Redirecting...

लालीगुराँसलाई तारकेश्वर मेयर रनिङको उपाधि - ehimalayatimes.com

लालीगुराँसलाई तारकेश्वर मेयर रनिङको उपाधि - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालित चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०७९ सालमा तारकेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएर आएपछि कृष्णहरि महर्जनको परिकल्पनामा तारकेश्वरमा रनिङ शिल्ड प्रतियोगिताको सुरुवात भएको हो । यही मंसिर १३ देखि सञ्चालन भएको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता नगरपालिकाको सभाहलमा भव्य कार्यक्रमका बीच नगरप्रमुख कृष्णहरि महर्जनले समापन गर्नुभयो । लालीगुराँसले लगातार तेस्रोपटक उपाधि जितेको हो । कुल ७८ स्वर्ण, ७८ रजत र ११२ कांस्य पदकका लागि तारकेश्वरका ६४ विद्यालयका दुई हजार ६८६ विद्यार्थीहरूको सहभागिता रहेको थियो । कुल ७८ स्वर्ण पदकमध्ये लालीगुराँसले ३२ स्वर्ण, ६ रजत र तीन कांस्यसहित मेयर रनिङ शिल्डको उपाधि जितेको हो । उपाधिसँगै लालीगुराँसले नगद एक लाख, ट्रफी र प्रमाणपत्रसमेत प्राप्त गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित भव्य समारोहमा नगरप्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले बधाई र शुभकामनासहित नगद र ट्रफी वितरण गर्नुभयो । त्यस्तै, प्रतियोगिताको द्वितीय स्थान जित्न सफल हिमरश्मी स्कुलले १० स्वर्ण, १९ रजत र १३ कांस्य प्राप्त गरेको छ । द्वितीय स्थान जित्न सफल हिमरश्मी स्कुलका संस्थापक प्रधानाध्यापक लोकेन्द्रबहादुर खड्का तथा खेलाडी समूहलाई नगरपालिकाका तर्फबाट नगद ६० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, किन्डर गार्डेन स्कुल पाँच स्वर्ण, सात रजत र एक कांस्यसहित तृतीय बनेको छ । किन्डर गार्डेन स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्रसमेत प्राप्त गरेको छ । त्यस्तै, एन्जल्स हार्ट सेकेण्डरी स्कुलले चार स्वर्ण, तीन रजत र दुई कांस्यसहित सान्त्वना जितेको छ । सान्त्वना पदक विजेता एन्जल्स हार्ट सेकेण्डरी स्कुलले नगद २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, तारकेश्वरको सामुदायिक विद्यालयतर्फ मानसिंह धर्म मावि तीन स्वर्ण, पाँच रजत र एक कांस्य पदकसहित पहिलो बनेको छ भने दोस्रोमा ग्रामसेवा मावि तीन स्वर्ण, एक रजत र चार कांस्य पदक प्राप्त गर्न सफल भएको छ । त्यस्तै, तेस्रोमा मनमैजु माविले दुई स्वर्ण, चार रजत र नौ कांस्य पदक हात पार्न सफल भएको छ । तारकेश्वरका १६ वटा सामुदायिक विद्यालयले भाग लिएको प्रतियोगितामा नौवटा विद्यालयले मात्र पदक जित्न सफल भएका छन् । तारकेश्वरका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीहरूको मात्र सहभागिता रहेको यस प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दोलगायत ११ विधाका खेलहरू समावेश थिए । प्रतियोगितामा यसपटक चेस खेललाई समेत थप गरिएको थियो । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्णहरि महर्जनकै आग्रहमा यसपटकदेखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको हो ।