Redirecting...

उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी - nagariknews.nagariknetwork.com

उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी - nagariknews.nagariknetwork.com
Source: ngrk

उदयपुर र खोटाङको सीमास्थल कुनाईघाटको बतासेमा बेलिब्रीज जडान हुने भएको छ । उदयपुरतर्फ लिमचुङबुङ गाउँपालिका १ बाँसबोटे र खोटाङतर्फ हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमबीच रहेको सुन नदीको कुनाईघाट बतासेमा बेलिब्रीज जडान गर्न लागिएको हो । त्यहाँ बेलिब्रीज जडान गर्नका लागि संभाव्यता अध्ययन गर्न आएको प्राविधिक टोलीले काम अघि बढाईहाल्ने जनाएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई सोमबार प्राविधिक टोलीसहित स्थलगत अनुगमनमा आएका थिए । स्थलगत भ्रमणपछि उनले यसैवर्ष बेलिब्रीज जडानको काम अघि बढाउने गरि इस्टीमेट तयार गर्न प्राविधिकलाई निर्देशन दिएका छन् । मन्त्रीसहित कुनाईघाट आएको प्राविधिक टोलीले सोमबार नदीको पानीको सतह, चौडाई र गहिराई नापेर इस्टीमेट तयार गर्न लागेको मन्त्रालयका ईन्जिनियर सरगम राईले बताए । उनका अनुसार मन्त्रालयले बेलिब्रीज निर्माण शीर्षकमा चालु आर्थिकवर्षमै बजेटको व्यवस्था गरेको छ । त्यसैले छिट्टै बेलिब्रीज निर्माण प्रक्रिया अघि बढाउन मन्त्री राईबाट निर्देशन आएको उनले बताए । ‘मन्त्रीज्यु आफै स्थलगत अनुगमन गरेर फर्कनुभएको छ, उहाँले तत्काल काम अघि बढाउन पनि निर्देशन दिनुभएको छ’ इन्जिनियर राईले भने ‘हामीले निर्देशन अनुसार बेलिब्रीज हाल्ने उचित स्थान निक्र्यौल गरेर प्राविधिक इस्टीमेट बनाउन तुरुन्त लागेका छौँ ।’ ठाउँ यकिन भएर इस्टीमेट गरेपछि मन्त्रालयले ठेक्का आव्हान गर्ने उनले बताए । प्राविधिक टोलीसँगै पुगेका मन्त्री राई बेलिब्रीज बनाउने उचित स्थान पत्ता लगाउन नदीको लगभग ३ सय मिटर तल–माथि पैदल भ्रमण गरेका थिए । बेलिब्रीज लगाउन नदीको चौडाई साँघुरो हुनुपर्ने भएकाले त्यस्तै स्थान पत्ता लगाउन आसपासको अवलोकन गरेका थिए । कुनाईघाट बतासेस्थित साविक झोलुङ्गे पुलभन्दा २ सय मिटर उत्तर नदी साँघुरिएको ठाउँमा बेलिब्रीज जडान गर्नु उचित हुने निश्कर्ष टोलीले निकालेको छ । टोलीले पानीको सतह, गहिराई र नदीको चौडाई नाप्न त्यहाँ विभिन्न प्रक्रिया अपनाएको इन्जिनियर राईले बताए । बेलिब्रीज बनाउन नदीको चौडाई ५० मिटरभन्दा बढी हुन नहुने भएकाले साँघुरिएको ठाउँ भए उत्तम हुने र ५० मिटरभन्दा बढी चौडाई भएको ठाउँमा ढुङ्गा माटो पुरेर ५० मिटर कायम गर्नुपर्ने प्राविधिकको भनाई छ । कुनाईघाट उदयपुरको लिमचुङबुङदेखि खोटाङको त्रिधार्मिकस्थल हलेसी जोड्ने महत्वपूर्ण नाका हो । सदरमुकाम गाईघाटदेखि मुर्कुची–माझखर्क–बाराहा–बाँसबोटे हुदै पुगिने कुनाईमा पक्की पुल अभावमा नदी वारपार गर्न वर्षौँअघि निर्मित जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्न बाध्य हुनु परेको छ । कुनाईघाटबाट त्रिधार्मिकस्थल हलेसी ९ किलोमिटर उत्तरमा अवस्थित भएकाले सो नाका भएर हलेसी दर्शन गर्न जाने भक्तजन पर्यटक बाक्लो हिड्ने गरेका छन् । माझखर्कदेखि बाराहा, बाँसबोटे हुँदै आधा घण्टामा कुनाईघाट पुगिन्छ । रौतामाई, लिमचुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिकाको मध्येभागमा पर्ने माझखर्कदेखि बाराहा–कुनाईघाट हुँदै हलेसी पुग्न सवारी यात्रामा जम्माजम्मी १ घण्टा भए पुग्छ । माझखर्क पुग्न ताप्लीदेखि २ घण्टा लाग्छ भने गाईघाटदेखि ३ घण्टा, उदयपुरगढीदेखि अढाईघण्टा र रौतामाईदेखि १ घण्टा लाग्छ । माझखर्क पुगेपछि त्यहाँबाट कुनाई हुँदै हलेसी पुग्न १ घण्टा काफी भएकाले यो नाकामा पक्की पुल अनिवार्य भएको हलेसी तुवाचुङ नगरप्रमुख बिमला राई बताउँछिन् । यो नाका भएर हलेसीमा भक्तजन पर्यटक बढाउन सके लिमचुङबुङ र हलेसी दुवै स्थानीयतहलाई फाईदा हुने मेयर राईको अनुमान छ । लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले पनि यो नाकामा पक्की पुल लगाउन जरुरी रहेको बताउँदै पक्की नहुँदा बेलिब्रीज भए पनि तत्काल निर्माण गर्नुपर्ने बताए । ‘यहाँ पक्की पुलको अत्यन्त खाँचो छ, पक्की पुल बनाउन नसक्दा बेलिब्रीज भए पनि निर्माण गर्न सके आउजाउ सहज हुन्छ’ अध्यक्ष राईले भने ‘बेलिब्रीज भए ६ महिना भए पनि माझखर्क–कुनाई भएर हलेसी दर्शन गर्न आउने भक्तजन पर्यटकलाई सहज बनाउन सकिन्छ ।’ देशको दक्षिणीभेग र तराई हुँदै हलेसी दर्शन गर्न आउने आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकका लागि सिराहाको लाहान, गोलबजार, मिर्चया, सिन्धुलीको भिमान तथा उदयपुरको गाईघाट हुँदै जान आउन सजिलो छ । गाईघाट, लाहान, गोलबजार, मिर्चयाबाट माझखर्क–कुनाई, पश्चिमतर्फ जयरामघाट र पूर्वतर्फ धाब्लाङघाट तथा वंशीलाघाट नाका भएर हलेसी आउजाउ गर्न सहज भए पनि जयरामघाटबाहेक अन्य ठाउँमा पक्की पुल नहुँदा समस्या पर्दै आएको छ ।