कथा : लासाधिपति - sahityapost.com
लासाधिपतिले एक छिन मौनता साँधे । त्यसै बेला भिडबाट आवाज आयो, “जुलुसमा हिँडाउँदा कबुल गरेको दरमाहा पनि पाएका छैनौँ । बम पडकाएको पनि दरमाहा पाएका छैनौँ । यसरी कसरी लास बनाउन र ढुवानी गर्न सकिन्छ र महाप्रभु ?” …. आँखा चिम्म गरेर धुप हातमा लिएर ऊ प्रार्थना गर्न थाल्यो “हे महाप्रभु ! हे लासाधिपति ! हे मृत्युका देवता ! हे शवभक्षक, तन्त्रमन्त्रका ज्ञाता, शारीरिक क्रियाका चमत्कारी प्रभु, यो मसाने आत्माको स्तुतिदेखि खुशी हुनुहोस् र दर्शन दिनुहोस् । मेरो चित्त एकदम अशान्त भएको छ, त्यसको निक्र्यौल गरिदिनु होस् ।” त्यो चकमन्न रातमा बागमती सुस्तरी र कनकनी बगेको आवाज आउँथ्यो । घाटबाट आउने धुवाँमा शवगन्ध अझै हराइसकेको थिएन । बागमतीबाट बगेको चिसोचिसो हावामा पनि मानवभष्म र ढल मिसिएर गन्हाउँथ्यो । आर्यघाट पारि वनकालीमा राँके भूत हिँडेको जस्तो लाग्थ्यो । पशुपति परिसरमा सबै सुतेका थिए । सायद भगवान् पशुपति पनि घोर निद्रामा थिए होलान् । पशुपतिका वृद्धाश्रमबाट वृद्धहरूले खोकेका आवाज भने सुनिन्थ्यो । सारमा निरव थियो वातावरण । उसको स्तुति सुनेर पशुपतिको आर्यघाटे ढुङ्गा हल्लिन थाल्यो र त्यहाँ मनुष्याकारमा मृत्युका देवता प्रकट भए । उनका आँखा गाँजा सेवनका कारणले गर्दा राता राता देखिन्थे । शवभष्म शरीरभरि दलेका थिए । अद्र्ध नाङ्गै थिए । गलामा मानव टाउकोको माला लगाएका थिए । हातमा मद्यपात्र बोकेका थिए । उनीसँग एक सुकन्या पनि थिइन् । सुकन्याले कालो मिनी स्कर्ट लगाएकी थिइन् । भष्म लेपन गरेकी थिइन् । भष्मभित्र पनि उनको बैँस मुखरित भएको देखिन्थ्यो । मृत्युको देवताले उसलाई सोधे “तिमी को हौ ?, यस्तो चकमन्न रातमा मसानको राज्यसत्ता भएको बेला किन यहाँ आयौ ? किन मेरो आराधना गर्यौ ? यो मसानघारीमा म तिमीलाई के सेवा गर्न सक्छु ?” उसले डराइ डराइ भन्यो “हे महाप्रभु ! म मानिसको आत्मा …….।” लासाधिपतिले भने “म महाप्रभु होइन । म नेपाल मण्डलको लासाधिपति तथा मृत्युको देवता हुँ । मलाई थाहा छ, तिमी मानिसको आत्मा हौ । मसानको शक्ति हौ । त्रिकालदर्शी हौ । कथित सर्व विषय विज्ञ हौ । किनभने तिमीले आफ्नो शरीरमा शक्तिशाली मसान साधेर त्यसैको बुइ चढी यहाँ आएका हौ । तिमीसँग ज्ञान भए पनि नभए पनि भूत, वर्तमान, भविष्यका बारेमा जान्ने कहलिएका छौ । तिमीसँग दुरदर्शन यन्त्र छ । त्यसमा क्यामरा जडान गरिएको छ । त्यसले अडियो भिजुअल बनाउन सक्छ । तिमी भित्रको त्यो मसानी आत्मा नेपालमण्डलको मरेको पत्रकारको हो । अब अरू कुरातिर नअल्मलिइ खाँटी कुरातिर नै प्रवेश गर ।” उसको हातमा अगरबत्ती बलि नै रहेको थियो । यही मौका छोपेर उसले सोध्यो “स्वर्गका राजा ईन्द्रले मलाई ‘नेपाल मण्डलमा अन्यायले बास गर्यो, त्यसको अवस्था