'जेन जी आन्दोलन आफैमा एक चुनावी मुद्दा': भदौका आन्दोलनले उठाएका विषय के चुनावी मुद्दा बन्न सकेका छन्? - www.bbc.com
भदौको जेन जी आन्दोलनका कारण करिब २ वर्षअगावै हुन लागेको फागुन २१ को चुनावले उम्मेदवारहरूलाई अब "मसिनो निगरानीमा राख्ने" एक जेन जी अभियन्ताले बताएकी छन्। "जेन जी आन्दोलनको मुख्य मुद्दा सुशासन, भ्रस्टाचारको विरोध र नागरिक स्वतन्त्रताको विषय हो। यतिखेर दलहरूले यी मुद्दा कतै घोषणापत्रमा त कतै बोलेर उठाइ नै रहेका पाइन्छन्," अभियानकर्मी रक्षा बम भन्छिन्। "काम गर्ने बेला के हुन्छ भनेर हेर्न त बाँकी छ। तर अब बनेको परिस्थितिमा उनीहरू निर्वाचित बनेपछि पनि मसिनो निगरानीमा हुने छन्। त्यो उनीहरूले पनि बुझेका छन्।"कतिपय विज्ञहरूले भने भदौका ती आन्दोलनका मुद्दा दलहरूले समेट्न खोजे तापनि त्यसमा नयाँपन र प्रस्टताको अभाव देखिएको बताउँछन्। चुनावअघि नै 'सुशासन मार्गचित्र' ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश'उन्माद, उपद्रव, महाविनाश': के केपी शर्मा ओलीले जेनजी आन्दोलन 'अस्वीकार' गरेका हुन्? भ्रष्टाचारसम्बन्धी अनुसन्धानकर्ता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे कतिपय कुरा मुद्दा नै बन्न नसकिरहेको त कतिपय पक्षमा विगतमाझैँ भन्नका लागि मात्र भन्दै आइने गरेको प्रवृत्ति देखिएको टिप्पणी गर्छन्। दलहरूका बुझाइजेन जी आन्दोलनको झन्डै तीन महिनामा विभिन्न जेन जी समूहरूका प्रतिनिधि एवं सरकारबीच भ्रष्टाचार र सुशासनका क्षेत्रसहितमा गर्न चाहेको भनिएको एक सम्झौतामा हस्ताक्षर भएको थियो।तर त्यसलाई आन्दोलनका बेला सत्तामा रहेको एमालेले त्यसबारे बारम्बार मान्यता दिन नसकिने भन्दै विरोध गरेको थियो"नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो घोषणापत्रमा बारम्बार जेन जी आन्दोलनको कुरा गरेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको अपनत्व नै लिन्छु भनेको छ। नेपाली कांग्रेसले आन्दोलनकै माग सुधार हो भनेर गरेर पनि देखाएको छ," रक्षा बम भन्छिन्। AFP via Getty Images त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरेले दलहरूको पुस्तान्तरण हुनुपर्ने मागमा कांग्रेसले एक तहमा काम गरे तापनि "अरू दलले त्यसमा आफू अनुकूलका व्याख्या गर्दै" त्यसतर्फ अग्रसर हुन नखोजेको देखिएको बताउँछन्।"भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरामा वर्षौँदेखि भन्दै आइएका आयोग बनाउने भन्नेजस्ता कुरा छन्। त्यो भनेको शासन प्रणालीमा सुधार र सेवा प्रवाहको गुणस्तर बढाउने भन्ने बुझाइको कमी देखिन्छ र त्यसका उपायबारे बोलिएको छैन," घिमिरे भन्छन्।एउटा मुख्य दल एमालेमा अझै जेन जी आन्दोलनलाई स्वीकार गर्ने विषयमै व्यापक मतभेद पाइन्छ।एमाले अध्यक्ष ओलीले भने आफ्नो ११औँ महाधिवेशनमा बोल्ने क्रममा ती प्रदर्शनलाई "उन्माद, उपद्रव, महाविनाश" जस्ता शब्दावली प्रयोग गरेका थिए। जेनजी आन्दोलनको जड भ्रष्टाचार र सुशासन, तर त्यसबारे उच्चस्तरीय आयोग किन बन्न सकेन?राजनीतिमा जेन जी सहभागिताका लागि उमेरहद कति तगारो छ 'कडा निगरानी'जेन जी अभियानकर्मी रक्षा बमले आन्दोलनको छाया खासगरी नयाँ र युवा उम्मेदवार घरदैलोमा जाँदा देखिएको बताउँछिन्।"तपाईँले पुरानोजस्तो गर्न पाउनुहुन्न। तपाईँलाई छुट छैन भन्ने कुरा जनताहरूले भनिरहेका छन्, काठमाण्डूबाहिर जिल्ला जिल्लामै त्यस्तो लहर देखिन्छ," उनी भन्छिन्।जेन जी आन्दोलनका बेला 'नेपो बेबी' अथवा 'नेपटिजम बेबी' भनेका प्रसिद्ध व्यक्तिका छोराछोरीबारे कुरा उठाइएका थिए जो सोही कारण आफैँ सफल र प्रसिद्ध भए।ख्यातिप्राप्त व्यक्तिका सन्तानले क्षमताबाट मात्रै नभई आमाबुवाको नामबाट फाइदा लिई सफलता हासिल गरेको भन्ने विषय जेन जी आन्दोलनमा खुबै चलेको थियो।