सानुमानको कथा - www.sutranews.com
एउटा दुर्गम गाउँ। जहाँ माओवादी सैन्य लडाकुहरू जन्मिएका थिए। त्यही स्थान हो, जहाँका जनता नेपालमा एउटा अर्कै उथलपुथल र परिवर्तनका लागि शिरमा कात्रो, हातमा बन्दुक र खुट्टामा उज्यालो बाटोको खोजीमा निस्किएका थिए। दशौ बर्ष युद्धको धुवाँले ढाक्यो नेपाली आकाश। हजारौं निर्दोष नेपाली मरे, मारिए। हजारौं बिधवा बने। हजारौं आमाहरु छोरा बिहिन भए। हजारौं नाबालकहरु आमाबाबु बिहिन बने। अन्ततः युद्ध बिराम भयो। सामन्ती सरकार ढल्यो। दुइ सय चालीस बर्षको राजतन्त्र गर्ल्याम गुर्लुम ढल्यो। जनतान्त्रिक सरकार बन्यो। गणतन्त्र स्थापना भयो। त्यतिमात्र होइन, नेपालमा संघीयता पनि आयो। समावेशीता पनि आयो। नेपाली जनताले रोजेको, खोजेको शासन प्रणाली आयो भने सबैले। अब कोहि नेपाली भोग रोग र अशिक्षाको अँध्यारोमा बस्न पर्दैन भन्ने कुरामा जनता ढुक्क भए। त्यसपछि हिजोको युद्धमा कमान्ड सम्हालेका तर बन्दुक कहिले नबोकेका ब्यक्तिहरु प्रधानमन्त्री र मन्त्री बन्ने क्रम सुरु भयो। सर्वसाधारण जनताको छोरा, जो युद्धमा होमिएको थियो र अपांग बन्यो महान परिवर्तनका वेदिमा, तर उ भने यो परिवर्तनले खुसी हुन सकेन। उस्को जिन्दगी फेरिएन। परिवर्तनले जनजिन्दगी फेरिएन भने त्यो के परिवर्तन हो र ? ल्याएको परिवर्तन केवल ढाडे बिरालाको लागि मात्रै थियो भने त्यत्रो नेपाली किन सहिद बन्नु थियो र ? दुख उस्तै रह्यो। अभाव उस्तै रह्यो। अशिक्षा र गरिबी उस्तै रह्यो। केही मुट्ठीभर नेता र तिनैका सन्तान दरसन्तानलाई सत्तामा पुर्याउन गरिएको युद्द बेकार भयो भन्ने कुराले जनतामा फेरि निरासाले छाउन थाल्यो। युद्धमा होमिएको सानुमानको जिन्दगीमा केही परिवर्तन आएन। युद्धमा बाचियो भने एउटा नोकरी सम्म त मिल्ला भनेको आखिर नेपाल आर्मीमा पनि उ समाहित हुन सकेन। उसको लागि बोल्दिने कोहि भएन। उसको सपना तुहियो। कति साथीहरू नेपाल आर्मीमा समाहित भए। उ भएन। उस्को भाग्यमा लेखेकै रहेनछ। हिजो युद्धमा मारिएको भए कमसेकम सहिद त हुन पाइन्थ्यो। परिवारले अलिकति भनेपनी पैसा पाउथे। थुइक्क मेरो भाग्य ! मृत्युले नपत्याएको मान्छे म। यस्तै यस्तै सोच्दै आर्मीमा गएका साथीहरूलाई बिदाइ गरेर एक दिन उ सदरमुकामबाट गाउँ फर्कियो। निधारमा एउटा कलन्कको टीका त लागेकै थियो। सँगै छिमेकीको छोरा आर्मीमा गयो त चै लायक भैनछस् है ..? बाबुको बचनले कोखा हान्यो। के म त्यस्तो नालायक नै थिए त ? भुपु माओवादी भए म। किन बन्दुक बोक्नु