Redirecting...

पार्टीभित्र रहर गर्ने सबैका लागि प्रतिस्पर्धा खुल्ला छ, तर चुनौती सामना गर्ने बलियो नेतृत्व चाहिएको छ : शंकर पोखरेल  - janatatimes.com

पार्टीभित्र रहर गर्ने सबैका लागि प्रतिस्पर्धा खुल्ला छ, तर चुनौती सामना गर्ने बलियो नेतृत्व चाहिएको छ : शंकर पोखरेल  - janatatimes.com
Source: jant

काठमाडौँ, मंसिर १८ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई विद्यमान चुनौतीहरू सामना गर्न सक्षम, बलियो, अनुभवी र सबैलाई स्वीकार्य नेतृत्व अहिले अत्यावश्यक रहेको बताउनुभएको छ। एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले वर्तमान परिस्थितिले पार्टी र राष्ट्रलाई नयाँ ढङ्गले परीक्षामा पारेको उल्लेख गर्नुभयो। अहिलेको अवस्थामा नेतृत्वमा प्रतिस्पर्धाभन्दा पनि चुनौती पार गर्ने क्षमतायुक्त संयमित नेतृत्व महत्त्वपूर्ण रहने पोखरेलले बताउनुभयो। ‘अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउन चाहने हामीहरू फेरि प्रतिस्पर्धा गरौँला, तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ’, उहाँले भन्नुभयो । महासचिव पोखरेलले पार्टीभित्र रहर गर्ने सबैका लागि प्रतिस्पर्धा खुल्ला रहेको स्पष्ट गर्नुभयो। उहाँले समस्या कार्यकर्ता तहमा नभई नेतृत्व तथा माथिल्लो संरचनामा बढी देखिने भन्दै सङ्कटको क्षणमा कार्यकर्ताहरूले नै पार्टीलाई उकास्ने भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले कार्यकर्ताहरू नै पार्टीको वास्तविक रक्षा शक्ति भएको धारणा राख्नुभयो। ‘सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ, तर जति तल्लो तहतिर जाँदा त्यो सङ्कट समाधानतिर अघि बढ्छ’, उहाँले भन्नुभयो । एमालेले बनाएको नीति अहिलेका चुनौतीसँग जुध्न पर्याप्त रूपमा प्रभावकारी र स्पष्ट रहेको महासचिव पोखरेलको दाबी छ। कार्यक्रममा उपत्यका प्रदेश कमिटीका इञ्चार्ज सुजिता शाक्यले नेतृत्वलाई अझ बलियो बनाएर महाधिवेशनतर्फ उन्मुख हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। कमिटीका अध्यक्ष प्रेम पराजुलीले हुने महाधिवेशनलाई सफल बनाउन सबै तहका संरचनाहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।