Redirecting...

हामीलाई प्राप्त साताका पुस्तक - sahityapost.com

हामीलाई प्राप्त साताका पुस्तक - sahityapost.com
Source: shpt

पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न चार वटा पुस्तक प्राप्त भएका छन् । …………………………… १. आधा – सपना – विजयकुमार शर्मा लेखक तथा पूर्व लडाकु, कृषि उद्यमी विजयकुमार शर्माको संस्मरण पुस्तक हो ‘आधा– सपना’ । पुस्तकमा विजयले जनयुद्धदेखि १४ वर्षको जेल जीवन त्यसपछि कृषि यात्रा, उत्पादित वस्तुको लागी बजार खोजको बारेमा लेख्नुभएको छ ।”कारागारको चिसो, निर्जीव चार भित्ताभित्र थुनिएको मेरो शरीरले मात्र होइन, मेरो हृदयले पनि बाहिरको खुला आकाश र भविष्यको उज्ज्वल सपना देख्यो ।” पुस्तकमा विजय आफ्नो कुरा लेख्नुहुन्छ, ”फलामे बार र शून्य कोलाहलबीच, मेरा सपनाहरु एउटा अग्निपर्वतझैँ भित्रभित्रै दन्किरहेका थिए । कानूनको एम.एल.एम. तहको अध्ययनका लागि फिल्ड वर्कमा आउने साथीहरुसँग हुने छलफल मेरालागि विचारको उर्वर भूमि बन्यो । ठीक त्यही बेला मेरो मनले एउटा अकाट्य सत्यलाई अँगालो हाल्यो कि ‘देशको वास्तविक परिवर्तन र समृद्धि राजनीतिबाट मात्रै होइन, यही माटोमा आधारित आत्मनिर्भर कृषिबाट सम्भव छ ।’ बाहिर निस्किएपछि गर्ने राजनीति नै त होला। भन्ने हरेक साथीहरुको जिज्ञासामा मेरो जवाफमा कुनै द्विविधा थिएन । एउटा दृढ संकल्प थियो, ‘म बाहिर गएर कृषिकर्म (पशुपालन) गर्छु ।’ यो जवाफ एउटा लामो र कठोर युद्ध, मुद्दामामिलाको तनाव र कारागारको एकांकी जीवनले निचोरेर निकालेको, शान्त र अन्तरआत्माको वाणी थियो । वास्तवमै मैले महसुस गरिसकेको थिएँ कि वास्तविक सुख र समृद्धिको जरा माटोमा निहित छ। त्यसबाहेक अन्यत्र कतै छैन। दाङ कारागारमा आइपुग्दा नआइपुग्दै, मेरो त्यो सपनाले स्वर्ण बिहानीझै मूर्त रुप लिइहाल्यो । मेरो व्यक्तिगत प्रयासमा श्रीमती र भाइको अटुट साथ र समर्पणले साथ दियो । ‘देवकोटा बहुउद्देश्य कृषि फर्म’को बिउ रोप्यौ । आज, त्यो फारम मेरा लागि केवल एउटा व्यवसाय होइन, यो मेरो १२, १५ जनाको परिवारको जीवन्त मुटु बनेको छ । आवश्यक गर्जीहरु टार्न सक्ने भएको छु । मैले शीर उठाएर ‘म कृषि उद्यमी हूँ’ भन्न सक्ने सामाजिक हैसियत प्राप्त भएको छ ।” पुस्तकलाई शब्दमिडिया प्रा.लि. साहित्यपोस्टले बजारमा ल्याएको छ । दुई सय ७० पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय ५५ रुपियाँ रहेको छ । ===================== २. घुम्ती बिक्रीमा छ – ऋजन मायालु कवि ऋजन मायालुको कविता सङ्ग्रह हो ‘घुम्ती बिक्रीमा छ’ । ऋजनको कवितामा प्रेम, विसंगती प्रति व्यंग्य, खबरदारी आन्चलिकता भरपुर पाइन्छ । ”बिस्तारै अध्याय फेरियो ।” पुस्तकमा ऋजन लेख्नुहुन्छ, ”कोविदको प्रेम फिक्का लाग्न थाल्यो । कोविद चटक्क छाडेपनि तिनको जस्तो सरल भाषा छाड्न सकिनँ। अभावमा आप्पा-आमाले गरेको दुःखलाई सँगै बसेर महसुस गर्न पाएँ। त्यसैले होला आफूले गरेका सानातिना सङ्घर्षलाई दुःख भन्न मन लाग्दैन । श्रीमती पाएपछि, र श्रीमतीको दरिलो भूमिकामा खरो उत्रिन पार्टनर आइपुगेपछि काठमाडौँको सङ्घर्षको दिनमा नै पहिलो कविता कृति ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ जन्मियो जुन मैले अँचिला काटेको रहेछु । पूरै प्रेमको खाटो बसेपछि जन्मिएपनि विमोचनको समयमा प्रमुख अथिति आदरणीय कवि व्याकुल माइलाले कविता सङ्ग्रहमा जवानीमा फुल्ने प्रेमका कविता अटाएनछन् भन्दा म झल्याँस्स भएँ। प्रेम बहुत सुन्दर लाग्छ तर सायद प्रेमपछिको झर्को समयमा जन्मिएछ पहिलो कृति ‘चुचुरो अनि स्वास्नीमान्छहरू’ । अहिले समय फेरियो। प्रेम जति सुन्दर कुरा केही होइन मेरो लागि । त्यसैले प्रेम नै धेरै लेखियो सायद यस कृतिमा । जोसँग पनि घुलमिल हुन समय लागेपनि पछि घनिष्ट हुन्छु म । यसै क्रममा एघार कविका एक सय दश कविताको कृति ‘उज्यालोका मालीहरू’ महेश पौड्यालको सम्पादनमा अंशियारीमा विमोचन भयो, घनिष्ट सम्बन्ध बनाउँदै। अंश बाँडफाँड गर्ने जिम्मा बाबा र मातेसँग मात्र छ। मोफसलमा रहेर राजधानीलाई औंला ताकिरहेको छु । साहित्य जगतमा राजधानीमा राजाजस्ता धनी बस्नेले मोफसलको म फसल उमार्नेलाई एउटै नामले चिन्दो हो तर छिचिमिरा जस्तो थपक्क उडेर पखेटा चुडाएर फेरि हराउनु पनि भएन । देवलमा बरु च्याउ नै उमार्छु । सङ्घर्षका नाममा लेख्ने काम जारी राखेको छु, लेखिरहने छु। यो यसैको एउटा प्रमाण हो ।” पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको छ । ६६ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ७५ रुपियाँ रहेको छ । =================== ३. अर्को यात्रा अन्टार्टिका – डा. बद्री पोख्रेल लेखक डा. बद्री पोखरेलको यात्रा संस्मरण हो ‘अर्को यात्रा अन्टार्टिका’ । पोखरेलले अन्टार्टिका यात्राको प्रेरणा देखि यात्राको निचोड सम्म पुस्तकमा समेट्नुभएको छ । ”जीवन निरन्तर चलिरहने यात्रा हो भने यात्रा जीवन जत्तिकै चलायमान क्रिया हो ।” पुस्तकमा बद्री पोख्रेल लेख्नुहुन्छ, ”प्रत्यक्ष दर्शनबाट आर्जनहुने ज्ञानको सोपान पनि यात्रा नै हो । अनुमान, उपमान, शब्द प्रमाण भन्दा प्रत्यक्ष प्रमाण नै स्वीकार्य हुने चारवाक् चिन्तनले पनि अहिले देखेको वस्तुलाई नै जीवनको उपलब्धि मान्दै यात्रागर्न ढीला गर्न नहुने र समय र परिस्थितिलाई अनुकूल बनाएर यात्रारम्भ गरिहाल्नपर्ने सन्देश दिएको छ । यात्रा शब्द निरन्तरताको अर्थ बुझाउने भएकाले यात्रा कहाँ गएर टुङ्गिन्छ भन्न सकिँदैन । मानिसमात्र नभएर सबै जंगम प्राणीहरु यात्रा गरिरहेकै हुन्छन् । घरबाट खाना खोज्न बाहिर निस्कनुलाई यात्रा प्रारम्भको इतिहास मान्न सकिन्छ । यो यात्राविस्तारित हुँदै अर्को गाउँ, अर्को शहर, अर्को देश, अर्को महादेश हुँदै अघि बढ्छ । अहिलेसम्म यसको भौतिक गतिले चन्द्रमा चुमिसकेको छ भने मंगल ग्रहहुँदै अरु ग्रहतिर पनि लक्ष्योन्मुख देखिन्छ ।” त्यसै गरी पुस्तकमा रामप्रसाद पन्त लेख्नुहुन्छ, यात्रासंस्मरण र नियात्रामा फरक के छ भने यात्रासंस्मरणमा कोरा यात्रावर्णन मात्र हुन्छ भने नियात्रामा यात्राकारले आफ्ना अनुभव र अनुभूतिहरुलाई चित्रात्मक, यथार्थपरक र आत्मपरक शैलीमा प्रस्तुत गर्दछ, जहाँ स्थानीयता, आत्मीयता र गतिशीलता स्वतः मिसिएको हुन्छ। यस अर्थमा नियात्रालेखनलाई यात्रासाहित्यको इतिहासमा उत्कृष्ट मानिएको छ। अर्को विशिष्ट कुरा के हो भने नियात्रा साहित्यको कृति पढ्दा पाठक पनि यात्रालेखकसँगै यात्रा गरेको अनुभव गर्छ । जुनसुकै यात्रामा लेखक स्वयं सरिक हुन्छ र उसले नायकत्व आफै ग्रहण गर्छ। बद्री पोखेलको प्रस्तुत यात्रासंस्मरण पढेर पूर्णरुपमा नियात्राको स्वाद पाउन नसकिए पनि रमरम नियात्राको स्वाद पाउन सकिन्छ र पाठकलाई पनि घुमाउन मद्दत गर्छ । भनिन्छ नि, दशवटा किताब पढ्नुभन्दा एउटा यात्रा गर्नु उपलब्धिपूर्ण हुन्छ ।