ट्रम्पको चेतावनी : मध्यावधि चुनाव हारे ममाथि तेस्रो पटक महाभियोग लाग्छ - nagariknews.nagariknetwork.com
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सांसदहरूलाई आफूले सन् २०२६ को मध्यावधि चुनाव नजिते आफूमाथि महाभियोग लाग्ने दाबी गरेका छन्। विपक्षी डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउने चिन्ता उनले व्यक्त गरेका हुन्।ट्रम्पले वाशिंगटनमा आयोजित एक कार्यक्रममा भने, ‘तपाईंले मध्यावधि चुनाव जित्नुपर्छ किनभने यदि हामीले मध्यावधि चुनाव जितेनौँ भने, यो केवल हुनेछ- मेरो मतलब, तिनीहरूले मलाई महाभियोग लगाउने कारण खोज्नेछन्। मलाई महाभियोग लगाइनेछ।’ट्रम्पले सांसदहरूलाई मतदाताहरूको आक्रोशलाई बुझेर जीवनयापनको लागत, स्वास्थ्य सेवा र अन्य मुद्दामा आफ्ना नीतिबारे जानकारी गराउन आग्रह गरेका थिए। उनले भने, ‘उनीहरू भन्छन् कि जब तपाईं राष्ट्रपति पद जित्नुहुन्छ, तपाईं मध्यावधि हार्नुहुन्छ। म चाहन्छु कि तपाईंले मलाई जनताको दिमागमा के भइरहेको छ भनेर व्याख्या गर्न सक्नुहुन्छ।’ट्रम्पले रिपब्लिकनहरूलाई स्वास्थ्य सेवामा डेमोक्र्याटहरूको सन्देशलाई बलियोसँग जवाफ दिन र लचिलो हुन सल्लाह दिए। सो अवसरमा उनले पार्टीभित्रका मतभेदप्रति गुनासो पनि गरेका थिए।अमेरिकामा सन् २००६ देखि हरेक बहालवाला राष्ट्रपतिले मध्यावधिमा सदनको नियन्त्रण गुमाउँदै आएका छन्। ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका एक मात्र राष्ट्रपति हुन्। तर दुवै पटक सिनेटबाट उनलाई दोषी ठहर गरिएन। पहिलो पटक सन् २०१९ मा शक्तिको दुरुपयोग र कांग्रेसको काममा अवरोध पुर्याएको आरोपमा उनीमाथि महाभियोग लगाइएको थियो। दोस्रो पटक सन् २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणलाई प्रोत्साहन दिएको (राजद्रोहको उक्साहट) आरोपमा महाभियोग लगाइएको थियो।दुवै अवस्थामा हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाभियोग पारित गरे पनि माथिल्लो सदन सिनेटमा आवश्यक दुई-तिहाइ बहुमत नपुगेकाले उनलाई पदबाट हटाउन सकिएको थिएन्। एजेन्सी