ज्ञात गराऊ’ भनेर यता पठाएका हुन् । यहाँ आएर त म देख्दै छु कि मानिसभन्दा लास धेरै रहेछन् । कोही बाँच्दा बाँच्दै पनि लास भएका रहेछन् । लासका भोका मानिसहरू धेरै रहेछन् । यसको कारण के हो लासाधिपति ?” लासाधिपति गलल हाँसे । उनको त्यो हाँसो बनकालीभरि फैलियो । उनको त्यो अट्टहास सुनेर त्यो क्षेत्रका ढुङ्गाभित्र लुकेका लासभक्षक देवीदेवताहरू टुप्लुक्क आइपुगे । यसपछि लासाधिपति बोले “त्यो ईन्द्रलाई पनि कति कुरा चाहिन्छ । स्वर्ग उसैलाई दिएको छ । कल्पवृक्ष उसैसँग छ । जिउँदाजाग्दा सुन्दरी अप्सरा उसैसँग छन् । मानव आत्मा उडेर उहीँ पुग्छ । आत्माबिनाको लासको पनि किन हिसाब चाहिएको होला त्यो ईन्द्रेलाई ?” उसले भन्यो, “जनि गर्नु होस हे लासाधिपति ! फेरि मैले इन्द्रको काम फत्ते पारिनँ भने स्वर्गमा पनि बस्न पाउन्न, मत्र्यमण्डललाई छोडिसकेँ । न ओल्लो घाट हुन्छु न पल्लो तिर । बिल्लिबाठ हुन्छ मेरो । कृपा गरी लाससत्ताको गोप्य कुरा मलाई बताइदिनुहोस् ।” लासाधिपतिका आसन अगाडि लासभक्षक देवीदेवता लासको याचक जस्तै भएर भुइँमा टुक्रुक्क बसे । ऊ आफ्नो यन्त्र यताउता घुमाउन थाल्यो । यसपछि लासाधिपतिले उसलाई भने “हे मसाने मनुष्य ! मलाई थाहा छ, अब तिमीलाई एउटा अन्तर्वार्ता चाहिएको छ । युट्युबमा भाइरल हुने मन छ तिमीलाई । अरू भौतिक/अभौतिक, नैतिक/अनैतिक कुनै कुराको फिकर छैन । तिमीलाई उट्पट्याङ निउज बनाएर भए पनि भिउज चाहिएको छ । गन्दा भए पनि धन्दा चलाउनु छ । ल सोध, के सोध्नु छ ?” ऊ सोध्न थाल्यो “नेपाल मण्डलमा त मानिसको होइन, लासको हालीमुहाली भएछ । यसको कारण के होला प्रभु ?” लासाधिपतिले उत्तर दिन थाले “हे मसाने मनुष्य ! तिमी पहिले शास्त्रको ज्ञान हासिल गर । श्वेताम्वर उपनिषदको अध्ययन गर । त्यहाँ शिवको रूप हेर । शवभक्षक शिव पाउँछौ । अनि बल्ल थाहा पाउँछौ यो संसारमा किन लासको हालीमुहाली छ भनेर । मानिस आफैँ पनि सास फेर्दै गरेको लास त हो । लासैलास भएपछि शासन चलाउन पनि त लासाधिपति नै चाहियो नि ! होइन र ?” उसले नडराइकन सोध्यो “हे लासाधिपति ! हजुरको आँतबाट विदेशी विदेशी गन्ध आयो । यो कुरा साँचो हो कि होइन ?” लासाधिपति गम्भीर देखिए र उत्तर दिन थाले “मरिजाने जिन्दगीमा के स्वदेशी ? के विदेशी ? के परछिमेकी ? महाप्रभुको कृपा हो यो संसार । तिमी पत्रुकार किन गन्ध सुँघेर हिँड्छौ ? सक्छौ भने मानिसलाई गुमराहमा नराखी हाकाहाकी सत्य कुरा लेख न !” उसले फेरि परम्परिक प्रश्न सोध्यो “नेपाल मण्डल त शान्ति प्रिय देश, बुद्धको देश हो । किन यस्तो अशान्ति भयो ?” लासाधिपतिले भने “त्यो नेपालको आन्तरिक समस्या हो । फेरि बुद्धलाई एउटा देशको भनेर साँघुर्याउने कुरा गर्न कहाँ मिल्छ ?” उसले प्रश्न सोध्यो “हे लासाधिपति महाराज ! हजुर पञ्चमकारको साधक