संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरू ओझेलमा परे : रामवरण यादव - www.pardafas.com
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरू ओझेलमा परेको बताएका छन् । शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सुन्दर मुलुक भएको बताउँदै उहाँले यहाँ स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरू लुकेको बताए । नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको पनि बताए । उनले आफ्नो जीवनकालमै चारकोषे झाडी, चुरे क्षेत्र मासिएको बताए । उनले यसले अहिले तराईमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गरे । जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै चुरेको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले भने ‘यो नेपाल सुन्दर मुलुक छ । धेरै स्विट्जरल्याण्ड हाम्रो देशमा छन् । तर यो देशको संरक्षण छैन । चारकोषे झाडी खत्तम मेरै जीवनमा भयो । जंगल बेचेर पञ्चहरूले पहिला पैसा कमाउँथे । रातारात चुरे दोहन भइरहेको छ । तराईका आठ जिल्लामा पिउने पानीको हाहाकार छ । पूर्वी तराईमा पानी पर्दैन । जंगल छैन । चुरे पहाड खनेर लगेको छ । चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने ? जलको भण्डार भनेकै चुरे हो । नैतिक आचरण हामीले निभाउनु पर्छ । यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ ।’ पूर्वराष्ट्रपति यादवले नेपालको संविधान धेरै राम्रो रहेको र यसलाई बचाएर लैजानुपर्ने बताए ।