Redirecting...

‘छोरी’को जन्म जितेको कर्मको साक्षी हो ! - sahityapost.com

‘छोरी’को जन्म जितेको कर्मको साक्षी हो ! - sahityapost.com
Source: shpt

‘छोरीको जन्म हारेको कर्म’ – यो भनाइ उहिलेको हो तर आज हामी भन्न सक्नुपर्छ- ‘छोरीको जन्म जितेको कर्म ।’ संस्कृतमा भनिएको छ- “नारी अस्य समाजस्य कुशलवास्तुकारा अस्ति ।” अर्थात्- नारी नै समाजका आदर्श शिल्पी हुन् । अन्तरमनमा ठूलै प्रश्न तेर्सिरहन्छ जहिल्यै पनि छोरीलाई लिएर । छोरीलाई भोग्या र घरभित्रकै काम गर्ने, अशिक्षित बनाउने कुराको तह खोज्नु हो भने पुरुषसत्ताको हैकमवाद अघि छोरी विवश हुनुपरेको इतिहास साक्षी छ । पौराणिक कालमा पनि छोरीलाई मनोरञ्जनको विषय बनाइयो । छोरीले पढ्नु हुँदैन भन्ने कुरालाई मस्तिष्कमा यसरी हालियो कि त्यसले धेरै समयसम्म जरा गाडिरह्यो । खाली अर्काकै भित्ता टाल्ने जात भनेर छोरीलाई हेपियो । कतिपय आफ्नै आमा र बाबाले पनि छोरीभन्दा छोरा नै ठीक हो भन्ने विचारलाई प्रश्रय दिँदा छोरी भएर जन्मनु अभिशाप नै मानियो । वंश फैलाउने छोरा हो भन्ने भ्रममा बाँच्नेहरूलाई के थाहा छोरीबिना वंश फैलाउन सकिंदैन भनेर । एउटा पुरुषको जन्म पनि स्त्रीबाटै हुन्छ । स्त्री बिनाको संसार कल्पना पनि गर्न सकिँदैन । समाज र देश शिक्षित हुनको निम्ति एउटी आमा शिक्षित हुनुपर्दछ । घर-घर मिलेर समाज बनिन्छ भने ती प्रत्येक घरका असल शिक्षित छोरीले नै घरलाई सुन्दर र समाजलाई उन्नतशील बनाउन सक्छन् । तर आँखामा पट्टी बाँधेर बस्नेहरू आफ्नो सन्तानोत्पत्तिमा छोरी चाहँदैनन् । यदि सबैले छोरीको जन्म नचाहे एकदिन संसार छोरी शून्य हुन बेर लाउँदैन, त्यति बेला के अवस्था हुन्छ होला सोच्दा पनि मुटु हल्लिन्छ । कुनै पनि परिवारमा छोरीको जन्मलाई सार्थक र सकारात्मक रूपमा लिनुपर्दछ । छोरी फ्याँकिने वस्तु होइन, घरमा सजाएर राख्ने फ्रेम पनि होइन । छोरीले पनि स्वतन्त्र रूपमा जीवन जिउनु पाउनुपर्छ । पढेर आफ्नो जीवनको बारेमा बुझ्ने अधिकार एउटी छोरीलाई पनि छ । जीवनको वास्तविकतासँग अवगत हुनसके के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ ती सबै बुझ्ने अधिकार छ छोरीलाई । त्यसर्थ छोरीलाई शिक्षित बनाउनु नै बुद्धिमत्ताको काम हुनेछ । छोरी चाहिँदैन भन्नेहरूले आफ्नो छोराको निम्ति शिक्षित बुहारी खोजिरहेका हुन्छन् । अब ती बुहारी पनि त स्त्री (छोरी) नै हो । छोरीमाथि धेरै कविताहरू सँगसँगै थुप्रै कथा उपन्यासहरू