बहुविवाह सम्बन्धी कानुन नल्याउन सरकारलाई ताप्लेजुङका महिलाको ध्यानाकर्षण - nagariknews.nagariknetwork.com
निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने गरी सरकारले कानुन ल्याउन लागेको भन्दै त्यसको विरोधमा ताप्लेजुङका महिलाहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष तथा पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङको नेतृत्वमा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ सहितका महिला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । अनेमसंघ ताप्लेजुङका अध्यक्ष गुरुङले पितृसत्तात्मक उत्पीडनबाट महिलाहरुले लामो समयदेखि संघर्ष गर्दै आउनु परेको बिषम परिस्थतिमा सरकारले बहुविवाहलाई वैधानिकता दिने गरी ल्याउन लागेको कानुन सर्वत्र निन्दनीय रहेको दाबी गरिन् । पितृसत्तात्मक संरचनाका कारण महिलाहरु शक्ति,सत्ता र सम्पत्तिको अधिकारबाट बञ्चित रहेको अवस्थामा फेरि महिलामाथि विभेद हुनेगरी ल्याउन लागेको कानुन अविलम्ब फिर्ता लिन सरकारको अनेमसंघले ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गरेको छ । नेपाल महिला संघ ताप्लेजुङले पनि मंगलबारै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै बहुविवाह गर्न पाउने गरी सरकारले कानुन ल्याउन लागेको कानुन तुरुन्त फिर्ता गर्न माग गरेको छ । महिला संघ ताप्लेजुङका सचिव अञ्जना कडरियाले बहुविवाह र नाजायज सम्वन्धलाई कानुनी मान्यता दिनेगरी सरकारले ल्याएको कानुनी प्रवन्ध आम महिला हित विरोधी रहेकोले ज्ञापनपत्रमार्फत सरकारलाई उक्त प्रावधान फिर्ता लिन आग्रह गरिएको बताइन् । यस्ता कानुनले महिलाहरुको समानता, स्वतन्त्रता र कानुनी अधिकारको ठाडो उल्लंघन गरेको अनेमसंघ र महिलासंघले दावी गरेका छन् ।