रामेछापकाे हिलेदेवीमा पहिरोले गाउँ नै धसियो : ७८ घर जोखिममा, स्थानीय विस्थापित - janatatimes.com
रामेछाप, कात्तिक २१ । रामेछापकाे सुनापति गाउँपालिका–३ हिलेदेवीको केउरेनी, साउने र च्यामदुङ बस्ती यस वर्षको वर्षासँगै पुनः ठुलो पहिरोको चपेटामा परेको छ । खानीखोला किनारबाट सुरु भएको पहिरोले सिङ्गो गाउँ छियाछिया पारेको छ । ३० भन्दा बढी घर चर्किएर र भत्किएर बस्नै नहुने अवस्थामा पुगेका छन् भने करिब ८० घरकाे बस्ती पुरै उच्च जोखिममा परेको छ । यो क्षेत्र पहिरोको दृष्टिले विगतदेखि नै संवेदनशील रहँदै आएको छ । वि.सं. २०३५ सालमा यही क्षेत्रमा ठुलो पहिरो गएर ४० भन्दा बढी घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको थियो । त्यसको केही समय पछि पहिरो रोकिएपछि स्थानीय पुनः त्यही ठाउँमा बस्न लागेका थिए। तर गत वर्षदेखि खानीखोला किनारबाट पुनः पहिरो चलेपछि जमिन चर्किएर बग्न थालेको थियो । यस वर्ष असोज र तिहारपछि परेको लगातारको वर्षाले पहिरो अझ सक्रिय बनेको छ र अहिले गाउँ नै भासिएको छ । स्थानीय तेजविक्रम तामाङका अनुसार, ‘दशैंअघि खनिएको सडक वर्षासँगै धसिएको छ, अहिले मान्छे हिँड्नै नसक्ने अवस्था छ, असोजपछि परेको वर्षाले जमिन अझ चर्किएको छ, २०–३० वटा घरमा मानिस पस्नै नहुने भएका छ,’ उहाँले भन्नुभयो । स्थानीय लोकमाया खड्काले आफ्नो पीडा सुनाउँदै ‘घरमुनि पहिरो आइपुगेको र बारीको पाटो झारिसकेको बताउनुभयो। ‘घरको ढोका बन्द हुने अवस्था छैन, पहिरोले घर तानेको छ, रातमा निन्दा छैन, दिनमा भोक छैन, कतैबाट सहयोग पाइएन, बास बस्ने व्यवस्था मात्र गरिदिए हुन्थ्यो’, उहाँले भन्नुभयो । त्यस्तै, नारायण पाठकले खेतबारीसहित घर पनि भासिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पोहोर मैले मैकै छरेको बारी आधा तल झरिसक्यो, अब दाल–चामल होइन, बस्ने ठाउँ चाहिएको छ, घर छाडेर बारीमा टहरो हालेर बस्ने अवस्था पनि छैन, सरकारले अस्थायी आवासको व्यवस्था गर्नुपर्छ ।’ स्थानीय रुपा खड्का कति बेला के होला कि भन्ने डरै डर भएको बताउनुहुन्छ । ‘घरको माथिबाट माटो झरिरहेको छ, घर धसिएर कोल्टे परिसक्यो, जग्गा जमिन त छ, तर बस्ने ठाउँ छैन, अब सरकार वा गाउँपालिकाले सुरक्षित आवासको व्यवस्था गरिदिए हुन्थ्यो’, उहाँले भन्नुभयो । सोही स्थानका दुर्गाबहादुर खड्काले गत वर्षको वर्षामा घर केही चर्किएको भए पनि यस वर्ष घर बस्नै नहुने अवस्थामा पुगेको बताउनुभयो । ‘भत्किन लागेको घरमै बसेका छौँ,’ उहाँले भन्नुभयो, ‘अन्त जाने ठाउँ छैन, बाध्यताले त्यहीँ बसिरहेका छौँ ।’ त्यस्तै, देवीमाया खत्रीको घर र मतान दुवै पहिरोको कारण धसिएर भत्किएको छ, उहाँ भन्नुहुन्छ, ‘प्रहरी आएर सामान निकालिदियो, घर, मतान ढल्यो, अब बास बस्ने ठाउँ छैन ।’ स्थानीय फत्तबहादुर खड्का पोहोरभन्दा अहिले झन् बढी क्षति भएको बताउनुहुन्छ । ‘अर्को वर्ष त झन् बढी होला, कतिपयका घर भत्किएका छन्, अहिलेसम्म कसैले सहयोग गर्नुभएको छैन’, उहाँले भन्नुभयो । नेपाल रेडक्रस सोसाइटी सुनापति शाखाका सचिव राज मैनालीका अनुसार गाउँ भासिएर अब बस्नै नहुने अवस्था आएको छ । ‘सबैभन्दा पहिला ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो । रामेछाप रेडक्रसले ३५ भन्दा बढी पीडित परिवारलाई त्रिपाल, म्याट, कम्बललगायत राहत सामग्री वितरण गरेको छ । राहत वितरण गर्दै रामेछाप रेडक्रसका सभापति शिवकुमार कार्कीले भन्नुभयो, ‘गाउँ नै बगेकाले स्थानीयले अब सो बस्तीमा नबस्न अनुरोध गर्दछौँ, यस्तो बेला सबैले सहयोगका हात अघि बढाउन जरुरी छ ।’ स्थानीयवासीले त्रिपाल र कम्बल मात्र दीर्घकालीन राहत नहुने बताउँदै स्थायी पुनर्वासको माग गर्नुभएको छ । ‘हामीलाई बस्ने ठाउँ चाहिएको हो,’ नारायण पाठक भन्नुहुन्छ, ‘खाना र कपडा केही दिनको कुरा हो, तर बास नै छैन भने बाँच्ने आधार हुँदैन ।’ वडा नं ३ का वडाध्यक्ष कूलबहादुर थिङका अनुसार साउने–केउरेनी क्षेत्रमा २०३५ सालमा पनि यस्तै पहिरो गएको थियो । ‘त्यतिबेला बस्ती स्थानान्तरण गरिएको रहेछ,’ उहाँले सम्झनुभयो, ‘तर पहिरो रोकिएपछि फेरि बस्ती बसेको रहेछ । गत वर्षबाट फेरी बस्ती बग्न थाल्यो, यस वर्ष त ठुलो क्षति भएको छ ।’ उहाँका अनुसार अहिले बस्ती बस्न लायक छैन । ‘६५ घर परिवारलाई अस्थायी स्थानान्तरणका लागि सिफारिस गरेर पठाएका छौँ,’ उहाँले भन्नुभयो, ‘सरकारले ५० हजार र गाउँपालिकाले १५ हजार दिने निर्णय भएको छ, खाता खुलेपछि रकम वितरण हुनेछ, स्थायी रूपमा ७८ घर सार्नु पर्ने अवस्था आएको छ ।’ वडाध्यक्ष थिङले थप भन्नुभयो, ‘घाम लाग्दा पनि जमिन सारिरहेको छ, त्यसैले सबै जना सुरक्षित ठाउँमा सर्ने तयारी गर्नुहोस् ।’ विपत्तिबिच पनि स्थानीय समुदायले एक–अर्कालाई सहयोग गर्दै आएका छन् । युवाहरूले रेडक्रससँग समन्वय गरेर राहत वितरणमा सहकार्य गरिरहेका छन् । विद्यालय, सामुदायिक भवनहरूमा अस्थायी आवासको केही तयारी पनि भएको छ ।