परेको मैले ? मैले आफ्नै गाउँका काका पर्ने जगतमान गुरुङको कन्चठमा हाने। ताकि-ताकि मारे। उनको दोष खास के थियो मैले बुझेको पनि थिइन त्यतिबेला। चन्दा माग्दा नदेको झोकमा दुस्मन भन्दै कतिलाई मारियो, मारियो … सानुमानलाई निन्द्रा आएन…। भोलिपल्टै उ फेरि सदरमुकाम गयो। उस्ले एउटा म्यानपावर कम्पनीमा आफ्नो पासपोर्ट र फोटो बुझायो, जम्मा डेढ लाख तिर्नुपर्छ भन्यो म्यानपावरले। पैसा त थिएन उसँग। बाबुसँग रोइकराइ गर्यो। एउटा खेत थियो। बन्दगी राख्यो। बिहे भइसकेको थियो। एउटा सानी छोरी पनि भइसकेकी थिई। उ युद्धमा होमिन जाँदा श्रीमती दोजिया भएकी थिई। चार बर्ष त उ जङ्गलमै हरायो। युद्ध बिराम भएर घरमा पुग्दा जून जस्ती छोरीलाई काखमा लिएर उ बेस्सरी रोयो। केही थिएन साथमा। बन्दुकले खाएको दुइटा डुढाे औंला बाहेक। उसलाई देखेर श्रीमती बेस्सरी रोएकी थिई। एक महिनापछि भिसा आयो। सानुमान अरब गयो। महिनाको पन्ध्र हजार कमाउन। उस्ले सोच्यो उसको लागि नेपाल रहेनछ। नेपाल त केवल नेता, जाली फटाह, भ्रष्टाचारी, चाकरी चम्चागिरी, नेताका आशिर्वाद पाउनेहरुका लागि मात्रै रहेछ भन्दै एयर अरेबियाको जाहाज चढ्यो। भर्याङ उक्लिनु अघि पर बसेकी सानी छोरीलाई हात हल्लाउँदै जाहाज भित्र छिर्यो। धेरै-धेरै दुख गर्यो, पचास डिग्रीको तातो मरुभूमिमा। १७ बर्ष काम गर्यो। छोरीलाई हुर्कायो। खेत नि खन्यो। उ उतै हुँदा उस्का बाबु बिते। नेपाल आउन छुट्टी मिलेन। बाउको लागि उतैबाट उस्ले काजकिरियामा सहयोग पुर्यायो। क्रिया खर्च उतार्यो। छोरीलाई कलेज पढाउन थाल्यो। आमा, श्रीमती र एक छोरीको जिन्दगी अब सहज रूपमा बग्न थाल्यो। एकदिन उस्ले एउटा खबर सुन्यो कि चाइनाको बुहान भन्ने स्थानमा अर्कै खालको रोग फैलिएको। र सहर नै सिल गरेको। उस्ले सोचेन, त्यो रोग उ बसेको सहर रियादसम्म कहिले आउला भनेर। युरोपेली मुलुकहरू त्यही रोगका कारण ध्वस्त हुन थाले। अमेरिका पनि त्राही-त्राही हुन थाल्यो। उस्ले सोच्यो, त्यो रोग नेपालमा आउदैन भनेर। चाइनाबाट रियादसम्म त्यो रोग उडेर आइपुग्न एक महिना पनि लागेन। उस्की श्रीमतीले घरबाट फोन गरि- “कुन्नी के जाती कोरोना भन्ने रोग आको छ रे ! टिकट काटेर झट्टै नेपाल आउनु।” नभन्दै रियादमा पनि केही संक्रमण देखियो। उ काम गरेको फ्याक्टरी बन्द भयो। उसलाई अफिसले बिदा दियो। अन्तर्राष्ट्रिय उडान बन्द हुनु केही दिन पहिले उ एयर अरेबियाबाट नेपाल उत्रीयो। भोलिपल्टै उ घर गयो। गाउँमा परिवारहरु आत्तिरहेका थिए। घर पुगेपछि