हुनुहुन्छ भन्ने चर्चा नेपाल मण्डलभरि छ । नेपाल मण्डलमा मात्र होइन, स्वर्गमा पनि यो कुराको चर्चा छ । के यो सत्य हो ?” लासाधिपतिले छालाको मद्यपात्रबाट मदिरापानी पिए । आङ ताने अनि भने “यो पृथ्वीमा नेपाल मण्डलजस्तो पञ्चमकारको लागि उपयुक्त ठाउँ अन्यत्र छैन । मद्य अर्थात् मदिरा, मांस, मत्स्य, मुद्रा र मैथुनको साधना गर्नु पञ्चमकार हो । पञ्चमकारको साधना गर्नु भनेको भगवान् शिवमा एकाकार हुनु हो । यस्तो पवित्र कार्य गर्न ठुलो साधना चाहिन्छ । लरतरो मानिसले पञ्चमकारको साधना गर्न कहाँ सक्छ र ? त्यसैले तिमीले सुनेको कुरा सत्य हुन् ।” उसले फेरि प्रश्न गर्यो, “हे लासाधिपति ! नेपाल मण्डल त भौगोलिक रूपले सानो देश हो । यहाँ पञ्चमकारका तत्वहरूको सहज आपूर्ति हुन सक्छ र ?” यो पल्ट लासाधिपति मुसुक्क हाँसे । सँगै रहेकी सुन्दरीलाई अँगाले अनि भने “नेपालमण्डलमा घरैघरमा उत्पादनालय भएपछि मदिराको दुःख हुने सम्भावना नै छैन । हामीलाई चाहिने मावनशव पनि यही भूगोलको उपयुक्त छ । किनकि एकातिर नेपालीहरू मर्नका लागि काल पर्खँदैनन्, अर्कोतिर शीत, समशीतोष्ण तथा उष्ण जलबायु खेपेका जब्बर मानवशव पनि यही नेपाल मण्डलमा त छ । सजिलो छ कि यो मण्डलका मानिसहरू जानी जानी अकालमै आफैँ मर्छन् । नरशवका अगाडि मत्स्य त्यति गतिलो मानिँदैन । त्यसै पनि नेपालमण्डलमा ताजा मत्स्यभन्दा बरफमा हालेर ल्याएका र कुहेका मत्स्यको नै महत्त्व छ । मुद्रा भनेको अन्नपात हो । हिमालयदेखि समथलसम्म जग्गाजिमिन भएको कृषिप्रधान देश नेपाल मण्डलमा मुद्रा अर्थात् अन्नको कमी हुने सम्भावना नै होइन । तर विगत केही वर्षदेखि भदखोस लागेर होला कृषक कृषिकारी गर्न छोडेर कतारमा पुगी भेडा चराउन थाले । ऊँटको लादी साहोर्न थाले । त्यसपछि भने मुद्रा कम हुन थालेको छ । तर के फिकर भयो र ? यो संसार नै एउटा गाउँ भएपछि मुद्रा छिमेकीबाट आइहाल्छ । यसले पनि हामीलाई कुनै फरक पर्दैन । अब कुरा रह्यो मैथुनको । नेपाल मण्डल पहिलेदेखि ने मैथुनका लागि प्रख्यात छ । महादेवले भेष बदली बदली पार्टनर फेरिफेरि मैथुन गर्थे । वर्तमानमा पनि भारतको विभिन्न शहरदेखि खाडी मुलुकसम्म नेपाली मैथुनमा प्रयुक्त छन् भने नेपालमै खाँचो हुने कुरा भएन । त्यसै पनि मैथुन जीवनको महत्त्वपूर्ण पाटो हो । वाल ब्रह्मचारी शंकराचार्यले पनि मृत राजाको शरीरमा प्रवेश गरी रानीहरूसँग सम्भोग गरी मैथुन ज्ञान पाएका थिए । हामीलाई मैथुनको पनि खाँचो छैन । जिउँदी महिलालाई हामी महिनाबारी भएको बेलामा सम्भोग गर्छौँ । महिलाका शवमा पनि हामी मैथुन क्रिया गछौँ । आपूर्ति एकदम सहज छ । यसमा तिमीलाई के को आपत्ति र ?” यसै बिच लासाधिपतिसँग रहेकी महिला बोलिन् “लासाधिपति ! यहाँनेर मेरो चित्त दुखाइ छ । महिला शवमा त पुरुषले मैथुन गर्न सहज छ । तर पुरुष शवमा महिलाले कसरी सम्भोग गर्ने ? फेरि पुरुषको त महिनावारी पनि हुन्न, अनि हामी श्वेताम्वर महिलाले आफ्नो इच्छाले कति बेला सम्भोग गर्ने ? हामी महिलाले महिनावारी भएको छ भन्न पनि नपाउने, मरेपछि लास भएकी छु पनि भन्न नपाउने पुरुषले सम्भोग गर्ने अनि महिलाले चाहिँ आफ्ना आवश्यकतामा सम्भोग गर्नु पर्दैन ? कि मैथुन भन्नु पुरुषको लागि मात्र हो ? प्रकृतिले के यस्तै नियम बनाएको छ र ? मृत्यु जस्तो परमसत्यमा पनि किन यो विभेद, अन्याय, अत्याचार ?” महाप्रभु लासाधिपतिसँग यो कुराको कुनै जबाफ थिएन । त्यसैले उनले ती महिलालाई अलि रिसाएको अन्दाजमा कानैमा भने “तिमीलाई पनि यही बेला प्रश्न उठाउनु पर्छ ? यसका बारेमा सोच्दै गरौँला ।” लासाधिपतिको रौद्र रूप देखेपछि महिला चुप लागिन् । आर्यघाट पारिपट्टि कल्याङ मल्याङ शुरु भयो । चराहरू चिरबिर गर्न थाले । मानव पदचाप सुनिन थाल्यो । उसले घडी हेर्यो । बिहानको तीन बजेको छ । अब यसपछि त पशुपतिका दर्शनमा मानिसहरू आइहाल्छन् । त्यसैले अन्तर्वाताको काम सकिहाल्नु छ । यत्तिकैमा घाटपारिबाट लासभक्षक देवता कराए “लासाधिपति ! केही दिनदेखि यो आर्यघाटमा आएका असल लासलाई हजुरले एकलौटी पार्नाले हामी लासयाचक देवतालाई लासको कमी भयो । लास वितरणको समानुपातिक व्यवस्था गरियोस् ।” यो कुरा सुनेर अन्तर्वार्ता कै बिचमा ठूलो स्वरले लासाधिपति चिच्याए, “ए लासको ठेकेदार, तिमीहरूलाई थाहा छैन ! आर्यघाटमा सधैँ लास प्राप्त हुनुपर्छ भन्ने कुरा । आर्यघाटका वरिपरि लासभक्षण गर्ने देवता बसेका छन् । ती रिसाए भने नेपालमण्डलमा अनिष्ट हुन्छ । लास नआएको दिनमा कुशलाई दागबत्ती दिने त चलन छ, तर मैले के खाने ? लासभक्षक देवतालाई के खुवाउने ? कुशको धुवाँ ? तिमीहरू कर्तव्यच्यूत हुँदै गएका छौ । लासलाई नियमित आपूर्ति गर्न सकेनौ भने म ठेकेदार फेरि दिन्छु । नत्र म कतिन्जेल भोकै बस्ने ? यी लासभक्षक देवीदेवतालाई कति दिन भोकै राख्ने हँ ?” ठेकेदारलाई हकारेपछि लासाधिपति अलि शान्त देखिए । थोरै मद्य पिए । अनि उसलाई भने, “तिम्रो प्रश्न सकियो कि छ ?, छ भने छिटो सोधिहाल ।” उसले हतार हतार नरम प्रश्न सोध्यो “हे लासाधिपति ! नेपाल मण्डलमा हजुरको दिनचर्या कसरी बित्छ ? लासाधिपतिले अलि शान्त हुँदै उत्तर दिए “नेपालमण्डलमा सहयोग स्वरूप मलाई लासाधिपति नियुक्त गरेका हुन् । ममाथि पनि कोही छ । कोही भनेको महाप्रभु हो । महाप्रभुको आदेशको तामेली गर्नु पर्छ मैले । त्यसैले गरिएको व्यवस्थाअनुसार म दिनभर पशुपतिको साँढेसँग जिस्किएर बस्छु । रतिमैथुनका लागि यी सुन्दरी पनि छिन् । रातिको लागि त्रयम्बेकेश्वर मन्दिरको क्वार्टरमा जान्छु । खान्गीका लागि मानव शवको व्यवस्था छ । मानव शवमा मेरो एकाधिकार छ । यही व्यवस्था मिलाउन प्रशासन