Redirecting...

एमाले विभाजनमा संलग्न नेताहरू दुई धारमा विभाजित भएका छन् : महासचिव पोखरेल - ehimalayatimes.com

एमाले विभाजनमा संलग्न नेताहरू दुई धारमा विभाजित भएका छन् : महासचिव पोखरेल - ehimalayatimes.com
Source: hmlt

काठमाडाै‌ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एकीकृत समाजवादीका नेताहरूले एमाले विभाजन गर्नु नै गल्ती थियो भन्ने आत्मस्वीकृति दिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “एमाले विभाजन गरेर विकल्प निर्माण गर्ने सोच राख्ने नेताहरू अहिले निराश र हतास देखिएका छन्। केही नेताहरूले पार्टी विभाजन गर्नु नै गलत निर्णय थियो भनेर खुलेर अभिव्यक्ति दिन थाल्नुभएको छ। अरूले भने अलग पार्टी चलाउन नसकिने महसुस गर्दै माओवादीसँग पार्टी एकताबारे छलफल गरिरहेका छन्।” पोखरेलका अनुसार, एमाले विभाजनमा संलग्न नेताहरू दुई धारमा विभाजित भएका छन्— एकथरीले गल्ती स्वीकार गर्दै पश्चाताप गरिरहेका छन् भने अर्काथरीले माओवादी केन्द्रसँग नजिकिँदै पार्टी एकताको प्रयास गरिरहेका छन्। यसअघि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि एमाले छाड्नु गल्ती भएको अभिव्यक्ति दिनुभएको थियो। उता, पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो समय बारम्बार भेटवार्ता हुँदै आएको र सम्भावित पार्टी एकताबारे छलफल चलिरहेको चर्चा समेत भइरहेको छ।