ठूला–ठूला र्याली आउने क्रम जारी, महाधिवेशनस्थल भरियो : प्रदीप ज्ञवाली - janatatimes.com
काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल करिब भरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा भइरहेको उद्घाटन समारोहको तयारी अवलोकन गर्दै उहाँले ठूला–ठूला र्यालीहरू निरन्तर रूपमा आइरहेको बताउनुभयो । महाधिवेशन उद्घाटनस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले पश्चिमतर्फबाट थप ठूला र्यालीहरू आउँदै रहेकाले सहभागीको संख्या अझ बढ्ने उल्लेख गर्नुभयो । ‘पश्चिमपट्टिबाट ठूला र्यालीहरू आउँदै छन्, तर कार्यक्रमस्थल करिब भरिन लागिसकेको छ,’ उहाँले भन्नुभयो । कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू पुगिसक्नु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली भने भरखरै कार्यक्रमस्थल पुग्नु भएकाे छ । महाधिवेशन उद्घाटनस्थलमा दुवै दिशाबाट झण्डा, ब्यानर र नारासहित ठूला–ठूला र्यालीहरू प्रवेश गर्ने क्रम जारी छ । नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान साँघुरो बन्न थालेको छ । प्रतिनिधि तथा सहभागीहरू ठाउँ सुरक्षित गर्न कार्यक्रम सुरु हुनुअघि नै मैदानमा पुग्ने क्रम बढेको छ । यसैबीच, उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा महाधिवेशनस्थलमा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन भइरहेको छ । देशका विभिन्न भू–भाग र समुदायको पहिचान झल्किने झाँकीहरू मैदानमा प्रवेश गरिरहेका छन्, जसले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण बनाएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम केही समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यसूची रहेको छ । एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको महाधिवेशनका रूपमा लिएको छ ।