ओलीका स्वकीय सचिव घुस प्रकरणमा मुछिएपछि अनेरास्ववियूले भन्यो ‘ओलीमाथि छानबिन होस्’ - www.sutranews.com
काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रस्टको सरकारी जग्गा भाडा प्रकरणले नेपाली राजनीति तातेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य प्रत्यक्ष रूपमा घुसकाण्डमा संलग्न रहेको प्रमाण सार्वजनिक भएसँगै यो प्रकरणले विस्फोटक मोड लिएको हो। अब नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले ओली स्वयंको भूमिकामाथि पनि छानबिन गर्नुपर्ने माग गर्दै राजनीतिक दबाब चर्काएको छ। अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा बज्राचार्यले भक्तपुरको रोजभिलेज हाउजिङमा घर घुस लिएको प्रमाण बाहिर आउनु राज्य संयन्त्रको खुला दुरुपयोग भएको ठहर गरेको छ। गोकर्ण रिसोर्ट, तहाचल र चितवनस्थित नेपाल ट्रस्टको जग्गा नियमविपरीत लिजमा दिइनु सत्ताको आडमा गरिएको गम्भीर आर्थिक अपराध भएको संगठनको आरोप छ। विज्ञप्तिमा गोकर्ण रिसोर्टको लिज अवधि नसकिँदै तत्कालीन प्रधानमन्त्री ओलीको प्रत्यक्ष संरक्षणमा २०७६ देखि २०५० सालसम्मका लागि अवधि थपिएको उल्लेख गर्दै यसलाई ‘खुला लुट’ र ‘शक्ति दुरुपयोगको चरम नमुना’ भनेर चित्रण गरिएको छ। अनेरास्ववियूले यो काण्ड स्वकीय सचिवमा सीमित नरही तत्कालीन प्रधानमन्त्री ओली स्वयं यसको मुख्य जिम्मेवार पात्र भएको दाबी गरेको छ। ‘हामीले यो लिज घोटाला भएको भन्दै त्यही समयमा आवाज उठाएका थियौँ, तर सत्ताको दम्भमा हाम्रो आवाज दबाइयो। आज सार्वजनिक भइरहेका प्रमाणहरूले अनेरास्ववियूको भनाइ सही सावित भएको छ,’ विज्ञप्तिमा भनिएको छ। अनेरास्ववियूले राजेश बज्राचार्यलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन माग गरेको छ।