Redirecting...

‘पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु’ भन्दै प्रतिनिधिहरूसँग भोट माग्दै प्रदीप ज्ञवाली  - janatatimes.com

‘पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु’ भन्दै प्रतिनिधिहरूसँग भोट माग्दै प्रदीप ज्ञवाली  - janatatimes.com
Source: jant

काठमाडौं, पुस १ । संस्थापन पक्षले महासचिव पदमा नसमेटेपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिनुभएको छ। महाधिवेशनको मतदान स्थलमा पुग्नुभएका ज्ञवालीले महासचिव शंकर पोखरेलसँगै महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थाल्नुभएको छ । उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रतिनिधिहरूलाई सिङ्गो प्यानललाई मतदान गर्न आग्रह गर्नुभएको छ। पार्टीभित्र देखिएका मतभेद र असहमतिको चर्चा भइरहेका बेला ज्ञवालीको सक्रियता संस्थापन पक्षका लागि राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। उहाँको भूमिकालाई पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने प्रयासका रूपमा हेरिएको छ। प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टिभन्दा पार्टी हित ठुलो हुने स्पष्ट सन्देश दिनुभएको छ। ‘मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो,’ उहाँले भन्नुभएको छ, ‘पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु।’ महाधिवेशनको निर्णायक घडीमा ज्ञवालीजस्ता प्रभावशाली नेताको सक्रिय समर्थनले ओली नेतृत्वको प्यानलको प्रचार अभियानलाई थप ऊर्जा दिएको र संस्थापन पक्षको एकताको सन्देश अझ सशक्त बनेको देखिएको छ।