लेखिएका छन्, बेबी हल्दारको ‘आलो आँधारी’, प्रेम प्रधानको ‘प्रयोगको मशिन’, एलिजावेथ ‘बुचनको डटर्स’ इत्यादि छोरीमाथि लेखिएका अनि छोरीकै संघर्षले बुनिएका कथाहरू हुन् । छोरीकै कथा व्यथालाई लिएर बेटी बचाऔं, बेटी पढाऔं – को उत्प्रेरणाले यस उपन्यासको जन्म भयो भन्ने स्नेहलता राई (नेचाल) एक सशक्त नारी लेखिका हुन् । बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत भइसकेकी स्नेहलता राईको पन्ध्रौं कृतिको रूपमा ‘छोरी’ उपन्यास भारतेली नेपाली साहित्यले पाइसकेको छ । छोरीको संघर्षको कथा छ ‘छोरी’ उपन्यासमा । एउटी आमा पनि ‘छोरी’ नै हुन् । यस उपन्यासमा आमाले गरेको संघर्षलाई अत्यन्त मार्मिक ढङ्गमा देखाइएको छ । उपन्यास ‘छोरी’ नभएर ‘आमा’ हुनुपर्ने अथवा ‘आमा-छोरी’ हुनुपर्ने भान अवश्यै हुन्छ उपन्यास पढिसक्दा । उपन्यासको शुरूदेखि अन्तसम्म प्रायः आमाकै संघर्षको कथा छ । कथा संयोजनमा अतीतले नै ख्वार्लाप्प निलेको छ उपन्यासलाई । कथाको शुरूवातमा डाक्टर नन्दिनीको जन्मदिन मनाउने तरखर चलिरहेको छ । अतिथिहरूको प्रतिक्षा गर्दै चियरमा बसेर अतीततिर डुबुल्की मार्छिन् । त्यही उपन्यास शुरू हुन्छ र अन्त पनि भइसक्दछ । अतीतकै कथा सर्वोपरी छ भने यसमा नायक भने पनि नायिका भने पनि नन्दिनीकै वरिपरि कथा घुमेको छ । नन्दिनीबाट शुरू भएर नन्दिनीमै कथान्त भइदिएको छ । आफ्नो जन्मदिने आमालाई सम्झिएर आफ्नो जीवनको फ्ल्यास ब्याकतिर फर्किन्छिन् नन्दिनी । मूलतः कथाले कमजेर गाउँको भूमि, खोला, प्रकृतिलाई केन्द्रमा राखेको छ भने आञ्चलिकताले पनि ठाउँ ओगटेको छ । कमजेर गाउँसँगै देहरादूनको भूमिलाई पनि समेटिएको छ । प्रकृतिपुत्रीको रूपमा हेर्न सकिन्छ सोझी मञ्जरी र इम्पीहरूलाई । तरेक खोलालाई आफ्नै मान्ने मञ्जरी जलपरी नै थिइन् तर त्यही आफ्नो मानेको तरेक खोलाले जलपरी मञ्जरीलाई निल्यो । मार्मिक घटनाको उल्लेख छ । आफ्नो दिदी मञ्जरीले नन्दिनीलाई धेरै माया गर्थी तर दिदीको मार्मिक मृत्युले बज्रपात भइदिएको छ । थुप्रै कविताहरू लेखिसकेकी राई उपन्यासको शुरूमै ‘अधिकार’ कविता राख्छिन् – म छोरी हुँ मलाई जन्मन देऊ……. यस कविताले उपन्यास छोरीको सम्पूर्ण मर्म बोकेको छ । डाक्टर नन्दिनी आफ्नो अतीतमा पुगेर विचरण गर्छिन् । राम्रै परिवारमा आमाले दुई वटा कन्या जन्म दिइन् । फेरि पनि पेटमा कन्या नै रहेछ भन्ने टेस्टपछि हजुरबा, हजुरआमा र बाबाको षड्यन्त्रको उजागार देखाइएको छ । आमा भन्छिन्, “एउटी छोरीलाई पेटमै मार्ने पाप म गर्ने छुइनँ ।