चलाउँदा चलाउँदै दिनचर्या बितिहाल्छ नि ।” आर्यघाटको पारिपट्बिाट एक हुल जिउँदा मानिस आए । यो देखेर लासाधिपतिले ठेकेदारलाई कराए, “को हुन् तिनी ? किन जिउँदै मसमक्ष आएका हुन् ?” कोही बोलेकै थिएन । त्यसै हुल मध्येको एक जनाले अर्जी गर्यो, “हे लासाधिपति ! हामी पीडित नेपाली जनता हौँ । हाम्रा छोराछोरीको लासको मुआब्जा बुझ्न आएका हौँ । पर्खेर बसेका छौँ । पर्खिँदा पर्खिँदै कतिपय सगल्तो मान्छे लास भइसके । तर पनि हामीले लासको मुआब्जा पाएका छैनौँ । सोही लिनका लागि पर्खिन पनि छोडेका छैनौँ । सो रकम पाए नुनतेलको व्यवस्था गर्दा हौँ प्रभु ! गुजारा चलाउँदा हौँ । दसैँ मान्दा हौँ ।” लासाधिपतिको अनुहार एकाएक क्रुद्ध बन्यो । अनि ठेकेदारतिर फर्केर भने, “त्यति जाबो मुआब्जा पनि दिन सकेनौ ? कि त्यो पनि महाप्रभुसँग भनेर निकासा गराउनु पर्यो मैले ? तिमीहरू नालायक भयौ । अब तिमीहरूलाई दिएको नेपाल मण्डलको सत्ता पल्टाएर अर्कै भक्त ठेकेदारलाई दिन्छु । जुन पार्टीलाई ठेकेदार बनाउँदा पनि उस्तै हुन्छ । व्यवस्था टिक्न नसक्ने के यस्तो रोग लागेको हो यो नेपाल मण्डलमा !” यसपछि लासाधिपतिले ऊतिर फर्केर भने, “छिटो प्रश्न सोधि हाल । जरुरी काम पर्ला जस्तो छ । महाप्रभुलाई यो सबै कुराको बिफिङ गर्न जानु पर्ने पनि हुन सक्छ ।” उसले हतार हतार सोध्यो, “हे लासाधिपति ! हजुरको यो लास व्यवस्थापन प्रशासनमा कति तह छ ?” लासाधिपति हतारमा थिए सायद । अनि हतार हतार भने “मेरा वरिपरि लाउके छन् । ठेकेदार छन् । लास बोक्ने मजदुर छन् । यसबाहेक पनि अनेकन तह छ ।” “जति तह भए पनि आर्यघाटमा लासको पर्याप्त पूर्ति हुन सकेको छैन ।”, लासाधिपतिको लाउके तत्काल बोल्यो । यो सुनेर लासाधिपति नै उग्र रिसाएर बोले, “कस्तो नामर्द रहेछ त्यो ठेकेदार ! लासको अभाव हुने भो भन्छ । अरे नामर्द ठेकेदार, लासको कसरी अभाव हुन सक्छ ?” लासाधिपतिको सूचना अधिकारीले डराइ डराइ भने, “विज्ञानले औषधी बनायो र आयु लामो पारिदियो । मानिसले बच्चा कम उत्पादन गर्न थाले । फेरि नेपाल मण्डलमा ज्ञानका कारणले चारैतिर शान्ति देखिने लक्षण छ । राजनीतिक व्यवस्थाले मेलो लेला जस्तो छ । त्यसैले लासको समस्या पर्ने कुरा अनुसन्धानले देखाएको हो प्रभु ।” लासाधिपति औधी रिसाए । र, भने, “थुइक्क तिमीहरूको बुद्धि ? न तिगडम जानेका छौ, न कुटनीति आउँछ ? सबैभन्दा सजिलै लास पाइने ठाउँ नै नेपाल मण्डल हो । यदि लासको समस्या पर्यो भने हिन्दु मन्दिरमा गाई काट्ने पर्चा बाँडिदेऊ । मुसलमानको मस्जिदमा सुँगुर काट्ने पर्चा बाँडिदेऊ । मतवालीले तागाधारीको तागा चुँडालि दिने भनेर प्रचार प्रसार गर । एउटा एउटा इस्यु निकालेर सिंह दरबारमा आगो लगाइ दिनु पर्छ मात्र भन । गर्नु तिमीहरूले केही पर्दैन । ती आफेँ आगो लगाउँछन्, लड्छन् र