निर्वाचनको मिति नजिकिँदै गर्दा ‘राजनीतिक दुर्घटना’को चेतावनी - www.lumbinisanchar.com
दाङ । निर्वाचन नजिकिँदै गए पनि देशको राजनीतिक अवस्था अझै स्थिर नदेखिएको भन्दै नेपाली कम्युनिस्ट आन्दोलनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पार्टीमा नवप्रवेशी नेताहरूलाई स्वागत गर्ने क्रममा उनले वर्तमान राजनीतिक अन्योलले मुलुकलाई पुनः संकटतर्फ धकेल्न सक्ने संकेत गरे । उनका अनुसार चुनाव आफैं समाधान होइन, बरु त्यसअघि राजनीतिक शक्तिहरू कति संगठित र स्पष्ट छन् भन्ने कुराले देशको दिशा तय गर्नेछ । “चुनाव अगाडि छ, तर यो चुनावले के दिने हो भन्ने विषयमै अन्योल छ,” उनले भने, “यदि हामी एकताबद्ध भएर जनतामाझ गएनौँ भने देश फेरि अर्को दुर्घटनातर्फ जान सक्छ ।” उनको भनाइमा अहिलेको चुनौती चुनाव जित्ने मात्र नभई, राजनीतिक स्थिरता र भरोसा पुनःस्थापित गर्नु हो। त्यसका लागि पार्टीभित्रको एकता, स्पष्ट एजेन्डा र जनमुखी अभियान अपरिहार्य रहेको उनले बताए । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दाहालले व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर चुनावलाई राष्ट्रिय जिम्मेवारीका रूपमा लिन आग्रह गरे । उनले असंगठित राजनीति र दिशाहीन प्रतिस्पर्धाले विगतमा मुलुकले भोगेका संकटहरू दोहोरिन सक्ने चेतावनी पनि दिए । राजनीतिक दलहरू चुनावी तयारीमा जुटिरहेका बेला आएको यो अभिव्यक्तिलाई विश्लेषकहरूले सम्भावित अस्थिरताप्रति गरिएको पूर्वसूचना र पार्टीभित्र एकताको दबाबका रूपमा लिएका छन्।