“डोकेनीदेखी च्याब्रुङ नाचसम्म, चासुवा पर्वमा सांस्कृतिक झल्को” - ehimalayatimes.com
तेह्रथुम । चासुवा तङ्नाम पूर्वी नेपालको याक्खा समुदायको एक मौलिक र महत्वपूर्ण पर्व हाे । गाउँघरको बोलचालमा ‘न्वागी पूजा’ पनि भनिने यो पर्व सामाजिक, सांस्कृतिक, धार्मिक तथा पारिवारिक जीवनशैलीको नयाँ चक्र सुरु गर्ने महत्वपूर्ण विधि मानिन्छ । यही सन्दर्भमा महालक्ष्मी नगरपालिका-७, साफु धनकुटामा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै चासुवा पर्व भव्य रूपमा मनाइएको छ । याक्खा भाषामा “चासुवा” शब्द “चो” अर्थात् ‘खा’ तथा “ऊवा” अर्थात् ‘झोल’ भन्ने शब्दबाट व्युत्पन्न भएको मानिन्छ । कालान्तरमा ‘चोऊवा’ शब्द रूपान्तरण हुँदै ‘चासुवा’ रूपमा प्रचलनमा आएको हो । चासुवा पर्वमा आफ्नै उत्पादन गरेका अन्नबाली इस्टदेवी-प्रकृतिलाई अर्पण गरेर मात्र खाने सांस्कृतिक-धार्मिक परम्परा रहिआएको छ । आफूले लगाएको बाली थन्याएर नयाँ अन्न न्वागी गरी ग्रहण गर्ने प्रचलनलाई नै चासुवा पर्वका रूपमा मनाइने भएको किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति, धनकुटाका सल्लाहकार रुद्रबहादुर तुम्बाले बताउनुभयो । हालका वर्षहरूमा देश-विदेशमा रहेका याक्खा समुदायले यो पर्वलाई अझ भव्य र व्यवस्थित रूपमा मनाउने परम्परा बढ्दै गएको छ । महालक्ष्मी नगरपालिका तथा वडा नंं ७ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीयको उललेखनीय सहभागिता थियो । कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, डोकेनी नाचलगायतका विविध सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण बनेको किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति, धनकुटाका अध्यक्ष नरेन तुम्बाले जानकारी दिनुभयो । लोपोन्मुख संस्कृतिको संरक्षणमा युवाहरूको सक्रियता महत्वपूर्ण रहेको उल्लेख गर्दै किरात याक्खा छुम्मा वडा नं. ७ कार्यसमितिका अध्यक्ष दनिराज लुम्बाले संस्कृतिप्रतिको प्रतिबद्धता निरन्तर बन्नुपर्ने बताउनुभयो । यो पर्वमा अन्नबाली पाकेपछि पहिलोपटक इस्टदेवी-प्रकृतिलाई अर्पण गरी, माङबा-छाम्बाको सहयोगमा परम्परागत विधि अनुसार पूजा गरिन्छ । त्यसपछि मात्र समुदायका सदस्यहरूले नयाँ अन्न ग्रहण गर्दै परस्पर हार्दिकता र शुभकामना आदानप्रदान गर्छन् । विभिन्न समुदायका भाषा, लिपी, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय सरकारले निरन्तर साथ दिँदै आएको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जुमाया कार्की अधिकारीले बताउनुभयो । याक्खा समुदाय धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी लगायत पूर्वी पहाडी-तराई जिल्लाहरूमा तथा भारतको सिक्किम र दार्जिलिङ क्षेत्रसम्म फैलिएको छ । लोपोन्मुख कला-संस्कृतिको संरक्षण र प्रवर्द्धनमा युवा पुस्ताको निरन्तर ध्यान र सक्रियता आजको आवश्यकता भएको समुदायका अगुवाहरूले बताउँछन ।