एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान हुँदै - corporatekhabar.com
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरु बराल र पृथ्बीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् । ओली पक्षबाट उम्मेदवार बन्ने भनिएका प्रदिप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । ओली प्यानलबाट महासचिव नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर पदाधिकारीमा नबस्ने निर्णय लिएका छन् । त्यस्तै ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् । ओली पक्षका नेताहरू प्यानलमा नपरेपनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । जसमा प्रचार प्रसार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिवमा उम्मेदवारी दिएका छन् भने अग्नि खरेल र लालबाबु पण्डितले सचिवमा उम्मेदवारी दिएका छन् । त्यस्तै ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल र रघुजी पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । १९ सदस्यीय पदाधिकारीमा पोखरेलको तर्फबाट १७ जनाको उम्मेदवारी मात्र परेको छ । केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान हुने तालिका छ । एमालेको महाधिवेशनमा विद्युतीय मतदान हुदैछ । मतदान सकिएपछि आजै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । The post एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान हुँदै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.