Redirecting...

जसले ओलीको गुनगान गाइरहे, तिनै अटेनन् ओली टिममा  - www.sutranews.com

जसले ओलीको गुनगान गाइरहे, तिनै अटेनन् ओली टिममा  - www.sutranews.com
Source: sutr

काठमाडौं । पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुँदै केपी शर्मा ओलीलाई नै चुनौती दिएका नेता ईश्वर पोखरेल एमालेभित्र ओलीका निकै विश्वासिला नेताको रूपमा चिनिन्थे । पछिल्लो ११ वर्षलाई हेर्दा, उनी ओली टिमभन्दा कहिल्यै बाहिर भएनन् । सँगै, ओलीका सबैभन्दा सहयोगी पात्रको रूपमा पनि देखिए । तर, महाधिवेशनको संघारमा अनौठो शैलीमा ईश्वर फेरिए । उनले व्यक्तिगतरूपमा अध्यक्ष पदमा आकांक्षा मात्रै राखेनन्, ओलीलाई निकै अप्ठ्यारो पार्ने गरी प्यानल नै खडा गरे । यसपटकको महाधिवेशनमा ओली र ईश्वरको प्यानलबिच कडा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । रोचक त के छ भने ओली टिमबाट ईश्वर मात्रै बाहिरिएका छैनन्, असाध्यै विश्वासिलो मानिने दर्जनौँ नेताहरू पनि बाहिरिएका छन् । ओलीबाट संरक्षणको अनुभूति नपाएका ती नेताहरू पोखरेल समूहबाट उम्मेदवार हुँदै छन्, उनैलाई सघाउँदै छन् । नेता कृष्णगोपाल श्रेष्ठ, तिनै पात्र हुन् जसले ओलीलाई फुटबलर पेलेसँग तुलना गरेका थिए । शिक्षामन्त्री रहेको बेला २०७८ सालमा त्रिवि दीक्षान्त समारोहलाई गरेको सम्बोधन भिडियो निकै भाइरल बन्यो । उनले भनेका भनेका थिए, ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ? के राजीनामा दे भन्दा यत्तिकै राजीनामा दिन मिल्छ ? ढुक्क हुनुन्, हिजोको भन्दा पावरफुल सरकारको एजुकेसन मिनिस्टर तपाईँहरूको अगाडि छ ।’ संसद् विघटनपश्चात ओलीको राजीनामा मागिएको सन्दर्भमा उनले बचाऊ गर्ने गरी यस्तो अभिव्यक्ति दिएका थिए । तर, दशकाैंदेखि ओलीका अन्धभक्त समर्थक जस्ता देखिने उनी यसपटक ओली हाेइन, पाेखरेल टिमबाट उम्मेदवार बनेका छन् । यस्तै, नेता अग्नि खरेललाई पनि ओलीका निकै विश्वासिलो पात्रको रूपमा चित्रित गरिन्छ । कानुनका जानकार खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्तासमेत बनेका थिए । उनी कहिले ओलीको कानुनी सल्लाहकार त कहिले कानुन मन्त्री पनि बने । कानुनीरूपमा ओलीलाई सल्लाह सुझाव दिने खरेल यतिबेला ओली समूहमा छैनन् । ओलीले पदाधिकारीको टिममा नपारेपछि असन्तुष्ट खरेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । नेता गोकुल बाँस्कोटालाई पनि ओलीका असाध्यै विश्वासपात्रकाे रूपमा चिनिन्थ्याे । कतिपयले उनलाई ओलीका ‘छाेरा’काे रूपमा पनि चित्रित गरेका थिए । तर, उनै बास्काेटा यतिबेला ओली टिममा छैनन् । उनी इश्वर समूहबाट सचिव पदमा उम्मेदवार बनेका छन् । यस्तै, लालबाबु पण्डित पनि त्यस्ता नेता हुन् जाे निरन्तर ओलीकाे पक्षपाेषण गर्दै आए । तर, अन्तिममा उनकाे नाम पदाधिकारीकाे सूचीमा परेन । ओलीले सूचीमा नराखेपछि असन्तुष्ट बनेका पण्डितले स्वतन्त्ररूपमा सचिव पदमा उम्मेदवारी दिएका छन् । कृष्णगोपाल,अग्नि, गाेकुल, लालबाबुमात्रै होइन, ओलीको विश्वासिला नेता राजेन्द्र गौतम, भीमप्रसाद आचार्य, शेरबहादुर तामाङलगायत पनि ओलीबाट बिच्किएका छन् । महासचिव पद नपाएपछि प्रदिप ज्ञवाली सोमबार रुँदै महाधिवेशन स्थलबाट बाहिरिएका थिए । उनले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् ।