किरातार्जुनीयम् - sahityapost.com
पराक्रमी अर्जुनको उग्र तपस्याबाट सन्तुष्ट भएका देवाधिदेव महादेव आफ्ना भक्तमाथि अनुग्रह गर्न किरातको लीलामय स्वरूप धारण गरेर हिमालयप्रान्तवर्ती त्यसै रमणीय वनमा यकायक प्रकट हुनुभयो, जहाँ अर्जुन एकाग्रभावले लवलीन बनेर तपस्यारत थिए । किरातवेषमा भोलेनाथ स्वर्णमय दिव्यकान्तिले उद्भासित मेरुपर्वत जस्ता विशालकाय देखिनुहुन्थ्यो । उहाँका हातमा एउटा दिव्य धनुष र साथमा विषमय सर्पतुल्य बाणहरू शोभायमान थिए । टाढाबाट हेर्दा उहाँको गतिशील देदीप्यमान देह यस्तो लाग्दथ्यो मानौं स्वयं अग्निदेव मानवाकार बनेर आगाका लप्का छुटाउँदै लमक् लमक् लम्किरहेका छन् । उहाँका साथ महदेवी गौरी पनि हुनुहुन्थ्यो उस्तै किरातिनीको वेषमा । उहाँहरू हजारौँ दिव्यांगनाले चारैतिरबाट घेरिएका देखिनुहुन्थ्यो । उहाँको आगमनका साथ सारा वन यकायक निःशब्द भयो । नदी, झरना, पवन र पशुपक्षीहरूको आवाज अचानक शान्त भयो । कुन्तीनन्दन अर्जुनका छेउमा पुग्न लाग्दा भगवान् शंकरले एउटा अद्भुत दृश्य देख्नुभयो : त्यो मूक नामक दानव थियो जसले अहिले भयंकर बनेलको रूप धारण गरेको थियो र अर्जुनलाई आक्रमण गर्ने मुद्रामा वेगले अगि बढ्दै थियो । उता अर्जुनचाहिं आफ्नो तेजस्वी गाण्डीव धनुषमा प्रत्यञ्चा चढाएर भीषण टंकारले सारा दिग्दिगन्त प्रतिध्वनित गर्दै बोलिरहेका थिए : ए, तँ यहाँ एकाग्र तपस्यामा लागिरहेको निरपराध ममाथि आइलाग्न लागेको ? पख्लास्, तँलाई म अहिल्यै यमपुरीतिर पठाइदिन्छु । सहसा अर्जुनलाई रोक्दै महादेवले भन्नुभयो : ए, ए, पर्ख । यो रहरलाग्दो बनेलमाथि पहिले नै मैले लक्ष्य साधिसकेको छु, तिमी नहान । तर, यति भनिसक्दा नसक्दा अर्जुनले बाण छोडिसकेका थिए, ठीक त्यसैबेला किरातले पनि बाण हानिसकेको थियो । आँखा झिम्क्याउन्जेलमा दुवैका बाण विद्युत् गतिले सनसनाउँदै गएर एकसाथ त्यस विशालकाय बनेलमाथि र्वाम्मै रोपिए र त्यो शूकराकृति मूक दानव आफ्नो मूल रूपमा प्रकट भएर करुण चीत्कारका साथ तत्काल निष्प्राण भयो । आफ्ना अगि एउटा दीप्तिमान् पुरुषलाई अनेक स्त्रीहरूद्वारा घेरिएको किरातका रूपमा देखेर अर्जुनले मुस्कुराउँदै सोधे : तपाईं को हो ? अनि यस निर्जन वनमा यतिका स्त्रीहरू लिएर किन घुम्दै हुनुहुन्छ ? तपाईंलाई यस भयानक वनमा यसरी घुम्न अलिकति पनि डर लाग्दैन ? अनि फेरि यो बनेल त मेरो लक्ष्य थियो, तपाईंले किन बाण हान्नुभएको ? यो राक्षस पहिले मेरा छेउमा आएको थियो र मैले यसलाई आफ्नो वशमा गरिसकेको थिएँ, तपाईंले कुनै विशेष कामनाले यसमाथि बाण छोड्नुभएको हो अथवा मलाई अपमानित गर्नलाई ? चाहे कारण जेसुकै होस् म अब तपाईंलाई जीवित छोड्नेवाला छैन । शिकारको नियम यो होइन, तपाईं पर्वतवासी हुनुहुन्छ तापनि यस अपराधका लागि म तपाईंको प्राण नलिई छोड्दिन । अर्जुनका कुरा सुनेर किरातवेषधारी महादेव