“ आमाको आँट देखाइएको छ उपन्यासमा । आमा भन्छिन्, “आफ्नो छोरीलाई हत्या गर्न चाहने तपाईंहरूका मुटु, कस्तो ढुङ्गा जस्तो ? तर मेरो मुटु ढुङ्गे मुटु होइन । मेरो मुटु, आमाको मुटु हो । मेरै रगतले यस छोरीलाई सिँच्छु, बचाउँछु र जन्माउँछु ।“ घरका सबैले पर-पर गर्न थालेपछि आमाको स्वास्थ्य बिग्रँदै जान्छ अनि एकदिन आँट गरेर पानीझरिमै आमा घर छोडेर दुःख कष्ट झेल्दै कमजेर गाउँको त्यो साँघुरो विचारबाट निस्केर दार्जीलिङ पुग्छिन् । अनि त्यहाँ आफ्नो गहना बेचेर सिलगढी झर्छिन् र ट्रेनमा चढेर देहरादून पुग्छिन् । देहरादूनमै जन्मिछिन् नन्दिनी । धेरै समय बितेपछि मात्रै नन्दिनीका बाबा उनीहरूलाई लिन आउँछन् । दिदी मञ्जरी र बहिनी नन्दिनी अत्यन्त मिल्छन् । समय बित्दै जान्छ, फेरि जम्ल्याहा छोरा जन्मिन्छन् । छोरा र छोरीमा भेद त देखाइएकै छ अनि छोरीलाई भन्दा छोरालाई नै महत्त्व दिएको कुरा सानी नन्दिनीलाई पच्दैन । नन्दिनीको सानो मस्तिष्कमा बोजुले हाल्दिएको कुराले चित्त दुख्छ- “हामी चाहिँ यो घरको पाहुनो रे ।“ … फेरि कुनै बेला भन्थिन्, “भाइहरू तरसरिको दूध पिएर तगडा बन्नपर्छ रे । हामी अर्काको घर टाल्ने रे ।“ बिचरा सानी नन्दिनीलाई पनि तरसरिको दूध खान मन पर्छ, तर हेला-होचोंमै छोरीको जीवन बितिरहेको लाग्छ । नन्दिनी हठी स्वभावकी छे, अबोध छे, निर्दोष छे । आमा भन्छिन्, “म आफैं पनि प्रश्नहरूको प्रहारमा छु- छोरी शब्द यति हीन किन सम्झिन्छन् मानिसहरू ?” भ्रुणहत्या गर्ने परिवारको विरोधमा एक्लै उभिएर घरबाट नन्दिनीलाई जन्म दिने ती आमा साँच्चिकै धन्य छिन् । छोरीको जन्मलाई जितेको कर्म बनाउनमा उनले कुनै कसर बाँकी राखिनन् । भाइहरूलाई राम्रो स्कूलमा हालेर राम्रो शिक्षा दिनुपर्छ भन्ने विचार छ भने छोरीहरूलाई राम्रो शिक्षा नदिए पनि हुन्छ भन्ने सङ्कुचित विचारले ठाउँ ओगटेको देखिन्छ उपन्यासमा । कताकता वियोगान्त पनि भइदिएको छ ‘छोरी’ । मञ्जरीलाई खोलाले लग्यो, आमा रोगले थलिएर जीवन त्यागिन् । नन्दिनी पढ्नमा अब्बल थिइन् त्यसैले मेडिकल साइन्स पढेर एमबीबीएस डाक्टर बनिन् । विदेशी डाक्टरसित नै बिहे गरेर चेन्नइ शहरमै बस्न थालिन् । डाक्टर नन्दिनी विश्वमै आफ्नो छाप छोड्न सफल भइन् । उपन्यासको अन्तमा – भावविह्वल बाबाले गौरवशाली छोरीप्रति गौरवान्वित बन्दै आफ्नो अवरुद्ध कण्ठले सुस्तरी भने, “हाम्री प्रसिद्ध डाक्टर छोरी ! हाम्रो मुटुको टुक्रा ।