Redirecting...

चक्रव्यूहमा जेन-जी - nagariknews.nagariknetwork.com

चक्रव्यूहमा जेन-जी - nagariknews.nagariknetwork.com
Source: ngrk

महाभारत युद्धका चर्चित पात्र अभिमन्यु चक्रव्यूहमा फसेर जीवन गुमाउन बाध्य भएको कथा फेरि एक पटक हेरौं। युद्धको १३ औं दिनमा कौरवले बनाएको चक्रव्यूहमा उनी फसेका थिए। उनलाई चक्रव्यूहमा प्रवेश गर्ने जानकारी त थियो तर त्यसबाट निस्किने तरिका उनलाई थाहा थिएन। एक्लै पारेर अभिमन्युको हत्या गरिएको थियो।अब आऔं, हाम्रो आफ्नै जेन–जी आन्दोलनतर्फ। हाम्रा जेन–जी अभियन्ताले पनि आन्दोलन गर्ने तरिका जानेका थिए। त्यसबाट बाहिरिन वा त्यसलाई कसरी अवतरण गर्ने भन्ने जानकारी भएन। अभिमन्युलाई सुभद्राको गर्भमै हुँदा चक्रव्यूह तोड्ने शिक्षा प्राप्त भएको थियो। त्यसबाट बाहिर निस्किने कुरा उनका पिता अर्जुनले सिकाइरहेका बेला सुभद्रालाई निद्रा आएका कारण अभिमन्युले त्यो विधि जान्न पाएनन्।जसरी जयद्रथले अभिमन्युलाई यसबाट निस्किन रोकिदिएको थियो र सातवटै द्वारबाट बाहिर निस्किन सकेनन्, त्यसैगरी हाम्रा जेन–जी अभियन्ता आजलाई हाम्रो आन्दोलन सफल भयो अब फर्कौं, भन्दाभन्दै चक्रव्यूमा पारिएको छ। उनीहरू फर्कन नपाइ गोलीको निशानामा परे। त्यो गोलीको निशानामा पार्ने काम उनीहरूले आयोजना गरेको तर त्यसमा नभएको कार्यक्रमका कारण भएको थियो।जेन–जीको भदौ २३ को आन्दोलन आयोजना हुनुअघिको सन्दर्भ थोरै हेर्नुपर्ने हुन्छ। भ्रष्टाचार र कुशासनले आक्रान्त मुलुकलाई बदल्नुपर्छ भन्ने उनीहरूलाई लागेको हो। त्यही पवित्र उद्देश्यका साथ उनीहरू सक्रिय भएका थिए तर उनीहरूको आन्दोलनलाई विस्फोटक बनाएर त्यसबाट फाइदा लिनुपर्छ भन्ने उद्देश्य राखेका तत्त्वहरूप्रतिको उदासीनताले नै आन्दोलनलाई भयावह अवस्थामा पुर्‍याएको हो।मुलुकको सत्ता राजनीतिमा तीन कोण देखिएका थिए। पहिलो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणाको उन्माद राज्य शक्तिमा देखिएको थियो। दुई, ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबिच दुष्मनीपूर्ण सम्बन्ध थियो। तीन, आफूलाई नयाँ नेपालको नयाँ शक्ति ठान्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने निरन्तर थुनामा रहेका थिए।ओलीको शासन कालमा सर्वसाधारणले महसुस गर्ने गरी नै दुःख पाए। भलै, उनले राष्ट्रियताका मुद्दाबाट मुलुकलाई अगाडि बढाउँदा सबैको साथ सहयोग हुन्छ, बाँकी कुरा मिल्दै जान्छन् भन्ने उनलाई लागेको थियो। आफूले राष्ट्रवादी अडान लिएपछि अरू कसैले टाउको उठाउन सक्दैनन् भन्ने उलाई लागेको थियो। कालापानी, लिम्पियाधुरा समेटिएको चुच्चे नक्साको मुद्दामा ओलीले यसरी बाजी मारेका थिए कि कसैले असहमति गर्न सक्ने ठाउँ रहेन। संसद्को दुई तिहाइ बहुमतबाट पारित भई यो संविधानको अंगसमेत बन्न पुग्यो।