Redirecting...

‘भाइरल’ हुने सस्तो लोकप्रियताको मोह स्रष्टाका लागि घातक हुन्छ : डा. अमर गिरी - sahityapost.com

‘भाइरल’ हुने सस्तो लोकप्रियताको मोह स्रष्टाका लागि घातक हुन्छ : डा. अमर गिरी - sahityapost.com
Source: shpt

नेपाली प्रगतिवादी साहित्यको आकाशमा डा. अमर गिरी एउटा यस्तो जाज्वल्यमान नक्षत्र हुन्, जसले आफ्नो सिर्जना, चिन्तन र कर्ममार्फत समाजको पिँधमा रहेका मानिसहरूको आवाजलाई बुलन्द पार्दै आएका छन् । वि.सं. २०१७ साल भदौ २७ गते दाङको निमुरियामा माता लीलावती र पिता वासुदेव गिरीको ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको हो । ग्रामीण परिवेशमा हुर्किएका गिरीको जीवनयात्रा अध्ययन, लेखन र सामाजिक रूपान्तरणको त्रिवेणीका रूपमा अगाडि बढेको देखिन्छ । डा. गिरी केवल शब्दका शिल्पी मात्र नभई एक उच्चकोटीका प्राज्ञिक व्यक्तित्व पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट “समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्व” विषयमा विद्यावारिधि सम्पन्न गरेका छन् । उनको यो शोधकार्यले नेपाली कविताको समाजशास्त्रीय अध्ययनमा एउटा महत्त्वपूर्ण योगदान दिएको छ । विद्यालय तहदेखि नै शब्दहरूसँग खेल्न शुरु गरेका गिरीको पहिलो सिर्जना ७ कक्षामा पढ्दा लेखिएको ‘होचिमिन्हजस्तो हुनु परेको छ’ हो । औपचारिक रूपमा वि.सं. २०३१ मा बनारसबाट प्रकाशित हुने ‘सन्देश’ पत्रिकामा ‘आमा’ शीर्षकको कविता छापिएसँगै उनको सार्वजनिक साहित्यिक यात्रा आरम्भ भएको थियो । झण्डै पाँच दशक लामो यो यात्रामा उनले नेपाली साहित्यलाई थुप्रै महत्त्वपूर्ण कृति उपहार दिएका छन् । उनका कवितामा मानवीय संवेदना, वर्गीय चेतना र सामाजिक विसङ्गतिप्रतिको हस्तक्षेपकारी स्वर स्पष्ट सुनिन्छ । उनका कविता सङ्ग्रहमा घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौँ, दुःसाध्य समय, शब्दहरूका बीचमा, र समय शब्द संवाद रहेका छन् । समालोचनामा भूमण्डलीकरण र साहित्य, कवितामा वर्गद्वन्द्व, साहित्य विमर्श, समय, समाज र संस्कृति, तथा समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य रहेका छन् । डा. गिरीको व्यक्तित्व बहुआयामिक छ । उनी एक सफल लेखक मात्र नभइ एक कुशल व्यवस्थापक र दूरदर्शी नेतृत्वकर्ता पनि हुन् । उनले विभिन्न गरिमामय राजकीय र सामाजिक पदमा रहेर आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका छन् । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष र प्रगतिशील लेखक सङ्घ (प्रलेस) को केन्द्रीय अध्यक्ष जस्ता गरिमामय पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् । उनले भाषा आयोगका सदस्यका रूपमा रहेर नेपाली भाषा र भाषिक उत्थानमा महत्त्वपूर्ण काम पनि गरेका थिए । यसका साथै पत्रकारिताको लामो अनुभवले उनलाई समाजको सूक्ष्म विश्लेषण गर्न सक्ने एक प्रखर स्तम्भकारका रूपमा स्थापित गरेको छ । साहित्यिक र सामाजिक क्षेत्रमा उनले पुर्याएको निरन्तर र विशिष्ट योगदानको कदर गर्दै दर्जनौँ पुरस्कार अर्पण गरिएको छ । जसमा गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, एन.एल.