कथा : सपनाको पुल - sahityapost.com
मुगु कर्णालीको किनारमा ती दुई दाजुभाइ खेलेको सबैले देखे, तर के खेल्दैथे धेरैलाई त्यति चासो भएन । हामी भने केही बेर त्यहीँ बसेर थकाइ मार्ने विचारमा थियौँ । त्यसैले उनीहरूको खेलमा ध्यान दियौँ । सेरीको त्यस दुर्गम गाउँमा अझै गाडी पुगेकै थिएन । अलि तल, तुइनबाट कर्णाली वारिपारि तर्न खोज्दा उनीहरूकी आमा नदीमा खसेर मरेको उनीहरूलाई थाहा थियो । आमाको लाश पनि भेटिएको थिएन र यो घटना घटेको एक वर्षजति भइसकेको थियो । हामीले निकैबेर हेर्यौँ उनीहरूलाई । उनीहरू मुगु कर्णालीमा फूलपाती चढाइरहेका थिए । पूजा गरिरहेका थिए । हामी छेउमा पुगको सुइँको पाएपछि उनीहरू त्यहाँबाट भागे । हामीमाध्ये एक, न्युजिल्याण्डका नागरिक साइमण्ड थिए । उनले खै के हो देखाएपछि ती बच्चाहरू नजिक आए । हामीले कुरा गर्यौँ । नाम थर सोधेपछि हामीले सोध्यौँ, “यो नदीमा तिमीहरूले के गरेको ?” “पूजा !” उनीहरूमध्ये कान्छाले जवाफ दियो । “किन पूजा गरेको ?” प्रश्न जटिल थियो । उनीहरू केहीबेर अकमकिए । केहीबेर पछि जेठोचाहिँले बोल्यो, “अङ्कल, तपाईंहरू काठमाडौँबाट आउनुभाको हो ?” “हो,” मैले जवाफ दिएँ । “काठमाडौँमा ठूला देउता छन् अरे हो पशुपतिमा ?” “अँ, हो नि, पशुपतिनाथ बाबा ।” ऊ केही बेर फेरि रोक्कियो । उसले साइमण्डको क्यामेरालाई धेरैबेर हेर्यो, अनि मतिर फर्केर भन्यो, “हाम्रो आमालाई खोलाले बगाको ।” हामीले दुःख प्रकट गर्यौँ । तर मेरो प्रश्न र उसको जवाफमा तालमेल थिएन, म अमल्लिएँ । “हाम्रो मुगुमा पनि देउता छन्, तर ती साना छन् । पशुपतिनाथ त ठूला देउता हुन् है ।” “अँ, हुन् नि !” ऊ केही भन्न चाहन्थ्यो मसँग । साइमण्ड कान्छोसँगै खेल्न थाल्यो, फोटो खिच्दै, केही कुरा सोध्दै । उसको कुरो उल्था गर्न अन्य साथीहरू तम्तयार थिए । “अनि कि, अङ्कल ! यो हाम्रो नदी काठमाडौँ पुग्छ है । है नि, यो मुगु कर्णाली छ नि, यो तल गएर ठूलो कर्णलीमा मिसिन्छ अनि काठमाडौँ जान्छ । अनि पशुपति पुग्छ है । ” मैले जवाफ दिइनँ । त्यो उसको सामान्य ज्ञान थियो । कसैले भनिदिएको हुनुपर्छ । म उसको कथा सुन्न चाहन्थेँ । “है, छ नि अङ्कल, हामी त काठमाडौँ जान सक्दैनौँ । अनि यो हामीले पूजा गरेका फूलपाती छ नि, त्यो बग्दै बग्दै पशुपतिमा पुग्छ अनि ठूला देउता खुशी हुन्छन् । अनि त हाम्रो गाउँमा पनि गाडी आउँछ । अनि पुल पनि बन्छ । अनि त तुइनमा खोलो तर्नु पर्दैन । है अङ्कल !” मैले उसको अनुहारमा हेरिरहेँ । ऊ निर्दोष थियो । उसको अनहारमा खुशीको आलोक थियो, ठूलो