मध्यपश्चिमाञ्चल साहित्य परिषद्को १६औँ साधारणसभा सम्पन्न - sahityapost.com
काठमाडौं । मध्यपश्चिमाञ्चल साहित्य परिषद्को १६औँ साधारणसभा भक्तपुरको लोकन्थलीस्थित युनिक एकेडेमीको सभाकक्षमा सम्पन्न भएको छ। परिषद्को साधारणसभा शनिवार एक औपचारिक समारोहका बीच सम्पन्न गरिएको हो। कार्यक्रममा कवि श्यामल, परिषद्का पूर्व अध्यक्ष प्रा. जगत उपाध्याय ‘प्रेक्षित’, डा. मधुसूदन गिरी र प्रा. केशव सुवेदीले परिषद्को साहित्यिक गतिविधि अझ सशक्त र नियमित बनाउन सुझाव दिनुभएकाे थियाे । उहाँहरूले परिषद्को मुखपत्र ‘खसानी’ नियमित प्रकाशनमा ल्याउनुपर्नेमा विशेष जोड दिनुभएकाे थियाे । कार्यक्रममा कोषाध्यक्ष भूपेन्द्र मल्लले आर्थिक प्रतिवेदन र सचिव बलभद्र भारतीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । परिषद्का अध्यक्ष समीर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोहर लामिछानेले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । साधारणसभाले सदस्यता विस्तार, मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लामा शाखा विस्तार लगायतका प्रस्तावहरू पारित गर्दै संस्थागत सुदृढीकरणतर्फ ठोस कदम अगाडि बढाउने निर्णय गरेको छ। यस अवसरमा परिषद्का अध्यक्ष समीर शाहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहित्यतर्फ प्रदान गरेको प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि शुभकामना र बधाई समेत व्यक्त गरिएको थियो। तीन दशकदेखि सक्रिय परिषद्ले नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आएको छ। The post मध्यपश्चिमाञ्चल साहित्य परिषद्को १६औँ साधारणसभा सम्पन्न appeared first on साहित्यपोस्ट.