लास बन्छन् । लासलाई बोकेर घाटमा ल्याऊ । अनि कसरी लासको हाहाकार हुन्छ त ?” ऊ ट्वाँ परेर बागमतीको बगेको बगर हेर्न थाल्यो । क्यामरा सुम्सुम्याउन थाल्यो । सूचना अधिकारी फेरि भन्न थाले, “हे लासाधिपति प्रभु ! लास बोक्ने मजदुरको पनि अभाव होला जस्तो छ ।” लासाधिपति कुर्लिए, “होइन के भन्छौ तिमीहरू ? हाम्रा महाप्रभुले भर्ना गरेका त्यत्रा सेना, पुलिस, युवा जेनेरेसनका महिलापुरुष, एनजीओका कारिन्दा कता गए त !” मजुदुरहरू एकै स्वरमा कराए, “हामी यतै छौँ प्रभु । हामीलाई पहिले पनि बोलकबोल गरेअनुसारको दरमाहा दिइएको छैन । दरमाहा दिइँदा पनि घुस ख्वाउनु पर्छ । कमिसन कटाएर मात्र दरमाहा दिइन्छ । दिइने गरेको दरमाहा पनि निकै कम छ । त्यति थोरै दरमाहामा अब हामी उपद्रब गरेर लास बोक्न सक्दैनौँ ।” लासाधिपतिले एक छिन मौनता साँधे । त्यसै बेला भिडबाट आवाज आयो, “जुलुसमा हिँडाउँदा कबुल गरेको दरमाहा पनि पाएका छैनौँ । बम पडकाएको पनि दरमाहा पाएका छैनौँ । यसरी कसरी लास बनाउन र ढुवानी गर्न सकिन्छ र महाप्रभु ?” यत्तिकैमा रगतमा लतपतिएका एक हुल युवतीहरू अगाडि आएर भने, “लासाधिपति ! हामीलाई हजुरका यी मजदुरहरूले दरमाहा दिन्छौँ भन्दै पटक पटक बलात्कार गरे । हुलमुल हो भन्दै बन्दुक देखाएर बलात्कार गरे । तर एकै पैसा नदिई तर्साएर हिँडे । हामीमाथि न्याय हुनु पर्यो प्रभु ।” लासाधिपतिले आर्थिक विभागमा तत्काल फोन गरेर भने, “लास व्यवस्थापक तथा लास ढुवानी गर्ने मजदुरको दरमाहा किन रोकिएको हो ? मजदुरको दरमाहा प्रति लासका हिसाबले अलि बढाइ देऊ । यी बलात्कारमा परेका नानीहरूको दरमाहा पनि आजै निकासा गरिदेऊ । लासको मुआब्जा बुझ्न आएका तिनका मातापिता तथा आफन्तलाई पनि तत्काल पैसा देऊ । किन ढिलासुस्ती ?” अर्थविभाग प्रमुखले फोनमै भनेको सुनियो, “हे लासाधिपति ! यसैगरी मुआब्जा तथा दरमाहा रोकेर राख्यो भने मात्र लास आपूर्तिमा सहज हुन्छ ।” तर आर्यघाटमा अन्याय भएकाको भिड बढ्न थाल्यो । लासाधिपतिले कुरा बुझे । हेलिकोप्टर मगाएर अलप हुने छाँट ल्याए । हतार हतार उसले प्रश्न सोध्यो, “हे लासाधिपति ! अब अन्तिममा एउटा प्रश्न, हजुरका पनि महाप्रभु कहाँ बस्छन् ?” लासाधिपतिले पनि हतार हतार उत्तर दिए, “दिल्ली, अमेरिका, पेरिस, चिन जहाँ पनि बस्न सक्छन् । ती अदृश्य रूपले बसाइको ठाउँ फेर्न सक्छन् ।” ऊ अझै प्रश्न गर्न खोज्दै थियो, भिड देखेर लासाधिपति तथा लासभक्षक देवता मानवाकृतिबाट अलप भएर पत्थरमा रूपान्तरण भए । हेर्दाहेर्दै देशमा आगो लाग्यो । लासहरू आर्यघाटमा लाम लागे । त्यसपछि लासको कहिल्यै हाहाकार भएन । उसले यो विभत्स दृश्यलाई कैद गर्यो र पत्रकारका अड्डालाई बेच्यो । र, आफू भने ईन्द्रलाई खुशी पार्ने विश्वासका साथ समाचारको पोकोपन्तुरो बोकेर स्वर्गतिर लाग्यो ।