Redirecting...

प्रेम र जीवन (अनुभूति/नवपुस्ता) - sahityapost.com

प्रेम र जीवन (अनुभूति/नवपुस्ता) - sahityapost.com
Source: shpt

जिन्दगी अनेकौं भावनाहरूको संगालो हो । जन्मेपछि मानिसले जुन यात्रा शुरू गर्छ, त्यो केवल सास फेरिरहने प्रक्रिया होइन । त्यो अनुभूति, सम्बन्ध, पीडा, खुशी, सपना र सङ्घर्षहरूको संगम हो । हरेक मानिसको जीवन फरक हुन्छ, फरक हुन्छ उसको सोच, इच्छा र जिन्दगी हेर्ने नजरिया पनि । तर जे जस्तो भिन्नता भए पनि एउटा कुरा सबैका लागि समान छ – प्रेमप्रतिको गहिरो आकांक्षा । मानिस चाहे जतिसुकै व्यस्त, सम्पन्न वा बौद्धिक किन नहोस्, उसको भित्र कतै गहिरो ठाउँमा प्रेमको चाहना लुकेको हुन्छ । चाहे त्यो प्रेम आमाबुबाप्रतिको होस्, साथी, जीवनसाथी वा आफूले एकपक्षीय माया गरेको कसैप्रतिको नै किन होस् — त्यो चाहनाले नै जीवनको प्रवाहलाई गति दिएको हुन्छ । यद्यपि हामी स्वीकार गर्छौं । जीवन प्रेम मात्र होइन । हामीलाई जीवित रहन खाना चाहिन्छ, शिक्षा चाहिन्छ, स्वास्थ्य र आत्मनिर्भरता चाहिन्छ । तर ती सबैको बीचमा पनि प्रेमले नपुगेको जीवन एक किसिमको खालीपन जस्तै लाग्छ, पीडादायक हुन्छ । कहिलेकाहीँ मानिसले सोच्दछन् – प्रेम के हो ? के त्यो केवल दुई जनाबीचको आकर्षण हो ? केवल मुटुको धड्कन बढाउने अनुभूति मात्र हो ? समय बिताउने बहाना हो ? तर प्रेम त्यस्तो क्षणिक अनुभूति होइन जुन आयो र गयो । प्रेम त्यो स्थायी शक्ति हो जसले मानिसको हृदयभित्रको सबैभन्दा संवेदनशील पक्षको उजागर गर्छ । प्रेम त्यस्तो न्यानो छाया हो जहाँ मानिस आफ्नो कमजोरी, डर, थकान र पीडाहरू लुकाउन सक्छ, र आत्मबलसहित फेरि अघि बढ्न सक्छ । जीवनमा जब मानिससँग पैसा हुन्छ, प्रतिष्ठा हुन्छ, अरू सबै कुरा प्राप्त हुन्छन् — तब ऊ भन्छ, अब म सफल भएँ । तर त्यो सफलतामा साथ दिने कोही छैन भने त्यो सफलता आफैंमा अधुरो लाग्छ । तपाईंले ठूला सपना पूरा गर्न सक्नुहुन्छ, तर त्यसको खुशी बाँड्न कोही छैन भने त्यो सपना अधुरो रहन्छ । साँचो कुरा त के हो भने, प्रेमले जीवनको उपलब्धिहरूलाई अर्थ दिन्छ । प्रेमले तपाईंको संघर्षमा साथ दिन्छ, तपाईंको सफलता मनाउँछ, तपाईंको असफलतामा चुपचाप बसेर तपाईंलाई सम्हाल्छ, मार्गदर्शन गर्छ । प्रेम एक नदेखिने शक्ति हो, जुन हरेक परिस्थितिमा तपाईंको आत्मालाई छुन जान्दछ । प्रेममा पनि भिन्न रूप हुन्छन् । केवल केटा र केटीबीचको रोमान्टिक सम्बन्ध मात्र होइन, प्रेम बाआमाले आफ्ना छोराछोरीमा देखाउँछन् । दाजुबहिनीबीचको भावना पनि प्रेम हो । साथीबीचको बन्धन पनि प्रेम हो । अझ गहिरो प्रेम भनेको आफूप्रति देखिने आत्म-सम्मान र आत्म-प्रेम हो । जब तपाईं आफूलाई प्रेम गर्न सिक्नुहुन्छ तब मात्र अरूलाई प्रेम दिन सक्नुहुन्छ । जब तपाईं आफ्नो मूल्य बुझ्नुहुन्छ, तब मात्र सम्बन्धहरू सन्तुलित हुन सक्छन् । साँचो प्रेम सधैँ सहज हुँदैन । जीवनका धेरै मोडहरूमा प्रेम अधुरो रहन्छ, गलत बुझिन्छ, चोट दिन्छ, पीडाको जंघारमा बाँचिन्छ । एकतर्फी प्रेम, अस्वीकृत माया, धोका — यी सबैले प्रेमलाई नकारात्मक अनुभूति दिन सक्छन् । तर यी सबैको बाबजुद पनि मानिस फेरि प्रेम गर्न खोज्छ । किनभने प्रेम केवल खुशी होइन, यो अस्तित्वको खाल्टो पूर गर्ने माध्यम हो, बाटो हो । अधुरो प्रेमले पनि मानिसलाई धेरै कुरा सिकाउँछ — कसरी आफैंभित्रको शक्ति भेट्ने, कसरी गुमाएका सम्बन्धहरू सम्झिएर पनि अगाडि बढ्ने, र कसरी आफूलाई अझ गहिरो रूपले चिन्ने । प्रेमबिना जीवन केवल दिन बिताउने प्रक्रिया हो । शरीर चलिरहन्छ, घडीको सुई घुमिरहन्छ, तर