जी. कलाश्री पुरस्कार र प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार प्रमुख रहेका छन् । सादा जीवन र उच्च विचारका धनी डा. अमर गिरीले आफ्ना सिर्जना र कर्ममार्फत नेपाली वाङ्मयलाई समृद्ध तुल्याएका छन् । कवितामा नवीन शिल्प र समालोचनामा वस्तुपरक दृष्टिकोण राख्ने उनी समकालीन नेपाली साहित्यका एक सशक्त धरोहर र प्रेरणाका स्रोत हुन् । आफ्नो सिर्जनात्मक यात्राका क्रममा विश्वका विभिन्न मुलुकहरूको भ्रमण गरेका गिरी आज पनि उत्तिकै ऊर्जाका साथ नेपाली साहित्य र समाजको सेवामा समर्पित छन् । उनै वरिष्ठ साहित्यकार तथा समालोचक डा.अमर गिरीका दुई नवीनतम कृति एकैपटक ‘रातमा कलम’ (कवितासङ्ग्रह) र ‘समय, शब्द र संवाद’ निबन्धसङ्ग्रह) बजारमा आएका छन् । उनै डा. गिरीसँग साहित्यपोस्ट अनलाइन पत्रिकाका छन्दकविता सम्पादक यम रेग्मीले गरेको कुराकारी यस प्रकारको रहेको छ । यहाँ दुई नवीनतम कृतिहरू ‘रातमा कलम’ (कवितासङ्ग्रह) र ‘समय, शब्द र संवाद’ (निबन्धसङ्ग्रह ) एकैसाथ पाठकको हातमा पुगेका छन् । एउटै समयमा दुई फरक विधाका कृतिहरू जन्मनुको पछाडि के कस्तो विशेष उद्देश्य लुकेको छ ? वास्तवमा यसको पछाडि कुनै विशेष उद्देश्य त छैन, यो केवल एक सुखद संयोग मात्र हो । ती सिर्जना मेरा डायरीका पानाहरूमा केही वर्षदेखि प्रकाशित गर्ने चाहिने जति सामग्री थिए । ती केही कविता थिए त केही निबन्ध थिए । प्रकाशक मित्रको आग्रह र दुवै कृतिलाई सँगै बजारमा ल्याउने सुन्दर प्रस्तावले गर्दा यी दुई सहोदर कृति एकैपटक पाठकको हातसम्म आइपुगेका हुन् । यी दुई कृतिभित्र प्रवेश गर्दा पाठकले कस्तो विचार र भाव पाउने छन् ? आफ्नै सिर्जनाको प्रशंसा आफैँले गर्नु उचित नहोला, यसको सबल र दुर्बल पक्षको कसी त पाठक र समीक्षक हुन् । यति हो, मैले मेरा कविताहरूमा शिल्प र विचारको सन्तुलनलाई डगमगाउन दिएको छैन । निबन्धको सन्दर्भमा भने त्यहाँ विचारको गहिराइ र भावको लालित्य दुवै पाउनुहुनेछ । विशेष गरी भाषा, संस्कृति, विकास र भूमण्डलीकरणले निम्त्याएका चुनौतीहरूलाई मैले वैचारिक निबन्धमार्फत उत्खनन गर्ने प्रयास गरेको छु । अचेल कवितामा विचारभन्दा शिल्प (कलापक्ष) बढी हावी भइरहेको चर्चा चल्छ । एक अनुभवी समालोचकको आँखाले यसलाई कसरी हेर्नुहुन्छ ? कविता भनेको अन्तरवस्तु (विचार) र रूप (शिल्प) को अविभाज्य संयोजन हो । विचार कविताको आत्मा हो भने शिल्प त्यसको कलेवर । समकालीन कविताहरू सरल र सम्प्रेष्य हुनुपर्छ भन्ने मेरो मान्यता हो । शिल्प बोझिलो र जटिल भयो भने कविताको प्राण नै निसासिन्छ । बिम्ब र अलङ्कारहरू सहजै बुझिने हुनुपर्छ ताकि पाठकको मनमा विचारको झिल्का सल्कियोस् । शिल्प विचारलाई बोक्ने सुन्दर रथ हुनुपर्छ, विचारलाई नै थिच्ने बोझ स्रष्टाको सिर्जनामा नभएकै राम्रो हुन्छ । विश्वव्यापीकरणको यो तीव्र वेगमा हाम्रो मौलिक साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ ? यसमा लेखकको दायित्व के रहन्छ ? स्रष्टा जहिले पनि आफ्नो ‘माटो’ प्रति इमानदार हुनुपर्छ । यहाँ ‘माटो’ भन्नुको अर्थ केवल भूगोल मात्र होइन, यसभित्र हाम्रो सभ्यता, संस्कृति र इतिहासको समग्र सुगन्ध निहित छ । भूमण्डलीकरणका नकारात्मक लहरहरूले हाम्रा