अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण - sahityapost.com
काठमाडौं । कवि अल्पज्ञानीद्वारा रचित कविता सङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ को लोकार्पण सम्पन्न भएको छ। समारोह राजधानीको मोडल कलेज सभाहलमा साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा डा. अशोक थापा र डा. गीता त्रिपाठीले कृतिको समीक्षात्मक मूल्याङ्कन गर्दै, कविका रचनाहरूमा समाज, समय र जीवनका सवालप्रति देखिएको संवेदनशील दृष्टिकोणको प्रशंसा गर्नुभयाे । डा. लम्सालले कवि अल्पज्ञानीका कवितामा प्रश्नहरूको प्रबलता र रहस्यको गहिरो तह पाइने बताउँदै कृतिलाई समसामयिक नेपाली कविता–धारामा विशेष योगदान दिन सक्ने उल्लेख गर्नुभयाे । भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. राजेन्द्र चापागाईंले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । कार्यक्रममा कविहरू सञ्जिव पौडेल, अमृत क्षेत्री र लक्ष्मीदेवी गौडेलले सङ्ग्रहभित्रका कविता बाचन गर्नुभएकाे थियाे । कवि अल्पज्ञानीले आफ्नो रचनात्मक यात्राबारे अनुभव सुनाउँदै, पाठक, समीक्षक, र स्रष्टाप्रति गहिरो आभार व्यक्त गर्नुभएकाे थियाे। उक्त कविता सङ्ग्रहलाई पेज टर्नर प्रालिले प्रकाशन गरेको हो, र यसको बजार मूल्य तीन सय ५० रुपैयाँ रहेको छ। कृति नेपाली कवितामा नवीन सोच, गहिरो अनुभूति, र समसामयिक सन्दर्भको उजागर गर्ने प्रयासका रूपमा प्रकाशमा आएको बताइएको छ। The post अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण appeared first on साहित्यपोस्ट.