आमा र श्रीमती ढुक्क भए। छोरी खुसी भई। तर, खोइ किन-किन ! उ भने ढुक्क हुन सकेको थिएन। बाटोमा आउँदा-आउँदै उस्ले न्युज पढ्न पुग्यो। एयर अरेबियाको फ्लाईटबाट यो मितिमा नेपाल आएका एक जना नेपालीलाई कोरोना पुष्टि भएकोले उक्त उडान र मितिमा नेपाल फर्किएका सबै यात्रुहरूले संबंधित फोनमा सम्पर्क गर्न अनुरोध…। उस्ले उक्त मोबाइलमा फोन गर्यो। फेरि उ काठमान्डाै फर्किन पर्ने भो। उ होशियार थियो। श्रीमती र बच्चा अनि आमाबाट अलग बस्यो। फर्किनु अघिनै रियादमा उसलाई कोरोना बारेमा धेरै कुराको ज्ञान सिकाइएको थियो। उ फेरि चौधौं दिनको आइसोलेसनमा गयो। आइसोलेसनको सबै भद्रगोल र ब्यथिती देखेर उ अवाक भयो। सात दिनपछि उस्को कोरोना रिपोर्ट पोजेटिभ आयो। तर उ आत्तिएन। धैर्यता राख्यो। नेपालमा कोरोना डढेलो लागेजस्तै फैलिन थाल्यो। सरकारले तोकेको कोरोना अस्पतालमा बेड छैन। निजी अस्पतालहरु कोरोना रोगीहरुको उपचार नगर्नी भन्छन्। सरकारसँग निश्चित योजना पनि छैन। भिजन पनि छैन। कोरोना औजार र औषधी खरिदमा समेत भ्रष्टाचार भएको भनी मुद्दा उठेका छन्। आजसम्म सरकारले एउटा पनि भेन्टिलेटर नयाँ किनेको छैन। जहिले पनि अनुदान र भिखमा चल्न मन पराउने सरकारको काम गर्ने शैली बिचित्रको छ। देशमा यत्रो कोरोनाको महामारी फैलिएको छ सरकार भने आफ्नो पार्टीको आन्तरिक कलहमा अलमलिएको छ। चौधौं दिन नपुग्दै खानै नपाएर मरिने भैयो भन्दै आइसोलेसनबाट भाग्यो सानुमान। नाम मात्रैको आइसोलेसनबाट झन बढी खतरा मोल्नुपर्ने देखेर उ भाग्यो। जो-जो नेताका आसेपासे छन्, तिन्लाई अर्कै ब्यवस्थापन छ। आइसोलेसनमा समेत यो बिभेदले उ दिक्क भयो। मानिस सधैं किन आफ्ना र आर्कामा विभेद देखाउछ ! यो भन्दा पशुतुल्य जिन्दगी त हिजो बन्दुक बोक्ता नी भोगेकै हो र आजसम्म पनि यो भेदभावपूर्ण ब्यवहार उस्तै रहेछ। खोइ, कहाँ आयो परिवर्तन ? यति विभेद त जंगली जनावर बिचमा पनि हुँदैन। सानुमान फेरि गाउँ जाने विचारमा घोत्लियो। सारा बाटो र यातायात बन्द थियो। एउटा शव बाहन चालकसग उस्को आइसोलेसनमा परिचय भएको थियो। दस हजारमा उस्ले गाउँ छोडेर आइदिने कबुल गर्यो। भोलिपल्ट बिहानै ऊ लास जस्तै बन्यो। कात्रोमा बेरियो। शान्त भएर सुत्नु भन्यो चालकले थानकोट चौकी आएपछि। ऊ त्यस्तै बन्यो। गाडीले एकाबिहानै थानकोट काट्यो। बिधाताले बनाएको यो नियमलाइ कस्ले उल्लंघन गर्न सक्थ्यो र ! आखिर गाडी बाटोमा दुर्घटनामा पर्यो। त्रीसुलीमा खस्यो। शव बनेर गएको सानुमान फेरि फर्केर घर गएन।