Redirecting...

कथा : वर्क स्ट्रेस - sahityapost.com

कथा : वर्क स्ट्रेस - sahityapost.com
Source: shpt

जेकोब ८:५३ ए एम हे म्यान व्हाट्स गोइङ् विथ द माउन्ट साएनाए प्रोजेक्ट ? ट्रोए रिपोर्टेड सम इस्यु विथ टेस्ट डक्स ? ८:५३ ए एम नट मच जेक, क्लिन्ड अप द डक्स लेट लास्ट नाईट, टेस्टेर्स मस्ट बि अन इट राईट नाउ । १२:४९ पि. एम. मा सेभ गरेको एक्सेल फायलमा मास पोइन्टर घुमाउँदै मैले सोचें– हिजो रात पनि १:०० बजेको थियो सुत्दा । यस्तै भाको १४-१५ महिना भइसक्यो । ११:०० बजे भन्दा अगाडि, पछिल्लो पटक कहिले सुतेको नि याद छैन । भर्खर आज बुधवार बिहान भयो । हत्तेरी अझै ३ दिन पूरै बाँकी छ वीकेन्ड आउन । पछिल्लो शुक्रवार कतिखेर आयो कतिखेर सोमबार आयो अत्तोपत्तो छैन । पछिल्लो शनिवार रमन दाइको घरमा २ क्यान हेजी आई पि ए लगालग खाँदा एक छिन त झ्याप्पै लागेको थियो । खै, धेरै समयपछि खाको भएर हो कि ? लागर भन्दा चैँ आई पि ए ठीक हुँदो रैछ । सानी जन्मेपछि त पिउन नि एकदम कम भाको छ । बिहान अफिस आउने बित्तिकै भरेको थर्मस कपमा भको फ्रेन्च रोस्ट कफी सम्झेँ । एक घुट्को लिएर सोचें यो कफी पनि त आई पि ए जस्तै हो, शुरूशुरूमा स्वाद मीठो लाग्दैन, बिस्तारै जिब्रोले त्यही स्वाद खोज्छ । यो कफी नहुँदो हो त कसरी पो जिन्दगी चल्थ्यो होला ? नेपालमा हुँदा त यस्तो कफी खाको त हलिबूड फिल्ममा मात्र देखिन्थ्यो । नेपालमा त कफीको नाममा त्यही दूध चियामा नेस्क्याफे छर्केको भर्सन देख्या थिएँ, त्यो नि रेगुलर चिया भन्दा महँगो, कफी त लक्सरीको आइटम हुन्थ्यो । यु एस बसेको १६ वर्ष भइसक्यो कति नेपालको तुलना गर्नु हो ? अबको ५ वर्षमा भने बसाइँ नेपालभन्दा बढी युएस हुने रहेछ । यो टु डु लिस्ट नि जति हेर्यो त्यति लामो हुन्छ कि के हो ? सोमबार बिहान ४ वटा आइटम थिए, आज ५ वटा छन्, २ दिनमा एउटा नि काम सकिएन छ ? हिजो दिनभरी मैले के पो गरेछु त ? सम्झिन खोजें । तर केही याद नै आउँदैन । ४-५ कप कफी र निद्रा नपुगेर यो दिमाग सिधा सोच्न नसक्ने भइसक्यो । एकचोटी रेस्टरूम गएर आइहाल्छु अनि काम शुरू गर्नु पर्छ । आफ्नो डेस्कबाट बाथरूम सम्म जाने वाकवेमा डेन्निस र सुब्रतोलाई हात हल्लएर अभिवादन गरें । बाथरूममा हात धोएर यसो ऐनातिर नजर गयो, ग्रे पोलो टी-सर्टको दाहिने कलर खुम्चेको देखें । हल्का तानेर सिधा बनाउन खोजें सिधा भएन । यो सर्ट पहिले नै इस्त्री गरेर राख्नुपर्ने, जहिले बिर्सिन्छु । आफ्नो अनुहारतिर आँखा गयो, दारी पनि अलि लामो लामो लाग्यो । गाला छाम्दै सोचें – यहाँ दारी कट्न भ्याएको छैन इस्त्री कहिले लगाउनु ? निनाले भनिरहन्छे, “सधैं दारी काट के, नत्र कस्तो फोहोरी देखिन्छ ।” हिजो राती नि सुत्ने बेला यसै ढिलो भइसक्या थियो । बिहान उठेर काट्छु भनेर सुतेको, बिहान ७:३० को इन्डिया टिमसँगको मिटिङ त भुसुक्कै बिर्सेछु । सधैं फोनमै आँखा हुन्छ । क्यालेन्डर हेरेर सुत्नुपर्ने । बिहान छोरोलाई स्टपमा ड्रप गरेर घर आउँदा सानी उठी सक्याथी । उसलाई सिरिएल खुवाएर निनालाई उठाउँदा ७:२५ नै भै सक्या थियो । मिटिङ जोइन गर्नै ५ मिनेट ढिला भो । काँ को दारी काट्नु ? यो फोनमा नि कति टाईम बित्छ भने । दिन रात फोन मै हुन्छु, चाहिने