“ त्यही बाबा जसले नन्दिनीको जन्म चाहेका थिएनन्, तर त्यही बाबा हो नन्दिनीलाई मुटुको टुक्रा भन्ने । समय, काल परिस्थितिले साँच्चै मान्छेमा परिवर्तन ल्याउँछ नै । तर के आज पनि यही अवस्था छैन र कतिपय समाजमा । छोरीले आज पनि न्याय पाउन सकिरहेको जस्तो लाग्दैन । छोरी समाजइतर होइन । समाजभित्रकै अभिन्न अङ्ग हो तर पनि छोरा र छोरीमा अन्तर गर्नेहरू आज पनि यस समाजमा धाक फुकाएर बाँचिरहेका छन् अनि हेपिने र चेप्टिने छोरीहरू विवश छन् । कथानक न्यून रूपमा वहन गरेको यस उपन्यासको भूमिकामा समालोचक अर्जुन प्रधानले ‘उत्तरवर्ती निर्मित: एक पूर्ववर्ती परिचिति’मा लेख्छन् – उपन्यास लेखनमा उनको एउटा राम्रो बानी के देखिन्छ भने उनी कुनै पनि पात्रपात्रा चरित्र, वस्तु अथवा वस्तुस्थितिको विषयलाई जब स्पर्श गर्दछिन् विषयका सारा तानाबाना, इतिहास, भूगोल आदिदेखि लिएर अत्यन्त मिहिन मसिना कुराहरूलाई पनि खिप्ती गरीकन खिपीखिपी बडो सुन्दर बान्कीमा विन्यास गर्दछिन् । तब एउटा स्पष्ट कुरा के आउँछ भने, उनको उपन्यास ‘छोरी’ अन्तर्गत सौन्दर्यको खजाना खोज्नु हो भने पाठकहरू उनका विवरणपरक, वृत्तान्तमूलक विवृत्तिहरूका खस्रा मसिना यावत् पाटा पक्षहरूमा ध्यानस्थ हुनैपर्ने हुन्छ । उपन्यासभित्र छोरीले मनभरिको भडास, गुनासोको माला उनेर एउटा अंग्रेजी पत्रिकामा छापिएको एउटा लेख नारीको गरिमा राखिएको छ । जसमा पूर्णतः नारीवादी विचार सँगसँगै नारी उन्मुक्ति र नारी चेतको कुराहरू राखिएका छन् । लेखांश – “संसारमा जन्मन नपाउने छोरीहरूका दयनीय कारुणिक मर्मस्पर्शी र हृदयविदारक पुकार- आमा ! म जन्म लिन चाहन्छु । आफ्नो पहिचान इतिहासमा दर्ता गराउन चाहन्छु ।“ हो ! कन्या भ्रूणहत्याको कारण छोरीको अस्तित्व सङ्कटमा पर्दै गइरहेछ । तर के यी कन्या भ्रूणहत्या गर्ने र गराउने दुवै केवल पुरुष नै हुन् त ? यहाँ नारीले आफ्नो चेतनाको सम्पूर्ण प्रकोष्ठ खोलेर सोच्न र निर्णय लिन आवश्यक छ । कारण सृष्टिको सन्तुलनमा स्त्रीको महत्त्व पुरुषभन्दा कुनै मूल्यमा कम छैन । यसैले नारीले आफ्नो अस्तित्व बचाउनु – आफू नै दृढ भएर निर्णय लिन सक्नुपर्दछ । आफ्नो अस्तित्वको समान मान्यता र अधिकारको हकदार भएर जिउन सक्नुपर्दछ । नारी जननी हुन् । दिदी – बहिनी अनि पत्नी हुन् । यसभन्दा पर पहिले ऊ स्वतन्त्र अस्मिता समेटेकी मानव पनि हो । यसैले संसारमा अन्य मानवको जन्मलाई धूमधाम स्वागत गरिन्छ भने