Redirecting...

कथा यात्रा र धनमान श्रेष्ठको कथनी - sahityapost.com

कथा यात्रा र धनमान श्रेष्ठको कथनी - sahityapost.com
Source: shpt

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित कथाकार धनमान श्रेष्ठको निजी निवासमा ‘कथाकारको कथनी’ शीर्षकमा कथा यात्रा समूहद्वारा साहित्यिक जमघट सम्पन्न भएको छ। कार्यक्रमले कथाकारहरूको जन्मदिनको सेरोफेरोमा गरिने नियमित भेटघाटलाई कथा वृत्तलाई परिवारसँग जोड्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ। कार्यक्रममा कथा लेखनका क्रममा भोगिएका अनुभवसँगै कथाका सिद्धान्त, दर्शन तथा समग्र साहित्यिक परिवेशबारे विमर्श गरिएको थियो। विभिन्न पुस्ताका लेखकहरूलाई जोड्ने लक्ष्यसहित सञ्चालन हुँदै आएको यस प्रकारको जमघटले साहित्यिक संवादलाई निरन्तरता दिने प्रयास गर्दै आएको बताइएको छ। सो कार्यक्रममा साहित्यकारहरू ध्रुव मधिकर्मी, योगेन्द्र प्रधानाङ्ग, विष्णु केशरी, कृष्ण कक्षपति, हिरण्य प्रताप तथा हरिगोविन्द मुल्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा डा. योगेन्द्र प्रधानाङ्गले समाजलाई जोड्ने उद्देश्य लिएका लेखकहरूले आफ्नो साहित्यिक योगदानलाई परिवारभित्र स्थापित गर्दै सामाजिक मूल्य प्रदान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयाे । कथाकार धनमान श्रेष्ठले रामेछापको साँघुटारमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत रहँदा सुरु भएको आफ्नो साहित्यिक यात्राका आरोह–अवरोहका अनुभव सुनाउँदै रामेछापका शहीद गंगालाल श्रेष्ठ माथि कथा लेखिएको प्रसङ्ग पनि प्रस्तुत गर्नुभयाे । कथाकार श्रेष्ठका टाढाको सम्झना, यौटा उस्तै कथा र सम्बन्ध विच्छेद लगायत कथा सङ्ग्रहसहित पाँच कृति प्रकाशित छन्। उहाँ सिर्जना अभियान समाजका अध्यक्षका रूपमा सक्रिय रहँदै विभिन्न साहित्यिक संस्थासँग आबद्ध हुनुहुन्छ। नेपाली कथा साहित्यमा क्रियाशील कथा यात्रा समूहमा कुमार काफ्ले, दीपक लोहनी, पवित्रा अधिकारी, प्रमोद प्याकुरेल, विश्व कुइकेल, हरिश कल्पित र डा. हिमलाल श्रेष्ठ आबद्ध रहनुभएकाे छ ।