कुरा चाहिँ केही गर्ने हैन । आफ्नो बानी नै खराब छ । ठीकै छ, यो हप्ताको टु डु लिस्ट सक्छु । पहिला जस्तो डिले चाहिँ गर्दिन । बरु, फ्याक्ट्रीको सपोर्ट रिक्वेस्ट के के रैछ हेरूँ । ड्याम् ! आजै ५ वटा सपोर्ट टिकट आउनु परेको ? हेर्छु जस्टिनले हेल्प गर्छ कि ? मोरो आजै आएन छ फेरि । नयाँ देशी इन्जिनियर आको छ त्यसले राम्रो काम गर्‍यो भने मेरो जागीर खतरामा पर्न सक्छ । अहिलेको जब मार्केट मेस्ड्अप छ भन्छन् । आफ्नो काम त गरेर देखाउनै पर्‍यो नि । २:४५ पि. एम. ओहो २:४५ भइसके छ । आज पनि उस्तै । एउटा काम नै सकिएन, थाकिसकें । अहिलेसम्म जेकले कराएको छैन । ठीक छ एकछिन रेस्ट गर्छु । फोन हेरेको छैन एकछिन फोन हेर्नु पर्‍यो । नेपालका साथीहरू नि खूब घुमघाम गर्छन् आजकाल । यताका मान्छेहरूको त के कुरा गर्नु । हरेक महिना घुम्न गएको देख्छु । हुन त हामी पनि २ महिना अगाडि न्यूयोर्क गएकै हो । ओहो ! ३:२५ भइसक्यो ? हत्तेरी ४:१० मा छोरोको बस आउँछ, अहिले फर्किने समयमा यति धेरै गाडी हुन्छ, कसरी भ्याउनु ? हतार हतार ल्याप्टप बन्द गरेर पानीको बोटल ब्यागको दाहिनेतिर घुसारेर, कफी कप हातमै बोकेर अफिस बहिर कुदेँ । गूगल म्यापले ४:१५ मा घर पुग्ने सूचना दिन्छ । निनालाई कल गरेर ठुलोलाई लिन जाऊ भन्न पर्‍यो । “हेल्लो, म अफिसबाट निस्किँदा हल्का ढिलो भाथ्यो, बाटोमा टन्नै ट्राफिक रैछ, केटालाई लिन जाऊ न है प्लिज ।” “…सनोलाई लिएर जानुपर्छ, अलिक अगाडि भन्नुपर्छ नि । काम मैले सकेकी छैन…जाडोमा त यस्तो गरेर हुन्न है ।” “…हुन्छ !” भनेर फोन काटें । के के सोच्दै थिएँ, अगाडिको गाडीले झ्याप्प ब्रेक लगायो । मैले ब्रेक हान्दाहान्दै गाडी गएर अगाडिको मिनी भ्यानमा ड्याम्मै लाग्यो। हरे ! के समस्या पर्‍यो फेरि । अगाडिको गाडीको मान्छेले ह्यजार्ड लाइट बालेर साइड लगायो । म पनि उसको पछि पछि ह्यजार्ड लाइट बालेर गाडी साइड लगाएँ । धन्न उसको गाडीको बम्परमा सानो स्क्र्याच लागेछ । आफ्नो गाडी हेरेको खासै नोक्सानी भाको देखिनँ । गाडीबाट एकजना ५५-६० वर्ष कि महिला म भन्दा पहिला नै उत्रेर आफ्नो गाडी र मेरो गाडीको फोटो खिचिसक्या थिइन् । उनलाई देख्ने बित्तिकै “आइ याम सो सारी” भनें । म मेरो गाडीको इन्सुरेन्सको कार्ड बोकेर गाको थिएँ । उसले फोन नम्बर मागी आफ्नो फोनबाट मलाई मिस कल गरी । आफ्नो नाम र इन्सुरेन्स कम्पनीको नाम दिएँ र कल गर्न भनें । उनले गाडी बनाउने ठाउँबाट रिपेयरको एस्टिमेट लिएर कल गर्छु भनिन् । “मे आई नो योर नेम ?” “डेब्बी !” उनले भनिन् । मैले फेरि “आई याम सो सरी, डेब्बी !” भनेर २-४ वटा फोटो खिचेर गाडीभित्र आएर बसेँ । हातखुट्टा अलिअलि कामेको महसूस गरेँ । धन्न ठुलो ड्यामेज भएन, भनेर सोचें । अगाडिको गाडी बिस्तारै अघि बड्यो । ३० सेकेन्ड जति कुरेँ अनि म पनि बिस्तारै घरतिर लागेँ । घर पुगेर यसो इमेल चेक गरेको, म्यानेजरको इमेल आको रैछ । अर्को प्रोजेक्टको कस्टमरले सिस्टम ड्रविङ्गमा के गल्ती भेट्यो रे, छिटो अपडेट गरेर पठा भनेर लेखेको रैछ । हेरें, फेरि अर्को काम थपियो । ९:३० पि. एम. देब्रे हातमा हल्का भाइब्रेसन महसूस गरें, आँखा मिच्दै हेरेको, हातको घडीमा राखेको ९:३० पि एम को अलार्म