‘पार्टी छाड’ भन्ने माधवलाई झलनाथले भने- भव्य नेता ठान्थे, तल्लो स्तरको चिन्तन रैछ - nagariknews.nagariknetwork.com
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालले आफूलाई पार्टी छाड्न दिएको अभिव्यक्तिको प्रतिवाद गरेका छन्।अध्यक्ष नेपालको भनाइलाई ‘पेटी बुर्जुवा (सानो चित्तको) चिन्तन’ र ‘तल्लो स्तरको अभिव्यक्ति’ को संज्ञा दिँदै खनालले पार्टीभित्रको वैचारिक संघर्षलाई व्यक्तिगत झगडाको रूप दिन खोजिएको आरोप लगाएका छन्।शुक्रबार अध्यक्ष नेपालले ‘पार्टीमा बस्ने नैतिक अधिकार गुमाइसकेकाले खनालले राजीनामा दिएर जानुपर्ने’ अभिव्यक्ति दिएपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।‘उहाँ (माधव नेपाल) ले मलाई पार्टी छाड्न आदेश दिनुभएछ, म सुनेर स्तब्ध भएँ,’ खनालले भने, ‘कुनै पार्टीको सदस्यलाई अध्यक्षले आदेश दिने बित्तिकै उसले छोड्छ ? यो कस्तो हैसियत ? ५० वर्षदेखि सँगै सहकार्य गरेको सहयोद्धाबाट यस्तो तल्लो स्तरको चिन्तन र अभिव्यक्ति आउला भन्ने मैले कहिल्यै अपेक्षा गरेको थिइनँ।’नेता खनालले आफू र अध्यक्ष नेपालबीचको विवाद व्यक्तिगत नभई वैचारिक र सैद्धान्तिक भएको स्पष्ट पारे। उनले चार वर्ष बितिसक्दा पनि पार्टीले एमालेबाट विद्रोह गर्नुको औचित्य स्थापित गर्न नसकेको र कार्यकर्तामाझ चरम निराशा छाएको बताए।‘हामीले दक्षिणपन्थी अवसरवादविरुद्ध लड्न क्रान्तिकारी पार्टी बनाउने भनेर विद्रोह गर्यौं। तर, चार वर्षमा नेतृत्वले दक्षिणपन्थी अवसरवाद के हो भनेर एउटा लेखसमेत लेख्न सकेन,’ खनालले नेतृत्वको आलोचना गर्दै भने, ‘विद्रोहको औचित्य पुष्टि हुन नसक्दा आज डेढ लाख कार्यकर्ता के बोकेर हिँड्ने भन्ने अवस्थामा छन्। मैले यही मनोभावनालाई पार्टीभित्र उठाएको हुँ।’उनले पार्टीलाई वैज्ञानिक समाजवादको बाटोमा हिँडाउनुपर्नेमा अध्यक्ष नेपाल अझै ‘बहुदलीय जनवाद’ मै अल्झिएको र महाधिवेशनबाट पारित दस्तावेजसमेत बंग्याएर प्रकाशित गरिएको गम्भीर आरोप लगाए।पार्टीभित्र देखिएका समस्याबारे सचिवालयदेखि स्थायी समितिसम्म पटक-पटक छलफलको माग गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो थियो। ‘समस्या छ भने पार्टीको बैठकमा छलफल गर्नुपर्छ, बहस गर्नुपर्छ। समस्याको समाधान खोज्नुपर्छ। तर, मिडियामार्फत एकतर्फी रूपमा आदेश दिनु कम्युनिस्ट पार्टीको पद्धति होइन,’ उनले भने।यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले एमाले विभाजन गलत भएको निष्कर्षमा पुगेको र एकीकृत समाजवादी गठनको औचित्य पुष्टि हुन नसकेको बताएपछि अध्यक्ष नेपाल आक्रोशित भएका थिए। सोही अभिव्यक्तिका कारण पार्टीभित्रको विवाद सतहमा आएको हो।