छिपहरमाई गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा - ehimalayatimes.com
काठमाडाैं । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार अध्यक्ष मनोज कुमारसँगै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल सञ्जय पटेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ। यसैगरी, विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि, वीरगञ्ज (पर्सा) तथा उक्त कम्पनीका सञ्चालक कमल कुमार उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। आयोगका अनुसार गाउँपालिकाका कर्मचारी र निर्माण व्यवसायीबीच मिलेमतो गरी बोलपत्र आह्वानसम्बन्धी सूचना सौर्य दैनिक पत्रिकामा प्रकाशन गरिएको भनी देखाइए पनि वास्तविक रूपमा सूचना प्रकाशन नगरी अनियमितता गरिएको पाइएको छ। सोही आधारमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।