प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने विरोध खतिवडाको घोषणा - ehimalayatimes.com
हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले यो निर्णय सार्वजनिक गर्नुभएको हो। मकवानपुर क्षेत्र नं. १ र २ दुबैबाट उम्मेदवारका रूपमा सिफारिसमा पर्नुभएका खतिवडाले जेन–जी युवा पुस्ताले उठाएको आन्दोलनको भावना र सन्देशलाई सम्मान गर्दै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गरेको स्पष्ट पार्नुभयो। उहाँले युवापुस्ताको आन्दोलनले पुराना पुस्ताका नेताहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दै विश्राम लिनुपर्ने सन्देश दिएको बताउनुभयो। खतिवडाले आफू निर्वाचनमा सहभागी नहुने भए पनि राजनीतिक रूपमा भने सक्रिय नै रहने उल्लेख गर्नुभयो। पार्टीका अन्य उम्मेदवारलाई जिताउन पूर्ण रूपमा लागिपर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। नेतृत्व तहबाट टिकट पाउन कुनै अवरोध नरहे पनि नयाँ पुस्ता र अन्य नेताहरूलाई अवसर दिन स्वेच्छाले उम्मेदवारी नलड्ने निर्णय गरेको उहाँको भनाइ छ। पत्रकार सम्मेलनमा नेता खतिवडाले सांसदका रूपमा आफूले गरेका कामहरूको विवरण प्रस्तुत गर्नुभयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला काभ्रेमा लैजान खोजिएको मदन भण्डारी प्राविधिक विश्वविद्यालयको एक भाग चित्लाङमा ल्याउन सफल भएको दाबी गर्नुभयो। साथै, आफ्नो कार्यकालमा सडक पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन भए पनि पछिल्लो तीन वर्षयता मकवानपुर विकासमा अपेक्षित गति नआएको उहाँको भनाइ थियो।