दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा, कति पर्छ मूल्य ? - kendrabindu.com
काठमाडौं।नेपालको ईभी बजारमा लोकप्रियता हासिल गरिरहेको दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपाली बजारमा ल्याएको छ । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौँमा एक कार्यक्रमका बीच एस०७ आईसीए सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ एसयूभीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार एस०७ आईसीए मा १० भन्दा बढी इन्डस्ट्री फस्ट फिचर रहेका छन् । भविष्यमुखी कनेक्टिभिटी, बेजोड डिजाइन र अत्याधुनिक प्रविधिहरूको सम्मिश्रणमार्फत नयाँ भेरियन्टले प्रयोगकर्तालाई इन्टेलिजेन्ट र स्लिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रुपेश शर्मा भट्टले ग्राहकहरूको निरन्तर समर्थनको कारण दिपल नेपालको सबैभन्दा मनपराएको ईभीको ब्रान्ड बन्न सफल भएको बताए । उक्त गाडीको सवारी साधन मात्र नभएर भविष्यप्रतिको सोच भएको उनको भनाइ छ ।चिनियाँ अटोमोबाइल उद्योगको दोस्रो ठूलो समूहले उत्पादन गर्ने दिपल एस०७ आईसीएमा अब एलएफपी ब्याट्री केमेस्ट्री प्रयोग गरिएको छ । यसले आधुनिक इलेक्ट्रिक एसयूभीबाट नेपाली उपभोक्ताले गर्न सक्ने अपेक्षालाई थप उचाइमा पुर्यारउने कम्पनीको विश्वास छ । गाडीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्टमा स्पिकर, आउटडोर स्पिकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायतका फिचरहरू छन् । यी विशेषताका कारण एस०७ मोडल नेपालमा सार्वजनिक भएको १८ महिनामा ९ सयभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ । दिपलले छोटो अवधिमै आफूलाई नेपालकै सबैभन्दा रुचाइएको लक्जरी ईभी ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको दाबी गर्दै नयाँ एस०७ आईसीएले कम्पनीको यो अग्रस्थानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।