जेनजी आन्दोलनमा ३२० सरकारी संरचना क्षतिग्रस्त - nagariknews.nagariknetwork.com
जेनजी आन्दोलनका क्रममा हालसम्मको मूल्यांकन कुल तीन सय २० वटा सरकारी संरचनाका विभिन्न तहमा क्षतिग्रस्त भएको छ । देशभरका सरकारी तथा सार्वजनिक भवनहरूमा ठूलो मात्रामा क्षति पुगेको सहरी विकास मन्त्रालयले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने दुई सय ६९ संरचनामा क्षति पुगेको छ । तीमध्ये एक सय २५ संरचनामा सामान्य क्षति (हरियो स्टिकर), एक सय संरचनामा आंशिक क्षति (पहेँलो स्टिकर) तथा ४४ संरचनामा पूर्ण क्षति (रातो स्टिकर) देखिएको विभागले जनाएको छ । यस्तै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्री निवास, संसद् भवनलगायत ५१ संरचनामा क्षति पुगेको छ । यसमध्ये १५ संरचना हरियो, २९ पहेँलो र सात रातो स्टिकर वर्गीकरणमा परेका छन् ।दुवै निकायका विवरण समेट्दा आन्दोलनका क्रममा एक सय ४० संरचनामा सामान्य, एक सय २९ मा आंशिक र ५१ संरचनामा पूर्ण क्षति पुगेको पुष्टि भएको छ । संरचना पुनस्र्थापना तथा पुनर्निर्माणका लागि परामर्शदाता नियुक्त गरी विस्तृत मूल्यांकन भइरहेको मन्त्रालयले जनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सरकारी र सार्वजनिक संरचनाको पुनस्र्थापना तथा पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी छिटो काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।सहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘सरकारी तथा सार्वजनिक संरचनाको पुनस्र्थापना र पुनर्निर्माणमा तीन–चार वर्ष कुर्नु हुँदैन । छिटोभन्दा छिटो काम अघि बढाउनुपर्छ ।’