रेनुले एसियन युथ पारा गेम्स खेल्ने - ehimalayatimes.com
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन-२०२६ को विशेष प्रशिक्षणमा रहनुभएकी रेनुले के-४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा सहभागी हुनुहुनेछ । नेपाली टोली सोमबार राती दुबई प्रस्थान गरेको छ । उहाँले मंसिर २६ गते शुक्रबार प्रतिस्पर्धा गर्नुहुनेछ । नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायत संघका पदाधिकारीले बिदाइ गरेका थिए । कार्यक्रममा संघका महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य प्रेम भण्डारी, सुरेश मानन्धर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक सुमन घलेलगायतको उपस्थिति रहेको थियो । रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । उहाँले केही समयअघि सम्पन्न १३औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको थियो । पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र सात कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको थियो । उहाँकै प्रशिक्षणमा सन् २०२१ मा बहराइनमा भएको एसियन युथ पारा गेम्समा पारालिम्पियन पलेशा गोवद्र्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जित्नुभएको थियो । एथलेटिक्समा युथ पारा गेम्समा पुरुष खेलाडी मोहन रोका र विजय मोक्तान, टेबुलटेनिसमा महिला खेलाडी निर्मला भण्डारी, पुरुष खेलाडी स्विकृत न्यौपाने र प्रशिक्षकमा वसन्त भारती रहनुभएको छ भने पावरलिफ्टिङमा मनिष पुन, युवा खेलकुदमा ओमनाथ शिवाकोटी शेफ द मिसनका रूपमा रहनुभएको छ । टोली आइतबार प्रस्थान गरेको थियो ।