Redirecting...

विविध कार्यक्रमसाथ १८औँ निर्माण दिवस सम्पन्न - ehimalayatimes.com

विविध कार्यक्रमसाथ १८औँ निर्माण दिवस सम्पन्न - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले सोमबार राजधानीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । दशरथ रंगशालाबाट सुरु भएको बाजा तथा झाँकीसहितको प्रभातफेरी थापाथली, माइतीघर मण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगर पुगेर समापन भएको थियो । प्रभातफेरी उद्घाटन गर्दै शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने बताउनुभयो । वर्षौंको मिहिनेतपछि स्थापित निर्माण कम्पनी डुबेमा त्यसको असर राज्यलाई पर्नेतर्फ उहाँले सचेत गराउँदै निर्माण व्यवसायीलाई व्यावसायिकरूपमा प्रस्तुत हुन सुझाव दिनुभयो । ऐन कानुनमा रहेका केही गलत प्रावधानका कारण निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै सचिव सिग्देलले ऐन, नियम तर्जुमा गर्दा आफूहरूलाई नै ‘बाइपास’ गर्ने गरिएको गुनासो गर्नुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीररूपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताउनुभयो । पछिल्लो समय सरकारले हचुवाभरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको उहाँको भनाइ थियो । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ मा रहेका अव्यावहारिक प्रावधानका कारण नै रुग्ण ठेक्काको समस्या जटिल बनेको अध्यक्ष सिंहले बताउनुभयो । निर्माण उद्योगमैत्री ऐन कानुनका लागि महासंघले लामो समयअघिदेखि खबरदारी गर्दै आए पनि समस्या समाधानका लागि सरकारले ठोस चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । महासंघका महासचिव रोशन दाहालले निर्माण उद्योग अहिले मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको बताउनुभयो । १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा सोमबार महासंघ सचिवालयमा एभरेष्ट अस्पतालको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदातालाई महासंघका अध्यक्ष रवि सिंहसहितका पदाधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । महासंघकै प्रायोजनमा तिनकुनेस्थित निःसहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको थियो । साथै देभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि निर्माण दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् । दिवसका अवसरमा महासंघले गत शनिबार ‘एफक्यान रोड रेस’ को पनि आयोजना गरेको थियो ।