नैनसिंह महर : विरासतको निरन्तरता र सुधारको यात्राका प्रतिबद्ध युवा नेता - www.pardafas.com
डडेल्धुराको राजनीतिक इतिहास नेपाली लोकतन्त्रको इतिहाससँग अभिन्न रूपमा जोडिएको छ। २०४८ सालदेखि २०७९ सम्म भएका सातवटै संसदीय निर्वाचनमा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अपराजित रहँदै आएको यस क्षेत्रमा यसपटक नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसले युवा नेता नैनसिंह महरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। देउवाले चुनाव नलड्ने घोषणा गरेपछि पार्टीले विश्वास, निरन्तरता र सुधारको सन्देशसहित महरलाई अघि सारेको हो। यो उम्मेदवारी केवल व्यक्तिको मात्र होइन, विरासतको निरन्तरता र भविष्यको रूपान्तरणको अभियानका रूपमा हेरिएको छ। ‘गर्विलो इतिहास, भरपर्दो भविष्य’ र ‘सुधारको यात्रा, मेरो प्रतिबद्धता’ भन्ने नारासहित महर डडेल्धुरामा लोकतान्त्रिक परम्परा जोगाउँदै विकासको नयाँ अध्याय सुरु गर्ने लक्ष्यमा छन्। विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म नैनसिंह महरको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भएको हो। २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराको कार्यवाहक अध्यक्ष बनेका उनी २०५६ सालमा जिल्ला अध्यक्ष निर्वाचित भए। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा उनले संगठन विस्तार, शैक्षिक सुधार र युवाका हकहितका सवाललाई प्राथमिकतामा राखे। नेविसंघको जिल्ला अध्यक्ष रहँदा उनी २०५३ सालमा कान्तिपुर दैनिकका संवाददाता बने। त्यसपछि राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा २०५७ सालसम्म काम गर्दै सञ्चार क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरे। यसले उनलाई जनसरोकारका विषयमा गहिरो बुझाइ र अभिव्यक्ति क्षमता प्रदान गर्यो। २०५४ सालमा नेपाली कांग्रेस डडेल्धुराको प्रचारप्रसार विभागको उपप्रमुखको जिम्मेवारी सम्हालेका महर २०५७ मा चितवन महाधिवेशनबाट नेविसंघको केन्द्रीय सदस्य बने। केन्द्रीय सदस्यका रूपमा संगठन विभाग प्रमुख भएर काम गर्दै उनले राष्ट्रिय स्तरमा नेतृत्व क्षमता प्रदर्शन गरे। २०६४ मा नेविसंघको उपाध्यक्ष निर्वाचित भएका उनी २०७३ मा केन्द्रीय अध्यक्ष बने। पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हाले। कांग्रेसभित्र पार्टी सुधार, नीति स्पष्टता र संगठन सुदृढीकरणका मुद्दामा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। शैक्षिक योग्यता र बौद्धिक पहिचान भागेश्वर गाउँपालिकाको लामिकाण्डे गाउँमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका महरले संघर्षपूर्ण यात्राबाट उच्च शिक्षा हासिल गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर, दर्शनाचार्य (एमफील) तथा कानूनमा स्नातक (एलएलबी) गरेका उनी राजनीति अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन्। उनका पाँच वटा पुस्तक प्रकाशित छन्, जसले उनलाई केवल राजनीतिक कार्यकर्ता मात्र नभई बौद्धिक नेतृत्वको रूपमा पनि स्थापित गरेको छ। २०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदै उनले तीन महिना जेल जीवन बिताए। लोकतन्त्रप्रतिको समर्पणका कारण उनलाई दैविक प्रकोप उद्धार पदक (२०५६) र कन्स्ट्रक्टिभ स्टुडेन्ट लिडर अवार्ड २०१० (जीएनएससी, बेलायत) प्रदान गरिएको थियो। विरासतको संरक्षण, भविष्यको निर्माण डडेल्धुरा दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी, सहिद भीमदत्त पन्त र कांग्रेसका संस्थापक नेता एन.