पतञ्जलि जग्गा हिनामिनाः माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा तोकियो पेसी - kendrabindu.com
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरेको छ। आरोप अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी सरकारी जग्गा व्यक्तिगत वा संस्थागत स्वार्थमा हस्तान्तरण गर्न अनुमति दिएको थियो। नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। अभियोगपत्रअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री र हिनामिना गरिएको छ।