स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि एलाइन्स निर्माण अपरिहार्य : देउखुरीमा प्रदेशस्तरीय छलफल - www.lumbinisanchar.com
लक्ष्मी पाेखरेल,देउखुरी । स्थानीय अर्थतन्त्रको दिगो विकासका लागि बहुपक्षीय एलाइन्स निर्माण अपरिहार्य रहेको निष्कर्षसहित देउखुरीमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश योजना आयोगको आयोजनामा तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा बुधबार होटल पौवा, भालुवाङमा आयोजित कार्यक्रममा “स्थानीय अर्थतन्त्रको विकासका लागि एलाइन्स निर्माणको आवश्यकता” विषयक अवधारणा पत्रमा केन्द्रित रहेर गहन छलफल गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय राजुप्रसाद श्रेष्ठ, डा. नहकुल केसी तथा लुम्बिनी युवा परिषद्का पूर्व उपाध्यक्ष गोविन्द केसीलगायत वक्ताहरूले स्थानीय स्रोत, सीप र क्षमताको अधिकतम उपयोग नगरी दिगो आर्थिक विकास सम्भव नहुने धारणा राखेका थिए । वक्ताहरूले प्रदेश सरकार, स्थानीय तह, शैक्षिक संस्था, निजी क्षेत्र र नागरिक समाजबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै बहुपक्षीय एलाइन्स निर्माणमा जोड दिए। उनीहरूका अनुसार अवधारणा पत्रले कृषि, पर्यटन, उद्यमशीलता, सीप विकास तथा प्रविधि हस्तान्तरणमार्फत् स्थानीय अर्थतन्त्र सुदृढ गर्ने स्पष्ट खाका प्रस्तुत गरेको छ । अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरूले अवधारणा पत्रलाई थप व्यवहारिक, परिणाममुखी र कार्यान्वयनयोग्य बनाउन आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले नीति निर्माणदेखि कार्यान्वयनसम्म साझा प्रयास र सहकार्यको आवश्यकता औँल्याउँदै स्थानीय अर्थतन्त्र सबल बनाउने दिशामा महत्वपूर्ण आधार तय गरेको निष्कर्ष निकालेको छ । कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका विज्ञहरू, सेवा प्रतिष्ठान नेपालका प्रतिनिधि, प्रदेश योजना आयोगका पदाधिकारी तथा विभिन्न निकायका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।