लोकतन्त्रका लागि युवा अभियान, दिगो विकास आदिका नाममा एउटा तप्काले देशैभरि आफूलाई परिचालन गरिरहेको थियो। एकातिर राष्ट्रवादी अडान राख्दै मुलुकलाई पश्चिमा सम्बन्धबाट टाढा गराउने काम भयो। अर्कोतिर, ऐनमौकामा कम्युनिष्ट धुरीसँग नजिक गराउने भूमिका पनि यहाँ जारी रहेको हो। त्यही भएर ओली अमेरिकालगायत पश्चिमा मुलुकलाई चिढ्याउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको सांघाइ सहयोग संगठन (एससिओ) मा माग लिन मात्र गएनन् जापान विरुद्धको परेडमा पनि सहभागी भए। त्यही काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेनन् र समयमै घर फर्किए तर प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटदेखि उत्तर कोरियाली नेता किम जोङ उनसमेतको उपस्थिति परेडमा सामेल हुने अवसरलाई उपयोग गर्न खोजे । यसले अन्तर्राष्ट्रिय मञ्चमानेपालको उपस्थिति बलियो हुने ठानियो।ओली लगायतका सत्तारुढ नेपाली कांग्रेस र एमाले नेताहरूलाई गत चैत १५ गतेको राजावादी आन्दोलनमा प्रहरीको सक्रियताले दबाएको सफलताले पनि एउटा दम्भ पैदा गरेको थियो। जेन-जी वा यस्तै कुनै नाममा हुने आन्दोलन धेरै ठुलो नहुने तर राजावादी वा अन्यका नाममा हुने आन्दोलनलाई सजिलै सुरक्षा बलबाटै दबाउन सकिन्छ भन्ने थियो। त्यही भएर जेन–जी आन्दोलन केही हजार युवाले निकाल्ने आन्दोलन भएकाले खासै टाउको दुखाउनुपर्छ भन्ने सत्ता पक्षलाई लागेकै थिएन।जेन–जी वा अरु कुनै नाममा हुने आन्दोलनभन्दा बरु देशमा राजा फर्किन्छ भन्ने चिन्ताले भने ओलीलगायतका नेताहरू यसबिच चिन्तित थिए। ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बन्ने बेलामा अब मुलुकमा केही हुन्छ भन्ने संकेत थिए तर जतिजति राजावादीका नाममा मुलुकमा गतिविधि बढ्न थाले त्यतित्यति नै ती चिन्तित भएर काम गर्न सक्ने अवस्था रहेन। अझ राजा ल्याउन भारतले समर्थन गर्छ भन्ने विश्वास तिनमा जबर्जस्तरूपमा रहेको थियो।पछिल्ला वर्षहरूमा ओलीमा एक किसिमको दम्भ थियो। उनलाई धेरै कुरा थाहा छ भन्ने लाग्थ्यो । उनलाई भेट्नेहरू उनको ‘प्रत्युत्पन्न मति’ का कारण कायल थिए तर उनको नेतृत्वमा राज्यका संस्थाहरू कमजोर भइरहेको पत्तै थिएन।त्यति मात्र होइन राज्यका सुरक्षा निकायले दिएका सूचना र विश्लेषणमा यिनको कमै ध्यान थियो। ओली त कतिसम्म भइसकेका थिए भने पछिल्लो पटक सत्ता राजनीतिको कमान सम्हालेयता एक पटक पनि प्रेससँग बालुवाटारमा भेटको कार्यक्रम राखेनन्। आमरूपमा रहेको असन्तुष्टि, त्यसलाई घिउ थप्ने गरी दिइने अराजक अभिव्यक्ति र आफ्नै अन्योलपूर्ण कार्यशैलीका कारण ओलीको सत्ता पतन भयो।