बजेको रैछ । ठुलोलाई सुताउन गको आफै निदाएछु । यस्तै हुन्छ भनेर ९:३० को अलार्म लगाको । दुई मिनेट फोन हेर्छु अनि काम गर्न जान्छु…होस् १ घण्टा त निदाएर बित्यो, आज त छिटो सुत्छु काम सकेर । निना नि सानीलाई सुताउन गई जस्तो छ । फोन निकालेर टेक्स्ट गरें, म तल अफिसमा छु है, अलिकति काम सक्नु छ । उताबाट रिप्लाई आयो…“ओके” । ड्रविङ्गमा के बिग्रेको रैछ हेरूँ भन्दा भन्दाई ११:०० बजेछ । त्यसलाई नि टु डु लिस्ट मा हालेँ । अब त लिस्टमा ६ वटा आइटम देखेँ । झनै दिक्क लाग्यो । निद्रा, थकाइ र निराशाले खिस्रिक्क परें । ह्या, वीक डे नै होस एउटा बियर खाइदिन्छु । जोस्सेर फ्रिजतिर लागें । किचन काउन्टरमा हिजो ल्याको औषधीको पेपर देखेँ । डु नट मिक्स विथ अल्कोहोल् ! आफ्नो दायाँ तिरको क्याबिनेटको सीसाबाट लगभग आधा भरिएको निलो सेतो लेक्साप्रो (Lexapro), एन्टी एन्जाईटी पिल् ले मलाई नै हेरेको जस्तो लाग्यो । होस खान्न, भनेर पछाडि फर्कें र टेबलको अर्को कुनाको कफी मसिनमा गएर एक कप कफी ब्रु गरें ।आज नि सुत्न १: ०० बज्ने नै भो ! …इन्डिङ (अप्सन १) बिहान उठ्दा एक प्रकारको अनौठो शान्ति थियो मनमा । आज काम जानु पर्दैन, घडी हेरें, ६:१५ ए एम, ५ मिनेटमा ठुलोलाई उठाउँछु । अनि लन्च प्याक गरेर स्टपतिर जान्छु । छोरोलाई बसमा चढाएर हिंड्दै घरतिर लाग्दा हल्का घाम मुखमा पर्‍यो, न्यानो लाग्यो । घर आउँदा ७:१० भयो, कफी ब्रु गरेर टेबलमा रखेर फोन निकालेर कुर्सीमा बसेँ । एक सिप कफीको साथमा फेसबुक खोलें, बाले घर नजिकको मन्दिरको फोटो रख्नुभाको रैछ । ओहो यो मन्दिर त मैले नदेखेको कति पो भइसक्या रैछ । अझै उस्तै रैछ । बिहान छोरोलाई लन्चमा ग्रील चीज स्याण्डविच बनाउँदा आफूलाई नि २ पिस बनाएर राखेको थिएँ यसो छामेको तातो नै लाग्यो । एक टुक्रा टोकेर प्लेटमा रखें । निनाले ब्रेकफास्ट खान्न, अब लन्च अलिक छिटो बनाउनु पर्ला भनेर सोचेँ । त्यही बेल फोनमा मेसेज को नोटिफिकेसन देखेँ । “डेब्बी हियार, द स्क्राच वास नट टु ब्याड्, आई फाउन्ड अ सप हु क्यान फिक्स इट इन २०० बक्स !” मैले लेखेँ, “द्यट्स असम् !, प्लिज गेट इट फिक्सड एन्ड सेण्ड मि द इनभोईस । सो सारी फोर अल द ट्र्बल्स ।” “विल डु, थ्यान्कस ।” ल, यो पनि, सस्तै मा टर्यो । २ हप्ताभन्दा बढी लगाई यति गर्न पनि । हुन त यो घटना न भाको भए म यसरी कहाँ बस्न पाउँथे र ? जेकलाई २ हफ्ता को नोटिस दिनुअघि झन्डै बेहोस हुन लागेको थिएँ । अहिले त, हजार गुना कम स्ट्रेस छ । धन्न प्रभु, अनि डेब्बीलाई नि धन्यवाद ! सानी उठिछ । निना बाथरूममा रैछ । मलाई देखेर छोरीले बाबा भनेर दङ्ग परी । गूड्मर्निङ कान्छी भनेर उसलाई बोकेँ । मनमा अर्को खुशी सञ्चार भयो । ‘होस्, अब ६ महिना छोरीलाई नै हेरेर बस्छु,’ १२ वर्ष अनवरत काम गरेर थाकेको मनलाई सम्झाएँ । इन्डिङ (अप्सन २) लामो सुस्केरा हालेर, टु डु लिस्टमा मा ८ वटा आइटम भएछ लौ न । जति काम गर्दा सकिन्न बरु थपिंदै जान्छ । म्यानेजरले मार्ने भो अब । ह्या एक छिन फोन हेर्छु… …कान्ट अफ्फोर्ड टु लुज दिस जब । नीड टु पे माई बिल्स…छोरो लिन जान ढिलो भो…निद्रा पुगेन…आदि आदि The post कथा : वर्क स्ट्रेस appeared first on साहित्यपोस्ट.