कविता : म एक आमा हुँ - sahityapost.com
म एक आमा हुँ ।मेरा छोराछोरीको म डाक्टर पनिमेरा छोराछोरीको म मास्टर पनि ।किताब मात्र होइन, संस्कार पढाउने म हुँअक्षर मात्र होइन, आचरण चिनाउने म हुँ । म एक आमा हुँतालिम खासै लिनुपर्दैन मलाईमैले छोराछोरीलाई धेरै माथि उडाउन सक्छु ।डिग्री नै गर्नुपर्दैन मलाईम मेरा छोराछोरीलाई जीवनको परिभाषा पढाउन सक्छु । मेरो भान्छामा पाक्ने खानामेरा छोराछोरीका लागि सबैभन्दा उत्कृष्ट परिकार ।म पहिलो पाठशाला, म मेरा छोराछोरीको,र म नै उनीहरूको पहिलो शिक्षक । छोराछोरीलाई काखमा सुताउँदैमीठा–मीठा गीत गाउने म गायिका पनि ।जीवनको कथामा अभिनय गर्ने र नाच्ने ममेरा छोराछोरीका लागि नायिका पनि । म एक आमा हुँतोते बोलीमै शब्दका नालीबेली सिकाउनेपहिलो ‘स्पिच थेरापिस्ट’ नै म ।कपाल छाँटेर, काटेर र बाटेर सुन्दर बनाउनेपहिलो ‘हेयर स्टाइलिस्ट’ नै म ।लुगा मिलाएर लगाउन सिकाउनेपहिलो ‘फ्यासन डिजाइनर’ नै म ।जीवनका साना–ठूला हिसाब सिकाउनेपहिलो ‘फाइनान्सियल एडभाइजर’ नै म । म एक आमा हुँछोराछोरी मात्र होइन, घर पनि चिरिच्याट्ट पार्ने मघरको ‘क्लिनर’ पनि ।जीवनका अप्ठ्यारा पाठ र भोगाइ सिकाउने म‘कोच’ र ‘ट्रेनर’ पनि ।मेरा छोराछोरीको जग बलियो बनाउने मइन्जिनियर पनि ।लाइसेन्स मलाई चाहिँदैनजीवनको गाडी कुदाउने म उनीहरूको ड्राइभर पनि । भुलचुकमा माफी दिने र कहिलेकाहीँ दण्ड दिनेम न्याय पनि हुँ ।कसैले पढ्न नसक्ने, कसैले लेख्न नसक्नेखै, “म आमा” आफैँमा एउटा अध्याय पनि हुँ ।छोराछोरी मात्र होइन,म घरलाई बाँधिराख्ने एउटा मजबुत डोरी हुँ ।सबैलाई माया बाँड्ने मएक आमा हुँ, बुहारी हुँ, र म कसैकी छोरी हुँ । कति धेरै हतार, भागाभाग र दौडधुप मलाईसबैलाई कता–कता कुदाउँछु म ।व्यस्त पनि कति धेरै बरैघामभन्दा पहिले उठ्छु र जून सुतिसकेपछि निदाउँछु म । सबैलाई सबैथोक दिएरसारालाई ठाउँमा पुर्याएर अघि बढाउनेमेरो मनमा मायै–मायाको खानी छ ।चाहिँदैन मलाई कुनै ओहोदा वा नामपर्दा पछाडि रमाउने मेरो पुरानो बानी छ । यति धेरै सम्बन्ध र जिम्मेवारीका टोपी मेरातर अफसोस, पेसा मेरो भइदियो “हाउसवाइफ” मात्र ।म “हाउसवाइफ” ले एकछिन बिदा लिने हो भनेकिन पर्छ होला सारा ‘हाउस’ छिनमै अलपत्र ? सिफ्टका सिफ्ट, ड्युटीका ड्युटी मेरोन कहिल्यै बिदा, न छुट्टी, न कहिल्यै ब्रेक मलाई।पैसाले मात्र मेरो धैर्य र परिश्रम साट्न सके तघरभरिमा सबैभन्दा धेरै हुन्थ्यो होला मेरो कमाइ !