चुस्त सरकारसँगै परिस्थितिको विश्लेषण गर्ने आफ्नै क्षमता हुन्छ। सुरक्षा निकायलगायतका गुप्तचरी निकायले दिने विश्लेषण र आकलनमा ध्यान पुग्छ। सरकारको आफ्नै थिंक ट्यांक हुन्छ। सरकारसँग ‘थिंक ट्यांक’ त त्यस्तै हो ‘ड्रिक ट्यांक’ अर्थात् मदमत्त भएर बस्ने समूह ठुलो थियो। अझ प्रधानमन्त्रीलाई घेराबन्दी गरेर बसेको समूहले कसैलाई पहुँच दिँदैनथ्यो। उपप्रधानमन्त्री आरजु राणाका बारेमा आमरूपमा जेजस्ता चर्चा चलिरहेका थिए त्यसले कुनै पनि बेला मानिसलाई आक्रोशमा पार्न पर्याप्त थियो।अहिले आएर धेरै कुरा सामान्यजस्तो बनाउन खोजिँदैछ। वास्तवमा हाम्रो लोकतन्त्र असामान्य अवस्थामा पुगिसकेको थियो। कसैले पनि यसको स्वामित्व लिने अवस्था थिएन। सत्ता केन्द्रमा रहने व्यक्तिहरू आम नागरिकसँगको सम्बन्धबाट अलगथलग भएर बस्ने नै भए। ओली प्रधानमन्त्री भए यता निरन्तर उनी खेलकुद हेर्न जाँदा होस् वा अन्य ठाउँमा उनीविरुद्ध निरन्तर एकै किसिमका नारा लगाइन्थ्यो।ओलीले गरेको केही नभए पनि तिनलाई दोषीजस्तो बनाउने काम भइरह्यो। सकेसम्म उनलाई यस्तै नारा लगाएर गलाउने प्रयास भएको पनि हो। उनी भने निरन्तर बाबुनानीहरू भन्दै आफ्ना धारणा सार्वजनिक गरिहेका थिए। उनका विरुद्ध माहोल बनाउने तत्त्वहरूको डिजाइन निरन्तर अगाडि बढिरहेको थियो।त्यसैको परिणामस्वरूप गत भदौ २३ मा युवाले निकालेको विरोध प्रदर्शनलाई उत्तेजक बनाएर रातारात रगतको खोलो बगाइयो। त्यतिले नपुगेर भोलिपल्ट सिंगै मुलुक आगोमा हाल्ने काम गरिएको थियो। गृहमन्त्रीको जिम्मेवारीमा कुनै योग्य व्यक्तिलाई राखिएको थिएन।गृहमन्त्री रमेश लेखक यसै पनि अख्तियारले ‘भिजिट भिसा’ प्रकरणमा कारबाहीमा पर्न लागेका कर्मचारी मन्त्रालयमा तानेका कारण विवादमा परेका थिए। उनको नैतिक शक्ति त्यतिकै खस्किएको थियो। प्रहरी गत चैत १५ को राजावादी आन्दोलनमा गोली बर्साउन पाएपछि यसै पनि ‘ट्रिगर ह्याप्पी’ थियो। यसपटक पनि कोही आए गोली चलाएरै ठिक गरिन्छ भन्नेमा गृहमन्त्री लेखक मात्र होइन प्रधानमन्त्री ओली पनि ढुक्क थिए।त्यो नहुँदो हो त मुलुकमा विषम परिस्थिति आइसकेपछि ओलीले बेलैमा राजीनामा गरेर स्थिति साम्य पार्न सक्थे। प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले परिस्थिति प्रतिकूल भएका कारण राजीनामा गर्न आग्रह गर्दा पनि नमानेका कारण भोलिपल्ट देश खरानीमा परिणत भयो। मुलुकका प्रमुख संस्था सिंहदरबार, सर्वोच्च अदालत र संसद् जल्नुमा प्रधानमन्त्री ओली राजीनामा दिन तयार नहुने र सुरक्षा निकाय हेरिबस्ने अवस्थाका कारणले हो।तत्कालीन प्रधानमन्त्री ओलीको हठ र जेन–जी आन्दोलनकारीको गतिविधिमा लुकेर मौका हेरिहेको पक्षले मुलुकलाई खरानी बनाएका छन्। संविधान दिवस समारोहमा भाग लिन शीतल निवासमा शुक्रबार पुगेका जेन–जी प्रतिनिधिहरू महाभारतका तिनै अभिमन्युजस्ता देखिएका थिए, जो चक्रव्यूहभित्र पसेका छन् तर कसरी निस्किने हुन्? सिंहदबार जलाउनेदेखि नेतालाई घरघरबाट निकालेर कुट्नुपर्छ भन्नेहरू यतिबेला मौन छन्।