मौलिकतालाई निल्न खोजिरहेका छन् । त्यसैले स्रष्टाले यसको वैचारिक प्रतिवाद गर्नैपर्छ । नेपाली साहित्यमा यो ‘प्रतिवाद’ को स्वर अलि मलिन सुनिन्छ । हामीले आफ्ना रचनामा माटोको अस्मिता जोगाउँदै सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि वैचारिक सङ्घर्ष जारी राख्नुपर्छ । यहाँको निबन्धसङ्ग्रह ‘समय,शब्द र संवाद’ लाई हेर्दा संवादलाई विशेष महत्त्व दिइएको छ । के आजको डिजिटल प्रविधिको भीडमा मानिसहरू बीचको वास्तविक संवाद टुट्दै गएको हो त ? यहाँलाई कस्तो लाग्छ ? हो, यो एक तितो यथार्थ हो । डिजिटल युगको चमत्कारले मानिसहरूलाई नजिक त ल्यायो तर आत्मीय संवाद भने टाढा पुर्याइदियो । मेरो संग्रहमा समयलाई समात्ने शब्दहरू छन् र ती शब्दहरू भित्र हराउँदै गएका संवादलाई पुनर्जीवित गर्ने प्रयास गरिएको छ । मानिसहरू एउटै कोठामा भएर पनि संवादहीन छन्, मेरो कृतिले त्यही रिक्ततालाई बोध गराउन खोजेको छ । के प्रगतिशील स्रष्टाको काम सिर्जना गर्नु मात्र हो कि समाज बदल्न सडकमा पनि उत्रनुपर्छ ? स्रष्टाको कलम आफैँमा एक शक्तिशाली आन्दोलन हो, समाज बदल्ने हतियार हो । तर जब समयले माग गर्छ, स्रष्टा सडकको मोर्चाबाट पनि पछि हट्नु हुँदैन । २०६२-६३ को जनआन्दोलनमा हामी आफैँ अग्रपङ्क्तिमा थियौँ । कलावादीहरू तटस्थ बस्न सक्लान् तर प्रगतिशील स्रष्टाले सधैँ जनपेक्षा र रूपान्तरणको पक्षमा आफ्नो प्रतिबद्धता जाहेर गर्नुपर्छ । लेख्नु र लड्नु हाम्रा दुई अभिन्न पक्ष हुन् । उपभोक्तावाद र बजारवादले साहित्यलाई पनि वस्तुमा परिणत गरिरहेको छ । यस्तो समयमा प्रगतिशील साहित्यको सान्दर्भिकता कसरी जोगाउने ? आज साहित्यलाई ‘बर्गर वा पिज्जा’ जस्तो तुरुन्तै उपभोग गरिने बजारु वस्तु बनाउने प्रयत्न भइरहेको छ । बजारले जे माग्छ, त्यही पस्कने परिपाटी प्रकाशक र लेखक दुवैमा हावी छ तर साहित्य भनेको जीवनको सौन्दर्य र रूपान्तरणको माध्यम हो । हामीले साहित्यलाई बजारको दास हुनबाट जोगाएर जीवनको धड्कनसँग जोड्नुपर्छ । गम्भीर लेखनले नै बजारवादको यो अन्धवेगलाई चिर्न सक्छ । सामाजिक सञ्जालमा रमाउने नयाँ पुस्ताका लेखकहरूमा अध्ययनको कमी र वैचारिक शून्यता देखिन्छ भनिन्छ, उनीहरूलाई हजुरको सल्लाह के छ ? प्रविधिलाई सदुपयोग गर्नु राम्रो हो, तर ‘भाइरल’ हुने सस्तो लोकप्रियताको मोह स्रष्टाका लागि घातक हुन्छ । आजको पुस्तामा धैर्यताको अभाव छ, उनीहरू चाँडै नाम र दाम कमाउन चाहन्छन् । साहित्य साधन हो, विज्ञापन होइन । सामाजिक सञ्जालको ‘लाइक’ र ‘कमेन्ट’ मा झुन्डिएर कृत्रिम संसारमा हराउनुभन्दा गम्भीर अध्ययन र वैचारिक स्पष्टतामा लाग्नु श्रेयस्कर हुन्छ । अन्त्यमा, यहाँको भावी साहित्यिक योजना र नेपाली साहित्यले अब कुन बाटो समात्नुपर्छ जस्तो लाग्छ ? नेपाली साहित्य अब अझ बढी जीवनमुखी र समाजमुखी बन्नुपर्छ । प्रगतिशील चेतनालाई केन्द्रमा राखेर हामीले आर्थिक र सांस्कृतिक उत्पीडनका विरुद्ध कलम चलाइरहनुपर्छ । मेरो आगामी कृतिका रूपमा ‘बजार र साहित्य’ निबन्ध सङ्ग्रह आउँदो चैत–वैशाखसम्ममा पाठकमाझ ल्याउने तयारीमा छु । यसमा बजारले साहित्यमा पारेको प्रभाव र समसामयिक मुद्दाहरूमाथि मेरो विमर्श रहनेछ ।