बैंकका कर्मचारीमाथि भएको आक्रमणमा संलग्न सबैलाई कारबाही हुन्छः राष्ट्र बैंक - www.nepalclicks.com
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र कार्यरत कर्मचारीमाथि हुने गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।पछिल्लो समय विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढ्न थालेपछि केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप नै कर्जाको रूपमा प्रवाह गर्ने भएकाले ऋण नउठे निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकिने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने र तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ।’ कुनै प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकेको अवस्थामा राष्ट्र बैंकले समय–समयमा कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरणको सुविधा दिँदै आएको स्मरण गराउँदै बैंकले समस्या भए कानुनी बाटो खोज्न आग्रह गरेको छ।बैंकिङ कारोबारमा चित्त नबुझे सम्बन्धित संस्था वा राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ संयन्त्रमा उजुरी गर्न सकिने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ। वित्तीय संस्था र कर्मचारीविरुद्धका उच्छृङ्खल गतिविधि नरोकिए वित्तीय साधन परिचालनमा कठिनाइ हुने र सर्वसाधारणको वित्तीय सेवा पाउने अधिकार नै प्रभावित हुने राष्ट्र बैंकको ठहर छ। राष्ट्र बैंकले अराजक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई भने उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरेको छ। ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति चार बैंकिङ तथा वित्तीय संस्थाका संघहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त रूपमा घोर भर्त्सना गरेका थिए। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ति जारी गर्दै कर्जा असुलीको क्रममा भएको आक्रमणलाई ‘अमानवीय र आपराधिक’ कार्यको संज्ञा दिएका हुन्। विज्ञप्तिका अनुसार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको सदस्य संस्था ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’ का सञ्चालकहरूले बैंकका कर्मचारीमाथि आक्रमण गरेका हुन्। गत मंसिर २४ गते कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न भनी बैंकको बर्दिबास क्षेत्रीय कार्यालयका कर्मचारीहरूलाई बोलाइएको थियो। सो क्रममा एग्रो फर्मका सञ्चालक तथा उनका सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार तथा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका अगुवाहरूले स्थानीय प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। घटना घटेकै दिन सम्बन्धित निकायमा जानकारी गराउँदा पनि तत्काल सम्बोधन नभएको र विज्ञप्ति जारी गर्दासम्म पनि जाहेरी दर्ता नभएको भन्दै संघहरूले यसलाई ‘अत्यन्त खेदनीय’ र सुरक्षा निकायको ‘गम्भीर कमजोरी’ बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्नेमा, सूचना प्राप्त हुनासाथ अनुसन्धान अगाडि बढाउनुपर्नेमा जाहेरी दर्ता नहुनु दुखद् छ।’ बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताको बचत सुरक्षित गर्न र कर्जा असुली गर्न नियमित प्रक्रिया अपनाउँदा यस्ता अराजक गतिविधि हुनुले बैंकिङ सेवा प्रवाहमा चुनौती थपेको संघहरूको निष्कर्ष छ। ‘कानुनी प्रक्रिया हुँदाहुँदै कानुन हातमा लिई कर्मचारीहरूको ज्यानै लिने मनसायले गरिएको आक्रमणले समग्र बैंकिङ क्षेत्रलाई निरुत्साहित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ। चारवटै संगठनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन र कर्मचारीहरूको मनोबल उच्च राख्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, उनीहरूले यस्ता घटनाको सूचना प्राप्त हुनासाथ जाहेरी नआए पनि स्वतः अनुसन्धान अघि बढाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।