खित्का छोडेर हाँस्नुभयो र सव्यासाची अर्जुनलाई मधुर वाणीले सम्बोधन गर्दै भन्नुभयो : हे वीर, तिमी मसँग यसरी नडराऊ, हामी त यहींका वनवासी हौं, यताहुँदि सधैं घुमफिर गरिहिड्छौं । परन्तु, हे तपोधन तिमीले यो दुर्गम वन किन मन परायौ ? हामी त अनेकौं जीवजन्तुले भरिएको यस वनमा सधैंभरि बस्दै आएका छौँ । तिमी अत्यन्त तेजस्वी छौ, सुकुमार पनि छौ, भोगविलासमय जीवन लिउन लायक छौ, तैपनि यस भयानक वनमा किन विचरण गरिरहेका छौ ? अर्जुनले भने : म गाण्डीव धनुष र अग्निवर्षी वाणहरूको आश्रय लिएर यस विशाल वनमा दोस्रो कुमार कार्तिकेय झैं निर्भयतापूर्वक निवास गर्दछु । यो भयंकर राक्षस बनेलको रूप धरेर ममाथि आक्रमण गर्न आएको थियो, तेसैले मैले मारिदिएँ । किरातरूप महादेवले भन्नुभयो : तेसो होइन, मैले हानेको मर्मान्तक वाण लागेर पहिले नै यो घाइते भइसकेको थियो र एकै छिन्मा यो यमलोक पुग्यो । पहिले मैले नै यसमाथि वाण हानेकाले यसमाथि पहिलो अधिकार स्वतः मेरो भइगयो नि । हे मन्दबुद्धि, तिमीलाई आफ्नो बलमाथि निकै घमण्ड छ जस्तो छ, त्यसैले मसँग भिड्ने आँट गर्दैछौ । अब तिमी जीवित रहनेवाला छैनौ । धैर्यपूर्वक सामुन्ने आऊ अनि मेरा वज्रतुल्य वाणहरूको सामना गर । तिमी पनि आफ्ना वाणहरू आजमाऊ, मलाई जित्ने प्रयास गर । यस्ता कुरा सुनेर क्रुद्ध हुँदै अर्जुनले आफ्ना सामू खडा किरातमाथि गाण्डीव धनुष तन्काएर वाणवर्षा गर्न लागे, तर अचम्म ती सबै वाण मुसुमुसु हाँस्दै किरातवेषी महादेवले च्याप च्याप समातिदिनुभयो र भन्नुभयो : हे मूढ, हान हान, अझै तीखा तीखा वाण हान । यो सुनेर अर्जुनले किरातमाथि झन् झन् उग्र वाणहरूको वर्षा गर्न लागे, यता किरातवेषी शंकरले पनि आफ्नो दिव्य धनुषमा टंकार भरेर वाणवर्षा गर्न लाग्नुभयो । दुवैको घमासान पर्यो, दुवैका शरीर क्षतविक्षत हुन लागे । त्यसपछि अर्जुनले आफ्ना प्रतिद्वन्द्वी किरातमाथि घनघोर बाणवर्षा गर्न लागे, तर अचम्म भयो ती तेजस्वी किरात मुसुमुसु हाँस्दै चूपचाप खडा रहे । अर्जुनले हानेका सबै उग्र वाणहरू तिनका देहमा गएर विलीन पो हुन थाले । पर्वतमा घनघोर वृष्टि भए झैं भयो, जति वाण हाने पनि ती सबै त्यहीं बिलाउन थाले तर ती किरातको शरीरमा एउटा पनि चोट लागेन, किञ्चित् विचलित नभई ती हँसिलो मुख लाएर पर्वतजस्तो अडिग उभिइ नै रहे । यसरी आफ्ना अमोघ वाणहरू सबै व्यर्थ भएको देखेर सव्यसाची अर्जुन परम–विस्मयमा परे र उनको असाधारण क्षमता देखेर खुशी हुँदै साधु, साधु, पनि भन्न थाले । अनि मनमनै सोच्न पनि थाले : यो हिमालयको शिखरमा निवास गर्ने यस किरातका अंगप्रत्यंग त एकदमै सुकुमार छन् । तैपनि गाण्डीवबाट छुटेका असह्य वाणहरूलाई हाँसीहाँसी झेल्न सक्छन्, यिनी को हुन् त ? कतै साक्षात् महादेव वा यक्ष, देवता, अथवा असुर त होइनन् ? यो दिव्य पर्वतमा यी सबैको आउनु जानु चलिरहँदो होला । मैले हजारौं अमोघ वाणहरूको यसरी वर्षा गरेको छु कि यिनको वेग त केवल स्वयं पिनाकधारी महादेवबाहेक अरु कसैले पनि झेल्नै सक्दैन । ठीकै छ, यदि यिनी रुद्रदेव होइनन् भने अब म अझै तीखा बाण हानेर यिनको अहिल्यै प्राणान्त गरिदिन्छु । यति विचार गरेर अझै घातक बाणहरूको वर्षा गर्न थाले । तर, सैकडौं वाणको वर्षा गर्दा पनि ती किरातको हँसिलो मुहार उस्ताको उस्ता रह्यो, वाणवर्षाको विफलता पनि उस्ताको उस्तै नै रह्यो । ती सबै तीखा वाणहरूलाई किरातवेषधारी पिनाकीले त्यसैगरी आफ्ना देहमा विलीन गरिदिनुभयो जसरी पर्वतले पत्थरको वर्षालाई आत्मसात् गर्दछ । हान्दा हान्दा अर्जुनका सारा वाणहरू नै सकिए तर ती किरात अविचल भावले खडा रहि नै रहे उनका शरीरमा एउटा दाग पनि लागेन । यो अचम्म देखेर अर्जुन अब कता कता डराउन थाले अनि विचार गर्न लागे : यिनी कस्ता अद्भुत पुरुष रहेछन्, मेरा सबै वाणहरू यिनले हाँसी हाँसी पचाइदिए । ठीकै छ, अब यिनलाई यसै धनुषका तीखा टुप्पाले हानेर तह लाउनुपर्यो । यति सोचेर उनी धनुष उजाउँदै ती किरातमाथि जाइलागे । धनुषको तन्किएको ताँदोमा ती किरातलाई फँसाएर आफूतिर ताने र वज्रकठोर मुड्कीले हान्न थाले । तैपनि केही नलागेपछि उनले तरवार उजाए र युद्धको अन्त गर्ने निश्चय गरे । पर्वतमाथि पनि कुण्ठित नहुने तेस भीषण तरवारलाई उठाएर उनले त्यस किरातको शिरमा जोडले बजारे । तर अचम्म तरवार टुक्रा टुक्रा भएर जमीनमा छरपस्ट भयो तर तिनलाई विचलित गराउन सकेन । अब क्रुद्ध हुँदै अर्जुनले नजीकका रुखहरू उखेलेर किरातमाथि वर्षाउन लागे, बडेमानका ढुंगा उचालेर वर्षाउन थाले, रिसले उनका मुखबाट धूवाँ छुटिरहेको थियो । अब त ती किरातले पनि अर्जुनमाथि वज्रमुक्का वर्षाउन लागे । ती दुवैको घमासन मुक्कामुक्की चल्न लाग्यो । वृत्रासुर र इन्द्रका बीच पुराकालमा भिडन्त भए झैं ती दुवैका बीच त्यो भीषण मुड्कीयुद्ध लगभग पैंतालीस मिनेट चल्यो । केही नलागेपछि अर्जुनले आफ्नो वज्रवत् वक्षस्थलले प्रहार गर्न थाले, ती किरातले पनि वक्षस्थलले प्रहार गर्न थाले, ड्याम् ड्याम् गरेको आवाजले सारा वनप्रदेश थर्किन थाल्यो । दुवैका शरीरबाट आगाका झिल्का र धुवाँ निस्कन लाग्यो । द्वन्द्व युद्ध भयंकर घमासान हुँदै गयो । अन्त्यमा ती किरातले अर्जुनलाई आफ्नो छातीले थिची दुवै पाखुराले करप्प पार्दै बाँधेर यसरी अर्जुनलाई हल न चल परिदिए कि अर्जुनको सासै रोकिएजस्तो भयो र निष्प्राणसरह बनेर लल्याकलुलुक हुँदै उनी जमीनमा ढले । करीब दुई घडीसम्म अर्जुन बेहोश अवस्थामा जमीनमै लडिरहे, त्यसपछि बल्ल उनको चेत खुल्यो । उठेर उनले आफैंलाई हेरे, देह रगताम्य भएको थियो, चोटै–चोटले भरिएर थिलथिलो भएको थियो, उनी आफ्नो दशा देखेर आफैं दुःखित बने । अनि उनी शरणागतवत्सल पिनाकपाणि शंकरका शरणमा गए । माटाको वेदिकामा स्थापित शिवप्रतिमाका अगाडि