पढेर भन्दा परेर जानिन्छ, पढेको ज्ञानभन्दा अनुभूति र अनुभवजन्य ज्ञान बढी व्यावहारिक हुन्छ ।” पुस्तकलाई शिवप्रसाद अर्याल र मधु अर्यालले प्रकाशन गर्नुभएको छ । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ । =============================== ४. अक्षरदेखि अक्षरसम्म – स. मानसाग्नि मानसाग्निले डा. बद्री पोख्रेलको जीवनीलाई सम्पादन गर्नुभएको पुस्तक हो ‘अक्षरदेखि अक्षरसम्म’ ।”डा. पोख्रेलले साहित्यका धेरै क्षेत्रमा कलम चलाउनुभएको छ ।” पुस्तकमा सम्पादक मानसाग्नि लेख्नुहुन्छ, ”कथा, निबन्ध, समालोचना, उपन्यास, नाटक, यात्रानुभूति, हास्यव्यङ्ग्य, कविता र गीतसम्बन्धी उहाँका साहित्यिक कृतिहरू प्रकाशित छन्। यसबाहेक अनुवाद, अर्थशास्त्र, व्यवस्थापन, धर्म, संस्कृति आदिमा पनि डा. पोख्रेलको कलम अविरल छ। यति धेरै विधामा कलम चलाए पनि पत्रपत्रिकामा प्रकाशित भएका र आफ्नै घरमा पाण्डुलिपिका रूपमा रहेका बाहेक पुस्तकाकार रूपमा धेरै कम मात्र कृतिहरू प्रकाशित भएका देखिन्छन्। गर्भमा छटपटाइरहेको र छिट्टै जन्मिने आशा देखिएको १८ पुराणको सारसङ्गेप, मौद्रिक तथा वित्तीय व्यवस्थापन र ७७ जिल्लाको सङ्क्षिप्त यात्रा विषयक पुस्तक सङ्ग्रहणीय हुने छन् भन्ने मलाई लागेको छ। अन्य विधाका कृतिहरू पनि महत्त्वपूर्ण नै हुने छन्, तर समय दिएर तिनलाई चम्किलो रूपमा लोकार्पण गर्नु जरुरी देखिन्छ। संस्कृत, नेपाली र अङ्ग्रेजी तीन भाषामा कलम चल्ने डा. पोख्रेलको अबको बाँकी जीवन अक्षरदेखि अक्षरसम्म अर्थात् साधनाको अक्षरदेखि अध्यात्म साधनाद्वारा प्राप्त हुने अक्षरसम्म बढिरहोस् भन्ने कामना गर्दछु।” पुस्तकमा डा. राजेन्द्रकुमार आचार्य लेख्नुहुन्छ, हामी मजाकमा भन्ने गथ्यौँ- के पढिस्, खालि क ? वास्तवमा यो पुस्तकका बारेमा भन्नुपर्दा मैले खालि क मात्रै पढें। एउटा जीवित व्यक्तित्वका बारेमा लेखिएको पुस्तकमा यति गहिरो ज्ञान रहेछ कि ममा नाङ्गा आँखाले हेरेर समुद्र रहेछ भन्नुबाहेक केही हैसियत रहेन। डुबुल्की मार्न सके न मोती निकाल्ने हो, नत्र त किनारमा आएको माछो पनि हेर्ने सामर्थ्य हुँदैन। कृतिको गर्भाधान नै नैतिक र शारीरिक दर्शनबाट सुरु भएको छ। त्यो पनि क्लिष्ट स्वास्थ्योपचार। धेरै ठाउँमा उपचार गर्दा पनि बिशेक नभएको अवस्थामा नेचुरोप्याथीबाट शरीर र मनलाई स्थिर पार्न थालिएको प्रसङ्ग यो पुस्तकको बीज बनेको छ। बद्री सर यात्रा गर्न असाध्यै मन पराउने स्वभावका छन्। साँच्चै, ज्ञानका लागि यात्रा गर्नुपर्छ।” पुस्तकलाई उर्मिला पोख्रेलले प्रकाशन गर्नुभएको छ । एक सय ७१ पृष्ठमा फैलिएको छ । The post हामीलाई प्राप्त साताका पुस्तक appeared first on साहित्यपोस्ट.