Redirecting...

एमाले ११ औँ महाधिवेशन : बिहान ८ वजेदेखि मतदान हुँदै - www.lumbinisanchar.com

एमाले ११ औँ महाधिवेशन : बिहान ८ वजेदेखि मतदान हुँदै - www.lumbinisanchar.com
Source: lbns

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । प्राविधिक कारणले पटक–पटक सरेको मतदान अन्ततः आज बिहानदेखि सुरु हुन लागेको हो, जसले महाधिवेशनको सबैभन्दा निर्णायक घडीलाई थप प्रतीक्षित बनाएको छ । मंगलबार बिहानका लागि तय गरिएको मतदान विद्युतीय भोटिङ मेसिनमा देखिएको समस्याका कारण साँझसम्म सारिएको थियो । तर प्रतिनिधिहरू मतदानका लागि लाइनमै बसेको अवस्थामा समेत मतदान प्रक्रिया सुरु हुन नसकेपछि निर्वाचन कार्यतालिका बुधबारका लागि धकेलिएको थियो । यसले महाधिवेशनस्थलमा प्रतिनिधिहरूबीच चासो, कौतुहल र धैर्यको परीक्षा समेत लिएको देखियो । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । उनका अनुसार विद्युतीय प्रणालीमा देखिएको समस्या समाधान भएसँगै मतदानका लागि आवश्यक तयारी पूरा गरिएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । तीन सय एक सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन्, जसले एमालेको भावी नेतृत्व र संगठनात्मक दिशा निर्धारण गर्नेछ । नेतृत्व चयनको प्रतिस्पर्धा पनि रोचक बनेको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने छन् । महासचिव पदका लागि ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । प्राविधिक चुनौतीका बीच सम्पन्न हुन लागेको यो निर्वाचनलाई एमालेभित्र आन्तरिक लोकतन्त्रको अभ्यास, संगठनात्मक अनुशासन र नेतृत्व परीक्षणको महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ । मतदानपछि आउने परिणामले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, आगामी राजनीतिक यात्राको दिशा समेत तय गर्ने अपेक्षा गरिएको छ ।