Redirecting...

बिलिङको भुक्तानी गर्न निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच नेपाल टेलिकमका एक उच्च अधिकारीले दिए राजीनामा - www.technologykhabar.com

बिलिङको भुक्तानी गर्न निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच नेपाल टेलिकमका एक उच्च अधिकारीले दिए राजीनामा - www.technologykhabar.com
Source: tckb

नेपाल टेलिकमका एक उच्च अधिकारीले कम्पनीका निमित्त प्रबन्ध निर्देशकको अनावश्यक दबाबका बिच राजीनामा दिएका छन्। विवादास्पद विषयको भुक्तानीका लागि हस्ताक्षर गर्न नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले दबाब दिएसँगै निमित्त निर्देशकको पदमा कार्यरत सुरेश कर्माचार्यले राजीनामा दिएका हुन्। उनले गत सातानै राजीनामा दिएको नेपाल टेलिकम स्रोतले जानकारी दिएको छ। हाल सूचना प्रणाली निर्देशनालयका निमित्त निर्देशकको रुपमा कार्यरत कर्माचार्यलाई अहिले संचालन भईरहेको नेपाल टेलिकमको बिलिङ सिस्टमको विषयमा भुक्तानी गर्न दबाब दिएको स्रोतको भनाई छ। “उहाँलाई बिलिङको भुक्तानीका लागि दबाब दिईएको थियो तर उहाँले बरु म जागिरनै छोड्छु भनेर राजीनामा पत्र दिनुभएको छ,” स्रोतले भन्यो। सूचना प्रणाली निर्देशनालयका प्रमुख पदमा कार्यरत रहेका कर्माचार्य ट्रान्समिसनका विज्ञ मानिन्छन्। उनी यसअघि रिटायर भएका डा. विमल आचार्यको ठाउँमा आएका हुन्। सूचना प्रणाली निर्देशनालयका प्रमुख रहेका डा. आचार्य कार्त्तिक १५ गतेदेखि नेपाल टेलिकमबाट रिटायर्ड भएका थिए। केहि दिनअघि मात्र पुरानो बिलिङ सिस्टममा गडबढी हुँदा नेपाल टेलिकमका सेवाग्राहीहरुले करिब ४ घण्टा मोबाइल डाटा प्रयोग गर्न पाएका थिएनन भने त्यसपछि पनि मध्यरातसम्म सेवाग्राहीले चलाएको डाटाको बिलिङ्ग हुन सकेको थिएन्। “अहिलेको बिलिङ्ग सिस्टम निकै पुरानो भएको र त्यसले थेग्न नसक्ने अवस्था छ, त्यसैले बेला बेलामा समस्या दिईरहन्छ,” नेपाल टेलिकमको अर्को स्रोतले भन्यो। कर्माचार्यले निमित्त एमडी विदेश भ्रमणमा रहेको समयमा सीएफओ राजेन्द्र अर्याललाई राजीनामा पत्र बुझाएर हिँडेका थिए। उनले विलिङको विषयमा कुनै कागजातमा हस्ताक्षर नगर्ने बताएका स्रोतले भनेको छ। “उहाँले आफ्नो केहि महिना मात्र जागिर बाँकी रहेकोमा विवादित बिलिङको विषयमा कुनै निर्णयमा हस्ताक्षर नगर्ने भन्नुभएको थियो,” स्रोतले जिकिर गर्यो। पछिल्लो समय निमित्त प्रबन्ध निर्देशकमा मास्के नियुक्त भएसँगै कम्पनीका उच्च अधिकारीहरुलाई विभिन्न किसिमका अनावश्यक र कानून विपरितका विषयहरुमा निर्णय गर्न चर्को दबाब दिने गरेको कम्पनीसम्बद्ध तेस्रो स्रोतले बताएको छ। सोही कारण कम्पनीका उच्च अधिकारीहरु राजीनमा दिने वा बिदामा बस्ने अवस्थामा पुगेका छन्। “निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच यसअघिनै उच्च अधिकारी शैलेश अमात्यले राजीनामा दिएका छन भने राजेश जोशी बिदामा बसेका छन्,” स्रोतले उल्लेख गर्यो। यसअघि पनि निमित्त प्रबन्ध निर्देशक मास्के र प्रमुख प्राविधिक अधिकृत (सीटीओ) एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोलको मिलेमतोमा सिमकार्ड र रिचार्ज कार्ड बिक्रेता डिलरहरुलाई गैरकानूनीरुपमा भुक्तानी गर्न दबाब दिएको टेक्नोलोजीखबरले खुलासा गरेको थियो। हेर्नुस् सम्बन्धित समाचार- सिम र रिचार्ज कार्ड बिक्री गर्ने डिलरहरुसँग टेलिकमका निमित्त एमडी मास्केसहित निर्देशकहरुको मिलेमतो, नियम बाहिरबाट भुक्तानी दिन चर्को दबाब यस विषयमा औपचारिक जानकारीका लागि हामीले पटक पटक नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरलाई सम्पर्क गर्ने प्रयास गरेका थियौं। तर उनको मोबाइल फोन उठेन्। स्मरण रहोस्, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानका श्रीमान तथा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत पदमा रहेका अमुल प्रधान यसअघिनै बिलिङकै विषयमा अख्तियारको भ्रष्ट्राचार मुद्दामा आरोपी छन्। बिलिङ प्रणाली खरिदमा भ्रष्ट्राचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक संगीता पहाडीसहित १७ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो। जसको सुनुवाई हाल विशेष अदालतमा भईरहेको छ। नेपाल टेलिकमको हालको बिलिङ सिस्टम एशिया इन्फोले संचालन गर्दै आएको छ। The post बिलिङको भुक्तानी गर्न निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच नेपाल टेलिकमका एक उच्च अधिकारीले दिए राजीनामा appeared first on Technology Khabar.