मन शून्यमै रहन्छ । मानिससँग सबै कुरा हुँदा पनि एक्लो महसुस हुनु, प्रेम अभावको चिनारी हो । हामी भन्छौं — पढाइ छ, जागिर छ, गाडी छ, घर छ, हरेक कुरा छ, तर मनमा चिसोपन छ । त्यो चिसोपन हटाउने एक मात्र शक्ति हो – प्रेम । कसैले बुझोस् भन्ने चाहना, कसैले नजिक होस् भन्ने अभिलाषा, कसैले “म तिमीलाई बुझ्छु” भन्ने भावना — यी सबै प्रेमका रूप हुन् । अर्को पक्ष हेर्ने हो भने, आजको यो समाजमा प्रेमको परिभाषा कमजोर हुँदै गएको देखिन्छ । प्रेमलाई केवल आकर्षण, मनोरञ्जन, स्वार्थ वा घडी अनुसारको सम्बन्धको रूपमा लिएको छ । सामाजिक सञ्जालमा “माया गर्छु” भन्न सजिलो छ, तर “तिमी दुखी छौं भने म तिमीलाई सम्हाल्छु” भन्न गाह्रो भएको छ । प्रेम गहिरो अनुभूति हो, तर आज त्यो सतही बनाइँदैछ । साँचो प्रेम भनेको समय, समझदारी, धीरता र समर्पण चाहिन्छ भन्ने कुरा बिर्सिंदैछौं हामी । अर्कोतर्फ, प्रेमलाई सबैथोक मानेर आफ्नो आत्मसम्मान गुमाउने मानिसहरू पनि कम छैनन् । प्रेममा समर्पण त आवश्यक छ, तर त्यो समर्पण आफूलाई नोक्सान हुने गरी होइन । प्रेममा समझदारी, बराबरी र स्वतन्त्रताको भावना पनि हुनुपर्छ । प्रेम यदि नियन्त्रण, शंका, पीडा र घृणाको कारण बन्छ भने त्यो प्रेम होइन, केवल सम्बन्धको नाममा आत्मा थिचिएको अवस्था हो । त्यसैले प्रेम गर्नुका साथै प्रेमबाट बाँच्न पनि जान्नुपर्छ । प्रेमले जीवनलाई भरिन्छ, तर प्रेमले आफूलाई हराउनु हुँदैन । ओझेलमा पार्नु हुँदैन । हामी सबैले प्रेमलाई गहिरो रूपमा महसुस गरेका छौं । जब आमाले छोरालाई भोक लागेको बेला खाना दिएर आफैं भोकै बस्छिन्, त्यो प्रेम हो । जब दाजुले बहिनीलाई पढ्न पठाउन आफ्ना इच्छा त्याग्छ, त्यो प्रेम हो । जब एक प्रेमी आफ्नी प्रेमिकाको खुशीका लागि आफू टाढा बस्छ, त्यो प्रेम हो । जब तपाईं आफूलाई थिच्ने संसारमा पनि हाँस्ने साहस राख्नुहुन्छ, त्यो आत्मप्रेम हो । प्रेम केवल भावना होइन, त्यो व्यवहार हो । रोजाइ हो – दिनहुँ अपनाउने, बुझ्ने, सँगै बस्ने, माफ गर्ने, स्वीकार गर्ने । प्रेम एउटा फूल जस्तो हो जसलाई हरेक दिन पानी हाल्नुपर्छ, नत्र त्यो ओइलिन्छ । हिजोको माया, आजको गल्तीमा हराउन सक्छ, यदि बुझाइ, संवाद र समर्पण छैन भने । त्यसैले प्रेमलाई जीवित राख्न पनि जिम्मेवारी र प्रयास चाहिन्छ । प्रेमले मानिसलाई सिर्जनात्मक बनाउँछ । प्रेममा परेका व्यक्तिहरू विशेषगरी कविता लेख्न थाल्छन्, गीत गाउन थाल्छन्, गजल लेख्न थाल्छन्, कल्पना गर्न थाल्छन् । प्रेमले निरास जीवनलाई रंगीन बनाउँछ । प्रेम सधैं भौतिक नहुन सक्छ, कहिल्यै प्रकट नहुन सक्छ, तर अनुभूति सधैं मनभित्र बाँचिरहन्छ । त्यो अनुभूति नै जीवनको सौन्दर्य हो । बाच्ने आधार हो । जब प्रेम जीवनमा हुन्छ तब दुःखमा पनि ढाडस हुन्छ । जब प्रेम जीवनमा हुँदैन तब खुशीमा पनि खालीपन हुन्छ । जब प्रेमले तपाईंलाई सम्हाल्छ तब संसारको हरेक चुनौती सानो लाग्छ । प्रेमले नदेखिने शक्ति दिन्छ, जुन संसारकै सबैभन्दा दुर्लभ ऊर्जा हो । त्यही ऊर्जा नै हो, जसले हिजोको आँशुलाई आजको मुस्कानमा बदल्छ । प्रेम जीवनको पूरक हो । जीवन केवल प्रेम होइन — हामीलाई सपना चाहिन्छ, संकल्प चाहिन्छ, साहस चाहिन्छ, कर्म चाहिन्छ । तर यी सबै कुराहरू मिलेर पनि जीवनलाई केवल चलाउँछन्, पूरा गर्दैनन् । जीवनलाई भरिएको, अनुभूतिपूर्ण, र सार्थक बनाउने तत्त्वचाहिँ प्रेम नै हो । त्यो प्रेम जसले मन छुन्छ, आँखा रसाउँछ, हृदय जोड्दछ । प्रेमबिना जीवन अधुरो हुन्छ । The post प्रेम र जीवन (अनुभूति/नवपुस्ता) appeared first on साहित्यपोस्ट.