शरणागत बनेर आत्यन्तिक श्रद्धाका साथ रमणीय फूलका थुंगाले बनिएको भव्य पुष्पमाला समर्पित गरेर देवाधिदेव महादेवलाई परमभक्तिभावले दण्डवत् प्रणाम गरे । ढोगिसकेर उठेपछि उनले के देखे भने त्यो भव्य माला त किरातको शिरमा पो सुशोभित भएको छ । यो देखेर उनी एकातिर परम विस्मयमा परे भने अर्कातिर हर्षातिरेकले उल्लसित बने । बल्ल उनले बुझे : किरातका वेशमा त स्वयं देवाधिदेव पो हुनुहुँदो रहेछ । उनले तत्क्षण शिवशंकरका चरणकमलमा आफूलाई समर्पित गरिदिए । अनि महादेव प्रसन्न हुँदै गम्भीर वाणीमा बोल्नुभयो : भो भो फाल्गुन तुष्टोस्मि कर्मणाप्रतिमेन ते शौर्येणानेन धृत्या च क्षत्रियो नास्ति ते समः । समं तेजश्च वीर्यं च ममाद्य तव चानघ प्रीतस्तेहं महाबाहो पश्य मां भरतर्षभ । ददामि ते विशालाक्ष चक्षुः पूर्वऋषिर्भवान् विजेष्यसि रणे शत्रूनपि सर्वान् दिवौकसः । प्रीत्या च तेहं दास्यामि यदस्त्रमनिवारितम् त्वं हि शक्तो मदीयं तदस्त्रं धारयितुं क्षणात् । महाभारत, वनपर्व, ३९अ, ६८–७१श्लो । हे फाल्गुन, म तिम्रो यस अप्रतिम पराक्रम, शौर्य र धैर्यले सन्तुष्ट भएँ, यस जगत्मा तिमीसमान अर्को क्षत्रिय छैन । हे निष्पाप, तिम्रो तेज र पराक्रम मेरो जत्तिकै रहेछ । हे महाबाहु भरतर्षभ ! म तिमीसँग अत्यन्त प्रसन्न छु । यता मतिर हेर । हे विशाललोचन ! म तिमीलाई दिव्य दृष्टि दिन्छु । तिमी पहिले नर नामक ऋषि थियौ, तिमी युद्धमा समस्त देवताहरूमाथि पनि विजय प्राप्त गर्न समर्थ छौ । म तिमीलाई प्रसन्नताका साथ यो आफ्नो पाशुपतास्त्र प्रदान गर्दछु । यसको गतिलाई कसैले पनि रोक्न सक्दैन । तिमी क्षणभरमा नै यो मेरो अस्त्र धारण गर्न सक्नेछौ । देवाधिदेवको आज्ञाले शिर उठाएर हेर्दा उनले त्यहाँ साक्षात् उमामहेश्वरको दर्शन पाए, समस्त जगत्का मातापिता पार्वती–परमेश्वरका सामु धरतीमा शिर राखेर प्रणाम गरी उनी कृतकृत्य बने । अनि भने : हे जटाजूटधारी सर्वदेवेश प्रभो, हे त्रिनेत्रधारी, यो समस्त जगत् हजुरबाटै उत्पन्न भएको हो । हजुर विष्णुरूप शिव र शिवरूप विष्णु समेत हुनुहुन्छ । हजुरलाई मेरो वारंवार प्रणाम छ । दक्षयज्ञका विनाशक, ललाटाक्ष, शूलपाणि, पिनाकरक्षक, सूर्यस्वरूप, मंगलमूर्ति हे प्रभो ! हजुर मेरा उपर प्रसन्न हुनुहोस् । हे भगवन्, मेरो अपराध क्षमा गर्नुहोस्, म हजुरकै दर्शनाभिलाषी बनेर यस पर्वतमा आएको हुँ । अति–साहसवशात् मैले हजुरसँग युद्ध गर्ने जुन अपराध गरें त्यो अज्ञातवश नै भएको हो, म हजुरको शरणमा छु, कृपया मेरो धृष्टतालाई क्षमा बक्सियोस् । फेरि पनि मुसुक्क हाँस्दै अर्जुनको हात समाएर वृषभध्वज महादेवले भन्नुभयो : मैले तिम्रो अपराध पहिले नै क्षमा गरिसकें फाल्गुन ! यति भनेर आफ्ना दुवै बाहुले अर्जुनलाई आफूतिर तानेर देवाधिदेवले आफ्नो आलिंगनमा बाँध्नुभयो र प्रसन्न हुँदै भन्नुभयो : हे अर्जुन, तिमी पूर्वशरीरमा