Redirecting...

एनपीएलको तयारी पूरा - www.pardafas.com

एनपीएलको तयारी पूरा - www.pardafas.com
Source: pfds

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी अन्तिम चरणमा पुगेको छ । त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताए । एनपीएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका अध्यक्ष चतुबहादुर चन्दले बताए । सचिव खड्काले पहिलो पटक एनपीएलका खेलहरु फ्लडलाइटमा सञ्चालन गर्न लागिएकोले दर्शकलाई नयाँ स्वाद हुने बताए । खड्काले एनपिएल अवधिभर कुनैपनि आन्दोलनका कार्यक्रमहरु नगर्न आग्रह पनि गरे । क्यानले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । दर्शक शुल्क पाँच सयदेखि दुई हजारसम्म तय गरिएको छ । उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाजबिच त्रिवि क्रिकेट रङ्गशालामा अपरान्ह ४ बजे भिड्नेछन् । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि पाँच सय र एक हजार रुपियाँ राखिएको छ । यस्तै प्लेअफ देखिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मुल्य १५ हजार रुपियाँ तय गरेको छ । क्यानले दोस्रो संस्करणको एनपीएलबाट ४० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस पटकको एनपीएलबाट क्यानले ४० करोड रुपियाँ आम्दानी गर्ने प्रक्षेपण गरेको जानकारी दिए । मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि सुरक्षाको हिसावले पनि बलियो बनाईएको छ । प्यारापिट बाहिरमात्र दुई वटा बार तय गरिएको छ । खेल मिलेमतो र बेटिङलाईसमेत मध्यनजर गरेर नेपाल प्रहरीको निगरानीका एन्टीकरप्ट युनिट तय गरिएको छ । एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कूल ३२ खेल हुनेछन् । एनपीएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् । क्यानले पहिलो वर्ष नै १० वर्षका लागि फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेको छ ।