ्नो भू–भागको धेरै भाग गुमाउनु पर्यो । यसबाट पनि नेपालमाथि ब्रिटिश इन्डियाले नेपालमा आफ्नो प्रभाव बढाउन थाल्यो र नेपाली सेनामा गोर्खा भर्तीको प्रथा सुरू गर्यो । यसबाट नेपालको वैदेशिक नीतिमा परिवर्तन ल्यायो । राणा शासनकालमा ब्रिटिश इन्डियासँगको नजिकको सम्बन्धले नेपालको विदेश नीतिलाई प्रभावित गर्यो ।राणाहरूले आफुलाई सत्तामा टिकाइराख्न ब्रिटिशसँग मैत्री सम्बन्ध राखे। २०६२/०६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियामा विभिन्न अन्तर्राष्ट्रिय संस्था र राष्ट्रहरूको भूमिका र हस्तक्षेप रह्यो । भारत, चीन र संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अहम् भूमिका खेलेका थिए ।