नर नामक तेजस्वी ऋषि थियौ । नारायण तिम्रा सखा हुनुहुन्छ । तिमीले बदरिकाश्रममा रहेर हजारौं वर्षसम्म उग्र तपस्या गरेका छौ । तिमी र पुरुषोत्तम विष्णुमा उत्कृष्ट तेज विद्यमान छ जसले यो समस्त जगत्लाई धारण गरेको छ । तिमी र श्रीकृष्णले इन्द्राभिषेकका बेला मेघनिर्घोषकारी धनुष हातमा लिएर धेरै दानवहरूको वध गरेका छौ । हे पार्थ, तिम्रा हातमा सुहाउने त्यो गाण्डीव धनुष मैले मायापूर्वक आफूमा विलीन गराएको थिएँ । अब लेऊ, यी तिम्रा दुवै अक्षय तूणीर अनि यो दिव्य गाण्डीव । मैले तिम्रा शरीरमा जे जति चोट लगाएको छु, ती सबै विलीन बन्नेछन् र तिमी पूर्ण नीरोग र स्वस्थ हुनेछौ । यस त्रिलोकीमा तिमीसमान पराक्रमी अर्को कोही छैन, तिमीसँग म अत्यन्त प्रसन्न छु, जे चाहन्छौ माग । अर्जुनले भने : हे प्रभो, मलाई यस्तो दिव्यास्त्र बक्सियोस् जसद्वारा म महायुद्धमा भीष्म, द्रोण, कृप, कर्ण आदि महाबलीमाथि विजय पाउन सकूँ । भोलेनाथले भन्नुभयो : हे पाण्डुनन्दन, यो पाशुपतास्त्रको रहस्य स्वयं देवराज इन्द्र, यम, कुबेर, वरुण र वायुदेवले पनि जान्दैनन्, यसको प्रयोग तिमीले सहसा कसैमाथि पनि नगर्नू, नत्र यसले समस्त जगत्लाई नै ध्वस्त बनाउन सक्छ । यस त्रिलोकीमा यस्तो कोही छैन जो पाशुपतास्त्रको अवध्य होस् । यसको प्रयोगकर्ताले आफ्नो मानसिक संकल्पले, दृष्टिमात्रले, वाणीले र धनुर्वाणले समेत शत्रुवर्गलाई विनष्ट गर्न सक्दछ । अनि, देवाधिदेव महादेवबाट पाशुपतास्त्रको पवित्र विद्या अर्जुनले ग्रहण गरे । त्यो मूर्तिमान् यमतुल्य पाशुपतास्त्र शंकरजीबाट प्रकट भएर पाण्डवश्रेष्ठ अर्जुनको सेवामा उपस्थित भयो । उनले त्यसलाई ग्रहण गर्नासाथ समस्त जगत् यकायक थरर्र काँप्यो । आकाशबाट शंख, दुन्दुभि र भेरीहरू बज्न थाले, वेगवान् वायुहरू आपसमा टकराएको आवाज आयो । त्यो दिव्य पाशुपतास्त्र मूर्तिमान् बनेर अर्जुनका पार्श्वभागमा खडा भएको दृश्य देखियो । भगवान् शंकरका अनुग्रहपूर्वक स्पर्शले अर्जुनका जीवनमा रहेका सकल अशुभहरू नष्ट भइसकेका थिए । महादेवले भन्नुभयो : अब तिमी स्वर्गलोक जाऊ । अर्जुन शिर झुकाएर उमामहेश्वरलाई प्रणाम गर्दै विनम्रभावले भने : प्रभो, हजुरको जो आज्ञा । अनि हेर्दाहेर्दै त्यो दिव्य लीलास्थलीबाट उमामहेश्वर सकल गणसहित आकाशमार्गबाट शिवलोकतिर प्रस्थान गर्नुभयो र हेर्दाहेर्दै सूर्य अस्ताए झैं अन्तरिक्षमा विलीन बन्नुभयो । अर्जुन प्रभुकृपा प्राप्त गरेर आनन्दातिरेकले रोमाञ्चित भए, परमधन्य भए । प्रिय पाठक बन्धु, यसै कथावस्तुलाई लियेर महाकवि भारविले रच्नुभएको महाकाव्य किरातार्जुनीयम् संस्कृत साहित्यको विश्वविख्यात कृति हो । उमामहेश्वर भगवान्को जय ! …….. महाभारत वनपर्व, ३९ र ४० अध्यायमा आधृत । २०८२ मंसीर २६ गते शुक्रवार, ॐअक्षरालयः । The post किरातार्जुनीयम् appeared first on साहित्यपोस्ट.