काम गरेकोजस्तो गौरवबोध थियो । ऊ समाजको मुख फेर्न कम्मर कसेर लागेको थियो, र ऊबाट जे सम्भव थियो, त्यही गरिरहेको थियो । “कति दिनदेखि तिमीहरू पूजा गरिरहका छौ यहाँ ?” “अँ, पाँच महिना भयो होला । है, नि, अहिले त पानी परेको छैन, हाम्रो फूलपाती मज्जाले बग्दैन । पछि त पानी आउँछ, अनि यो खोलामा भेल आउँछ । अनि त पुग्छ नि हाम्रो फूल पशुपतिमा । अति त हाम्रो गाउँमा गाडी आउँछ । ” मैले सम्झेँ, त्यसै बेला उसकै उमेरका बच्चाहरू काठमाडौँमा इन्टनेट च्याट गरिरहेका होलान् र कोही डेडी मम्मीसँग रेष्टुरेन्ट गएको होलान् । ऊ भने सिङ्गो समाजको मुख फेर्न मिहिनेत गरिरेहेको थियो । त्यस महान योद्धाको निरर्थक प्रयासमा मैले हाम्रो देशमा सम्पूर्ण विडम्बनाहरू एकै ठाउँ थुप्रो लागेर बसेको देखें । जाने बेला मैले फेरि सोधेँ ऊ ठूलो भएर के बन्न चाहान्छ । “म, म मेरो गाउँमा गाडी ल्याउँछु । यो नदीमा पुल हाल्छु र सप्पै तुइनहरू चँुडाइदिन्छु । अनि आमाहरू नदीमा खसेर मर्दैनन् ।” “ती त नेताले गर्ने काम हैनन् र ? तिमी नेता बन्ने ?” “हैन अङ्कल ! नेता बन्ने हैन । नेताले गर्दैन । नेता त उता गएपछि उतै बस्छ, यता आउँदैन । यहाँ म र मेरो भाइले गर्ने,” उसको जवाफ स्पष्ट थियो । मैले गम्लङ्ग अँगालो हालेँ उसलाई । ओठमा शब्द थिएनन् दुवैमा । अँ, धडकनहरूमा एउटा विचित्रको संवेग अनुभव गरेँ मैले । यसो लगाएको लुगको बगली छामेँ । कलम रहेछ । त्यहीँ निकालेँ र उसलाई दिएँ । उसले तिखा आँखाले मेरा आँखामा हेर्यो । उसको हातमा मैले थमाइदिएको कलम विना शब्द केके भनिरहेको थियो । नजिकै मुगु कर्णाली आफ्नै लयमा सुसाइरहेको थियो । साइमण्ड पनि भाइसँगको छोटो संवाद सकेर मेरो छेउ आए र भने, “जाऔँ ।” हामी मुटुमा गाँठो पारेर बाटो लाग्यौँ । बच्चाहरू पूजामा फर्किए । अलि माथि पुगेपछि साइमण्डले सोधे, “के दियौ त फुच्चेलाई ? केही दियौ ?” “मसँग अरू खास केही थिएन । साथमा भएको एक जोडी गगल्स दिएँ । अहिले त त्यति ठीक नहोला, ठूलो भएर लाउँछ ।” “कालो?” मेरो मुखबाट अनायासै फुत्कियो । “म्म । किन र ?” म बोलिनँ । हामी केही कदम अगाडि बढ्यौँ । अलि तल पुगेपछि भनेँ, “एउटा पाकेट डायरी दिएको भए हुन्थ्यो ।” उनले आश्चर्यमिश्रत दृष्टिले हेरे मलाई । मैले मनमनै सोचेँ, ‘उनले डायरी दिएको भए हुन्थ्यो । भाइको डायरी र दाइको कलम…त्यसमा केही नयाँ अवश्य हुन सक्थ्यो ।’ फर्केर हेर्दा बच्चाहरू एउटा थुम्कोपछि छेल्लिइसकेको थिए, माथि कतै । The post कथा : सपनाको पुल appeared first on साहित्यपोस्ट.