Redirecting...

कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले एक लाख पाउने - ehimalayatimes.com

कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले एक लाख पाउने - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा कर्णाली याक्सले जित्ने प्रत्येक खेलबापत कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतका अनुसार टोलीका सह–प्रायोजक एसियन प्रिन्टसले प्रदेशमा क्रिकेटको विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो घोषणा गरेको हो । यसअघि कर्णाली याक्स स्पोट्र्स प्रालिले प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रदेशका विभिन्न शहर, धार्मिक तथा पर्यटकीय स्थलमा ट्रफी टुर सम्पन्न गरेको थियो । मंगलबार सल्यानको कुपिण्डे ताल र खलंगा बजारबाट सुरु भएको ट्रफी टुर बुधबार सुर्खेतको काँक्रेविहार हुँदै वीरेन्द्रनगर पुगेको थियो । बिहीबार प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा ट्रफी पूजापछि त्यसलाई सुदूरपश्चिम पठाइएको हो । बुधबार काँक्रेविहारमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गर्नुभएको थियो । कर्णाली याक्सले दोस्रो सिजनका लागि प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले यसपटक पनि सोमपाल कामी, गुल्सनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई निरन्तरता दिएको छ । टोलीले मिनी अक्सनमार्फत् पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको छ । कर्णालीले यस सिजनका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । अष्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दै टोलीले मार्क वाट र म्याक्स ओ’डाउडलाई नयाँ खेलाडीका रूपमा भिœयाएको हो । वाट र ओ’डाउड पहिलोपटक एनपिएल खेल्दै हुनुहुन्छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ देखि २७ गतेसम्म हुने एनपिएलको दोस्रो सिजनमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो सिजनमा जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो भने सुदूरपश्चिम रोयल्स उपविजेता भएको थियो । यसपटक कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले पनि उपाधि लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् ।