Redirecting...

जीतबहादुर शाहाको ‘ध्यानाकर्षण’ कृतिमाथि कोहलपुरमा अन्तरक्रिया - sahityapost.com

जीतबहादुर शाहाको ‘ध्यानाकर्षण’ कृतिमाथि कोहलपुरमा अन्तरक्रिया - sahityapost.com
Source: shpt

कोहलपुर । कथाकार जीतबहादुर शाहाको नयाँ लघुकथा–संग्रह ‘ध्यानाकर्षण’माथि कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ज्ञान बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम क्याम्पस प्रमुख टेकबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकालले विद्यालय तथा विश्वविद्यालय स्तरमा लेखकसँग अन्तरक्रिया र विधागत कृतिमाथि समीक्षात्मक कार्यक्रमहरू बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयाे । ढकालका अनुसार पछिल्लो समय बाँके–बर्दिया क्षेत्रका सिर्जनशील युवा लेखनमा सक्रिय देखिनु सकारात्मक संकेत हो। “साहित्य र जीवन परिपूरक हुन्। विद्यार्थीहरूको कल्पनाशक्ति र संवेदनशीलता विकास गर्न साहित्यिक वातावरण अनिवार्य छ,” ढकालले भन्नुभयाे । समालोचक डम्बर खत्रीले कृति ‘ध्यानाकर्षण’बारे प्रस्तुत समालोचनामा यो संग्रह अनुभव, सामाजिक यथार्थ र जीवन उपयोगी सन्देशले भरिएको बताउनुभएकाे थियाे । उहाँका अनुसार कृतिका ५६ कथाले राजनीतिक, सामाजिक तथा शैक्षिक पृष्ठभूमिलाई विशेष प्राथमिकता दिएका छन्। कार्यक्रममा बोल्दै कृतिकार जीतबहादुर शाहाले आफ्नो लेखन विद्यार्थी र समाज केन्द्रित रहेको बताउँदै साहित्यकार तथा विद्यार्थीबीच प्रत्यक्ष संवाद गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयाे । “अध्ययन र अभ्यासले मात्र लेखक परिपक्व बन्छ,” शाहाले भन्नुभयाे । उपप्रध्यापक दिनेश अर्यालले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थी र उपस्थित साहित्यकारहरूले कृतिका विषयमा लेखक शाहासँग दर्जनभन्दा बढी प्रश्न–उत्तर आदान–प्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा साहित्यकार छविलाल खड्का, चन्द्रावती अधिकारी, चन्द्र पंगाली, मणि गैरे, शुभाकर विश्वकर्मा, भीम खरेल, केशव सिग्देल, तिलक के.सी., डोलराज अर्याल लगायत उपप्रध्यापक तथा विद्यार्थीहरूको सहभागिता उल्लेखनीय थियो। The post जीतबहादुर शाहाको ‘ध्यानाकर्षण’ कृतिमाथि कोहलपुरमा अन्तरक्रिया appeared first on साहित्यपोस्ट.