नारीको जन्मलाई पनि अवश्य स्वागत हुनुपर्दछ । परिवारमा कन्या एक बोझ होइन । तर उसलाई एक शक्तिको रूपमा स्वीकार्नुपर्दछ । समाजमा परिवारमा आरम्भदेखि नै जुन सुरक्षा र आत्मविश्वासले भरिएको संस्कार छोरीले पाउँछे त्यही आत्मबल र संस्कारले उसले आफ्नो भविष्य निर्माण गर्दछे । अहिलेका आधुनिक युगमा छोरीलाई धेरै दाइजोको भारी बोकाएर होइन तर एउटा सशक्त विदुषी बनाएर ससुराली पठाउनसके त्यसभन्दा ठूलो कर्म अरू हुने छैन । अथर्ववेदमा पनि भनिएको छ – आफ्नी छोरी विवाह भई पराई घर जाँदा पिताले उसलाई बुद्धिमत्ता र विद्याबलको दाइजो दिऊन् अर्थात् उसलाई ज्ञानको दाइजो दिऊन् । यसरी ज्ञानी, गुणी छोरीले आफ्नो व्यक्तित्वमा आर्थिक आत्मनिर्भरता साथसाथै सामाजिक चिनारी बनाउन सक्षम हुनेछिन् । यसर्थ छोरी किन समाजमा परिवारमा बोझ ? ऊ त एक गर्व गर्न सकिने सन्तान हुन् – आमाबाबाका निम्ति । वर्तमानमा छोरीहरू कुनै पनि क्षेत्रमा छोराभन्दा कम छैनन् । यसैले छोरीको शक्ति, योग्यता, साहस अनि बुद्धिमत्तालाई पर सारेर कन्यालाई संसारमा ल्याउनु नै हुँदैन भन्ने मनोविकार, मनोवृत्ति ठूलो अपराध हो । भूल र पाप पनि हो । छोरीको गरिमालाई कोपिलामै गरिएको कुठाराघात हो । यसरी उपन्यासमा छोरीको अस्तित्वमाथि ठूलै प्रश्नहरू पनि तेर्साइएका छन् अनि समाजलाई सचेत बनाउने कार्य पनि गरिएको छ । उपन्यास पढ्दा नन्दिनीको बाजे र बोजुको पनि आफ्नै कथा र व्यथा भेटिन्छ । बिचरा नारी अधिकारको ‘अ’ सम्म ज्ञान नभएको बोजुको जीवनमा त्यति बेला भुइँचालो गए जस्तो भयो जति बेला बाजेले बोजुलाई धोका दिएर मधेशमा पनि कान्छी बिहे गरेर राखेको अनि त्यहाँबाट जन्मिएको छोरोलाई आफूसँग ल्याएर अरू दुई भाइसँग स्कूल पढाउन होस्टेल हालिदिन्छन् । यसरी पुरु सत्ताकै हैकम छ उपन्यासमा । उपन्यास ‘छोरी’मा विभिन्न सहशीर्षक राखिदिएर उपन्यास बुझ्नु अझ सजिलो भइदिएको छ । विवरणात्मक शैली सँगसँगै सरल र सहज भाषाको प्रयोगले उपन्यास सुन्दर भइदिएको छ । एउटा छोरीले यस संसारमा जन्मिनु पाएर न्याय पाउनुपर्छ, उसले आफ्नो स्वतन्त्र जीवनमा पढ्न पाउनुपर्छ, असल मान्छे बन्न पाउनुपर्छ भन्ने कुराहरू पाउँछौं । समाजइतर भइदिएको छैन उपन्यास । समाजकै खाप खाने विषय हो ‘छोरी’को कथावस्तु । समाजभित्रकै वास्तविकतालाई छर्लङ्ग उतार्नमा सफल देखिन्छिन् उपन्यासकार स्नेहलता राई । The post ‘छोरी’को जन्म जितेको कर्मको साक्षी हो ! appeared first on साहित्यपोस्ट.