रक्षा बम 'नेपो बेबी'लाई मुद्दा भन्दा पनि 'ट्रेन्ड' भन्न रुचाउँछिन्।उनी भन्छिन्: "जुन लहरले त्यसबेला नेताहरूका छोराछोरीलाई 'एक्सपोज' गरेको थियो। हामीले तिरेको करको दुरुपयोग भइरहेको छ, शक्तिको दुरुपयोग भइरहेको छ भन्ने देखाएको थियो। त्यो सुशासनकै मुद्दा हो।"त्रिभुवन विश्वविद्यालयका दीपेश घिमिरे भने "राज्य दोहनको नियन्त्रण र त्यसबाट बढेको असमानता"को उक्त विषय अझै मुद्दा नै बन्न नसकेको बताउँछन्।"त्यसैगरी स्वदेशमै रोजगारी सिर्जनाको मुद्दाका विषयमा त्यसका संरचनागत अवरोध हटाउने, निजी क्षेत्रलाई अग्रसर गराउनेजस्ता जडमा पुगेर मुद्दा नै बन्न सकेका छैनन्।"जेनजी अभियन्ता बमका विचारमा चाहिँ हालको परिस्थितिमा निर्वाचित हुनेहरूसँग जेन जी आन्दोलनका मुद्दा छुटाउने विकल्प हुनेछैन।"त्यसरी ७६ जनाको ज्यान गयो अब हामी केही गर्छौँ भनेर भोट मागेपछि त्यसबाट उम्किन केही गरी मिल्दैन," बम भन्छिन्।"जनताको छोराछोरीको रगतमा भोट मागेर मात्र हुँदैन, अब गरेर पनि देखाउन सक्नुपर्यो।" भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका नेपाली नवयुवाहरू तीन महिनापछि के सोच्दै छन् बर्सेनि ४० अर्बका परियोजना स्वीकृत गराउने एनजीओ आइएनजीओमाथि जेन जी आन्दोलनपछि किन उठ्यो प्रश्न चुनावी मैदानमा परस्पर मुद्दा एकजना अर्का विज्ञले जेन जी आन्दोलनको भावनालाई स्वीकार गरेर त्यसलाई "पूर्णतः क्रान्ति मान्दै" अघि बढ्ने नयाँ उदाएका दल र रूपान्तरित भएको मान्ने नेपाली कांग्रेससहितका दल एकातर्फ रहेको र अर्कोतर्फ उक्त आन्दोलनको लेखाजोखा कुरिरहेको बताउँछन्।त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभागका प्रमुख पीताम्बर भण्डारीले आन्दोलन नस्वीकार्ने पक्षले त्यसमा "क्रान्ति मात्र नभईकन विध्वंश पनि थियो भनेर न्यायिक निरूपण कुरिरहेको" बताउँदै चुनावमा ती पक्षलाई दुवै पक्षले उठाइरहेको ठान्छन्।"सुरुमा युवाहरूको आन्दोलन भनेर अनुमति लिएका पक्षहरूले चुनावी माहोलमा त्यसबेलाका मुद्दामा खरो भएर उत्रिएको पाइँदैन। हामी आयौँ भने विगतका सरकारका गलत कदम स्वीकार्छौँ भन्नेबाहेक त्यसमा नयाँपन भेटिँदैन," भण्डारी भन्छन्।"रचनात्मक योजना उनीहरूका निर्वाचनलक्षित कार्यक्रममा देखिएको छैन। यसले आउने मत तत्काललाई केही बढी देखिए पनि आउने परिणामहरू परम्परागत रूपमै समस्या समाधान गर्नका लागि प्रतिबद्ध र परिपक्व नबनाउने जोखिम हुन्छ।"अभियानकर्मी रक्षा बमले यो चुनाव जेन जी अभियानकै मुद्दाका कारण दुई कित्तामा विभाजित भएको बताउँछिन्।"एउटाले देश जलाउनेहरूलाई होइन, बनाउनेहरूलाई भोट देऊ भनिरहेका छन् भने अर्कोले हत्याराहरूलाई भोट नदेऊ हामीलाई देऊ भनिरहेका छन्। यो पूरै राजनीतिक मुद्दा बनिसकेको छ," बम भन्छिन्।"जेन जी आन्दोलनका मुद्दाहरू एउटा पक्ष छन्। जेन जी आन्दोलन आफैमा समेत एउटा मुद्दा बनिसकेको छ।"उनले ठूलासाना सबै नेताहरूले यसपटक विगतका चुनावमा भन्दा भिन्न देखिने गरी मतदाताबाट चर्का र उत्तरदायी बनाउने खालका प्रश्नको सामना गरिरहेको बताउँछिन्।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भण्डारीले प्रस्ट दृष्टिकोणका अभावले गर्दा चुनावमा "आशा र अनिश्चयको मत"मार्फत् बन्ने संसदको बनोटले खास समस्या समाधान गर्न नसके "अझ छिटो निराशा फैलाउने जोखिम हुने" बताउँछन्।"राजनीतिलाई सञ्चालन गर्ने शासकीय र राजनीतिक विधि एवं पद्धतीका बारेमा नयाँ भनिएका दलहरू झनै मौन छन्। पहिला चुनाव जितौँ अनि गरौँला भनेको पनि सुन्न पाइन्छ," भण्डारी भन्छन्।"त्यसैले उनीहरू कति स्पष्ट छन् भन्ने मूल प्रश्न हो।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।