सेयर चलखेल अनुसन्धानमा रहेका दीपेन्द्र अग्रवाल एमाले प्रवेश, चौतर्फी आलोचना - www.pardafas.com
सेयर बजारमा संगठित रूपमा चलखेल गरी सर्वसाधारण लगानीकर्तालाई अर्बौं रुपैयाँ घाटा पुर्याएको आरोप लाग्दै आएका सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई पार्टीमा स्वागत गरेका हुन्। अग्रवाल यसअघि जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य थिए। गम्भीर वित्तीय अनियमिततासम्बन्धी अनुसन्धान चलिरहेकै अवस्थामा उनको एमाले प्रवेश भएको भन्दै राजनीतिक र आर्थिक क्षेत्रमै प्रश्न उठ्न थालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालमाथि सेयर बजारमा कृत्रिम मूल्य वृद्धि, झुटा कारोबार र मूल्य प्रभावित गराएको अभियोगमा अनुसन्धान गरिरहेको छ। यसअघि काठमाडौं प्रहरी परिसरले उनलाई गत साउन ५ गते टोखाबाट पक्राउ गरी करिब १० दिन हिरासतमा राखेको थियो। पछि आवश्यक परेमा उपस्थित हुने सर्तमा हाजिरी जमानतमा रिहा गरिएको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँच प्रतिवेदनले अग्रवालले योजनाबद्ध रूपमा सेयर बजारमा हेरफेर गरेको निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार उनले आफन्त र नजिकका व्यक्तिहरूको नाम प्रयोग गरी आपसी सेयर किनबेच गर्दै कृत्रिम रूपमा मूल्य बढाउने र उच्च मूल्यमा बिक्री गरी सर्वसाधारणलाई झुक्याउने कार्य गरेका थिए। अनुसन्धानमा अग्रवालले एक दर्जनभन्दा बढी व्यक्तिको नामबाट सेयर कारोबार गरे पनि वास्तविक नियन्त्रण भने आफैंले गरेको खुलेको छ। गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, पोखरा फाइनान्सलगायत कम्पनीका सेयरमा हल्ला फैलाएर मूल्य बढाइ नाफा कमाएको विवरण प्रतिवेदनमा उल्लेख छ। धितोपत्र बोर्डका अनुसार अग्रवालले अन्तिम समयमा झुटा कारोबार देखाएर कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य अस्वाभाविक रूपमा बढाउने प्रयाससमेत गरेका थिए। यस क्रममा १५ जनाको ट्रेडिङ सिस्टम प्रयोग गरी स्वामित्व नबदली कारोबार देखाइएको पुष्टि भएको छ। अग्रवालले ३ अर्ब ५० करोड रुपैयाँ बराबरका मिति नखुलेका चेकहरू ‘कोल्याटरल’ का रूपमा प्रयोग गरी ब्रोकर कम्पनीबाट अत्यधिक कारोबार सीमा लिएको तथ्य पनि सार्वजनिक भएको छ। बोर्डको ठहरअनुसार यस्तो अभ्यासले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको उल्लङ्घन मात्र होइन, बजार हेरफेरलाई संस्थागत रूपमा सहज बनाएको देखिन्छ। ती चेकका आधारमा ब्रोकर कम्पनीले अत्यधिक कारोबार सीमा उपलब्ध गराएको बोर्डको निष्कर्ष छ, जसले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को उल्लङ्घन गरेको ठहर गरिएको छ। धितोपत्र बोर्डले अग्रवालमाथि धितोपत्र ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गराएको कसुरमा कारबाही सिफारिस गर्दै प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश गरिसकेको जनाएको छ।