मादुरोलाई न्यूयोर्क पुर्याइएपछि भेनेजुएला अस्थायी रूपमा अमेरिकाले चलाउने ट्रम्पको घोषणा - bishwokhabar.com
काठमाडौं– भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क पुर्याएको छ । उनीहरूले आगामी साता म्यानह्याटनस्थित संघीय अदालतमा लागूऔषध तथा हतियार (नार्को–आतङ्कवाद) षड्यन्त्रसम्बन्धी अभियोग सामना गर्ने बताइएको छ । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अस्थायी रूपमा भेनेजुएला चलाउने र त्यहाँका विशाल तेल भण्डार आफ्नो नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने घोषणा गरेका छन् । ट्रम्पका अनुसार विवेकपूर्ण सत्ता हस्तान्तरण नहुँदासम्म भेनेजुएला अमेरिकाको प्रशासनिक जिम्मेवारीमा रहनेछ । ट्रम्पले अमेरिकाले भेनेजुएलाको तेल उद्योग पुनःसंरचना गर्न अमेरिकी कम्पनीहरू परिचालन गर्ने र सुरक्षाका लागि अमेरिकी सेना प्रयोग गरिने पनि बताएका छन् । यसैबीच, टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गर्दै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकालाई मादुरो तत्काल रिहा गर्न माग गरिन् । उनले मादुरोलाई भेनेजुएलाका एकमात्र वैध राष्ट्रपति भन्दै अमेरिकी कदमको कडा विरोध गरेकी छन् । यता, भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले विपक्षी उम्मेदवारले सत्ता सम्हाल्नुपर्ने बताएकी छन् । अमेरिकी कांग्रेसको औपचारिक स्वीकृतिबिना गरिएको यस सैन्य हस्तक्षेपको कानुनी आधार तत्काल स्पष्ट नभए पनि, ट्रम्प प्रशासनले यसलाई अमेरिकातर्फ हुने खतरनाक लागूऔषध तस्करी नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ । यस घटनाप्रति अमेरिका भित्र र बाहिर विभिन्न प्रतिक्रिया आएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाको राजधानी हवाना लक्षित गर्दै चेतावनीपूर्ण टिप्पणी गरेका छन् । सुरक्षा चिन्ताका कारण पुएर्टो रिको, भर्जिन टापुहरू, अरुबा तथा भेनेजुएलानजिकका केही गन्तव्यतर्फका उडानहरू रद्द गरिएको जनाइएको छ । मादुरो पक्राउ परेपछि दक्षिण फ्लोरिडामा उत्सव मनाइएको छ भने भेनेजुएलाको राजधानी काराकासमा चिन्ता र अनिश्चितता बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।