डी. प्रभाश चटौतजस्ता ऐतिहासिक व्यक्तित्वको भूमि हो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकास र लोकतन्त्रको जग मजबुत बनाएको यस क्षेत्रमा अब त्यो विरासत जोगाउँदै अगाडि बढ्ने जिम्मा महरको काँधमा आएको छ। उनी भन्छन्—’अग्रजहरूको आशिर्वाद, सहिदहरूको बलिदान र नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जालाई जोडेर डडेल्धुरालाई अवसरहरूको केन्द्र बनाउने मेरो प्रतिबद्धता छ।’ विकासको स्पष्ट खाका डडेल्धुरालाई सुदूरपश्चिमको शैक्षिक, पर्यटकीय र व्यापारिक केन्द्र बनाउने उनको स्पष्ट योजना छ। पश्चिम सेती र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण, डडेल्धुरा मेडिकल कलेजको पूर्ण सञ्चालन, विमानस्थल निर्माण, खानेपानी समस्याको दीर्घकालीन समाधान, अत्तरिया–डडेल्धुरा भिमदत्त राजमार्गलाई स्तरीय डबल लेन तथा फोर लेनमा विस्तार गर्ने, तथा जिल्लाभित्रका सडक सञ्जाल स्तरोन्नति गर्ने उनका प्रमुख एजेन्डा हुन्। भारतको टनकपुरसँग जोड्ने महाकाली नदीमा पक्की पुल निर्माण गरी अन्तरदेशीय व्यापार र पारवहन सहज बनाउने योजना पनि उनले अघि सारेका छन्। महाकाली करिडोर, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गजस्ता राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन उनले नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कृषि, रोजगार र आत्मनिर्भर अर्थतन्त्र डडेल्धुरालाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै तरकारी तथा फलफूल निर्यात गर्ने जिल्लाका रूपमा विकास गर्ने उनको लक्ष्य छ। जैविक कृषि प्रवर्द्धन, बहुउपयोगी शीत भण्डार निर्माण, कच्चा कृषि उत्पादनको प्रशोधन तथा ब्रान्डिङमार्फत किसानको आय वृद्धि गर्ने योजना उनले अघि सारेका छन्। युवा लक्षित उद्यमशीलता, स्टार्टअप र सिप विकास कार्यक्रममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने पहल गर्ने उनले बताएका छन्। पर्यटन र सांस्कृतिक प्रवर्द्धन अमरगढी, अजयमेरुकोट, उग्रतारा, परशुरामधाम, भागेश्वर, आलिताल, वोडाताल, गन्यापताल लगायतका धार्मिक, ऐतिहासिक र प्राकृतिक क्षेत्रको संरक्षण र पूर्वाधार विकासमार्फत डडेल्धुरालाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउने उनको योजना छ। साहसिक पर्यटन, होमस्टे तथा इको–टुरिज्म सञ्चालन गरी स्थानीय रोजगारी सिर्जना गर्ने तथा उग्रतारा, परशुरामधाम र अमरगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। शिक्षा, स्वास्थ्य र सुशासन डडेल्धुरा मेडिकल कलेजलाई पूर्ण सञ्चालनमा ल्याई उच्च मेडिकल शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने, २५ शैयाको ट्रमा सेन्टर निर्माण गर्ने, सातवटै स्थानीय तहमा आवासीय नमुना विद्यालय स्थापना गर्ने योजना उनले अघि सारेका छन्। सुशासन, पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले डिजिटल पूर्वाधारमार्फत सार्वजनिक सेवा सुधार गर्ने बताएका छन्। निष्कर्ष डडेल्धुराको गौरवशाली इतिहास, लोकतन्त्रप्रतिको अटुट आस्था र विकासप्रतिको अपेक्षाबीच नैनसिंह महर युवा ऊर्जा, बौद्धिक क्षमता र संगठनात्मक अनुभवको समन्वयका रूपमा उभिएका छन्। विरासत जोगाउँदै भविष्य सजाउने अभियानका साथ उनी डडेल्धुरालाई समुन्नत, स्वाभिमानी र अवसरयुक्त जिल्लाका रूपमा रूपान्तरण गर्ने लक्ष्यमा छन्। लोकतन्त्र, राष्ट्रवाद र समाजवादको मूल मन्त्रलाई आत्मसात् गर्दै ‘समुन्नत समाज, समृद्ध देश’ निर्माणको यात्रामा उनले डडेल्धुरावासीसँग सहकार्यको आह्वान गरेका छन्।